सन् १९७७ मा सिक्किमबाट काठमाडौं घुम्न आएकी थिइन् उनी । उनकी जेठी दिदी अमेरिकी एम्बेसीमा काम गर्थिन् । घुम्न आएकी सुकमित गुरुङ स्थापित भइन् गायिकाका रूपमा । प्रकाश गुरुङको संगीतमा उनको गायनयात्रा सुरु भयो । आफ्नो समयको सबैभन्दा आकर्षक स्वरकी मालिक । क्यारिस्मेटिक । जे गाए पनि श्रोताहरूले मन पराउने । स्टेजबाहिर शान्त र सहज देखिने, तर स्टेजमा
चढ्नेबित्तिकै कर्णप्रिय आवाज र आक्रामक प्रस्तुतिले दर्शकहरूलाई झुमाउने ।
गाउँदा–गाउँदै उनको स्वरमा व्यवधान आयो, भोकल कर्डमा समस्या आयो । गाउँदा–गाउँदै रेन्ज नपुग्ने, स्वर सुक्ने हुन थाल्यो । सुकमितको गायनमा यो व्यवधान लामै समय चल्यो । उनले गाउन छोडिन् । त्यसपछि यी लोकप्रिय गायिका स्टेजबाट हराइन् । सुकमितको स्वरको समस्या अहिले ठीक भैसकेको छ । उनी सामान्यत: कार्यक्रमहरूमा जान्छिन् । आफ्नो पेसागत काम गर्छिन् । यति हो कि उनले स्टेज शो गरेकी छैनन् । तत्काल शो गर्ने कुरा सोचेकी पनि छैनन् । सुकमित भन्छिन्, ‘मन नलागेको होइन । मन मरेको पनि होइन । केही गर्छु । गर्न मन लागेको छ ।’
सुकमित अलिकति डिस्टर्ब पनि छिन् । यस्तो लाग्छ, कता–कता अहिलेको जमानासँग एडजस्टमेन्ट गर्न अप्ठेरो लागेको छ उनलाई । उमेर ढल्किएको फिल गरेकी छैनन्, तर कता–कता अलिकति निराशा पनि छ उनमा । संगीत उद्योगले उनीप्रति न्याय गर्न नसकेको दु:खेसो पनि छ । प्रज्ञा–प्रतिष्ठानसँग जोडिएकाले पनि होला, उनले आफूलाई व्यावसायिक रूपमा प्रमोट गर्न सकिनन् । आफ्नो आवाजलाई अनुकूल हुने गीत पनि पाइनन् । त्यो हिसाबले उनी स्मार्ट देखिइनन् । उनमा अलिकति फ्रस्टेसन छ, जुन कुराकानीमा देखिन्छ । जाँगर नभएको होइन । जाँगरसँगै एउटा प्रश्नले लखेटिरहन्छ किन गर्ने ? गुरुङ भन्छिन्, ‘भोकल कर्ड ठीक भैसकेपछि पनि गीत रेकर्ड गर्नै मन लागेन । वातावरण नै त्यस्तै भयो ।’
‘श्रोताहरूको रुचि पनि अनौठो छ’ सुकमित भन्छिन्, ‘म नयाँ गीत गाउँछु, श्रोताहरू पुरानै खोज्छन् । ओ मेरो प्रियतम, सुनचाँदीभन्दा महँगो यो ज्यानलाई, रेलिमाई रेलिमाई, बोलबोल पाखाहरू, चिसो बतासले र पलपलजस्ता मेरा गीतको माग अहिले पनि उत्तिकै छ । श्रोताहरू त्यही खोज्छन् । म त्यसैमा ब्रान्डेड भएकी छु ।’ सुकमितलाई आफ्नै नाम र आफ्नै गीतको ब्रान्डले डिस्टर्ब गरेको छ । उनका नयाँ सिर्जनाका लागि अवरोध बनेको छ यो ब्रान्ड । उनी ब्रान्डमा टाँस्सिन चाहन्नन्, तर ब्रान्डले उनलाई लखेटिरहेको छ । केही समयअघि उनी न्ह्यूूँ बज्राचार्यको घरमा पुगेकी थिइन् । उनलाई न्ह्यूँकी आमाले बिर्सिएकी थिइनन् । ‘रेलिमाई’ न्ह्यूँकी आमालाई पनि मन पर्ने गीत रहेछ ।
सुकमितलाई थाहा छ, उनका गीतको पाइरेसी भैरहेको छ । गीत बजेको बज्यै छ, रेकर्डको बिक्री पनि राम्रै छ, तर आधा दर्जन एल्बम निकालेर पनि उनले एक पैसा रोयल्टी पाएकी छैनन् । देशका नामुद भनिने कथित संगीत उद्योगहरू कलाकारको शोषण गर्छन् । उनलाई लागेको छ, अहिलेको सहज वातावरणमा आफ्ना गीतको एल्बम तयार गर्नु जरुरी छ । नयाँ गीतको पनि एल्बम तयार गर्नु छ, तर यो काम त्यति सजिलो छैन । यसले लगानी खोज्छ । मार्केटिङ खोज्छ । यी सबै सुकमितको वशको कुरा होइन ।
नेपालमा एकताका चलेको पाकिस्तान र बंगलादेशसँगको ज्वाइन्ट भेन्चर सिनेमामा पनि सुकमितको राम्रो योगदान थियो । उनले हामी एक हौं र धर्ती–आकाशजस्ता ‘जेभी’ सिनेमालाई आफ्नो स्वरले सजाएकी थिइन । गोपाल योन्जन, अमर गुरुङ, कर्म योन्जन, प्रकाश गुरुङ, न्ह्यूँ बज्राचार्य र शम्भुजित बाँस्कोटाको संगीतमा सुकमितले ३ सयभन्दा बढी गीत गाइसकेकी छिन् । देशका चर्चित संगीतकारहरूसँगको लामो सान्निध्यले सुकमितलाई ‘चुजी’ वनाएको छ । उनको विचारमा अहिले सांगीतिक वातावरण बिग्रिएको छ । नयाँ पुस्ता र्यापमा अल्झिएको छ । मेलोडी पछि परेको छ, तर पनि पवित्रा सुब्बा, कुन्ती, सुन्दास तथा सिने गुरुङका स्वरमा मानिसहरू रमाएका छन् ।
सुकमित मान्छिन्, ‘मानिसको उमेरसँगै भ्वाइसको स्केल घट्दै जान्छ । हो, मेरो उमेर बढेको छ तर आवाजसँग खेल्ने मेरो क्षमता चुकेको छैन, तर क्षमता छ भन्दैमा म र्याप गाएर हिंड्ने त कुरा आउँदैन।’