वर्षा राउत, नायिका/मोडल
चलचित्र ‘नाइँ नभन्नु ल–४’ प्रदर्शनमा आउँदैछ, कस्तो महसुस भैरहेको छ ?
मैले आफूले गर्नुपर्ने जति पर्फमेन्स गरेकी छु । दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।
डर लागेको छैन ?
मलाई हत्तपत्त डर लाग्दैन । आखिर डराएर वा आत्तिएर केही हुँदैन । राम्रो हुनुपर्नेछ भने जसरी पनि राम्रो हुन्छ । ‘नाइँ नभन्नु ल’का अघिल्ला श्रृंखलाझैं यसले पनि कीर्तिमान राख्छ भन्ने कुरामा हामी सबै ढुक्क छौं ।
म्युजिक भिडियो खेल्न छाडेको हो ?
कम गरेकी छु, खेल्नै छाडेकी होइन । मलाई म्युजिक भिडियोले नै चिनाएको हो त्यसैले यसलाई कहाँ चटक्कै छाड्न सक्छु र ?
चलचित्रमा काम गर्न रमाइलो कि म्युजिक भिडियोमा ?
मेरा लागि काम भनेको काम हो, म्युजिक भिडियोमा जति लगनशील भएर काम गर्छु, चलचित्रमा त्योभन्दा कम गरेकी छैन ।
पहिलो चलचित्र नआउँदै अर्को ठूलो ब्यानरको चलचित्रमा कसरी पत्याए ?
‘छक्का पञ्जा’को कुरा गर्नुभएको होला । सम्भवत: मेरो काम उहाँहरूलाई पनि मन परेको थियो वा मजस्तै नायिका चाहिएको थियो ।
‘नाइँ नभन्नु ल–४’ र ‘छक्का पञ्जा’ मध्ये कुन चलचित्रबाट बढी आशा छ ?
अहिले त ‘नाइँ नभन्नु ल–४’ कै भन्छु, किनभने यसको प्रदर्शन तत्काल हुँदैछ । ‘छक्का पञ्जा’ को कुरा यो चलचित्र तयार भएपछि गरौंला ।
तपाईंलाई अचेल ‘म्युजिक भिडियो क्विन’ भन्दा रहेछन् नि ?
भन्छन् रे, तर मलाई चाहिँ मैले त्यो उपाधि पाउने बेला भयो जस्तो लाग्दैन ।
संजोग कोइरालासँग तपाईं निकै नजिक हुनुहुन्छ, किन ?
ऊ म यो क्षेत्रमा आउनुभन्दा अघिदेखिको साथी हो । उसकै सपोर्टमा म आज यो स्थानसम्म आइपुगेकी हुँ । मेरो अहिलेसम्मको सफलतामा उसकै हात र साथ छ ।
अनि उसलाई कुन रूपमा हेर्नुभएको छ, श्रीमान् वा प्रेमी ?
भविष्यमा के हुन्छ, अहिले नै भन्न सक्दिनँ । अहिले चाहिँ ऊ मेरो ब्वाइफ्रेन्डभन्दा पनि साथी मात्र हो ।
वर्षा नाम गरेका नायिकाहरू चलचित्र क्षेत्रमा स्थापित हुन सकिरहेका छैनन्, तपाईंको के होला ?
चलचित्र कसैको नामले चल्ने वा नचल्ने होइन, प्रतिभाका साथै ‘लक’ले पनि साथ दिनुपर्छ ।
सेक्सी लाग्ने तीन सेलिब्रेटी पुरुष ?
अनुपविक्रम शाही, सुरजसिंह ठकुरी र तपाईं ।
नजिकका तीन पुरुष साथी ?
संजोग कोइराला, नीराजन प्रधान र विनोद न्यौपाने ।
अनि तीन महिला साथी नि ?
नम्रता सापकोटा, आश्मा डिसी र निश्मा घिमिरे ।
कुनै दिन बिहान उठ्दा लिंग परिवर्तन भएर ह्यान्डसम पुरुष हुनुभएछ भने ?
सबैभन्दा पहिले फेसबुकमा प्रोफाइल पिक्चर र नाम परिवर्तन गर्थें अनि नम्रता, आश्मा र निश्मालाई पालैपालो फोन गरेर प्रेम–प्रस्ताव राख्थेँ ।
विवाहपछिको पहिलो रात श्रीमान् समलिंगी हो भन्ने कुरा थाहा भयो भने ?
विवाहको कुरा चल्दा, इन्गेज्मेन्ट हुँदा र विवाह गरुन्जेल चाहिँ किन नभनेको ? भनेर मज्जाले भकुर्थें ।