साप्ताहिक संवाददाता
पोखराको दीप युनाईटेड क्लबले सातौं संस्करणको दीप साँझ सञ्चालन गर्ने भएको छ । कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाका दिन हुने उक्त कार्यक्रममा नेपाली पप स्टार नविन के भट्टराईले प्रस्तुति दिनेछन् । उक्त अवसरमा गायिका इन्दिरा जोशी तथा सन्ध्या बूढा (काउली बूढी) को प्रस्तुतिसमेत हेर्न तथा सुन्न सकिनेछ । साथमा ड्रिमर्ज ब्यान्ड, लेजेन्ड ब्यान्ड आदिको प्रस्तुतिले यो साँझलाई थप रमणीय बनाउनेछ ।
स्थान : दीप युनाइटेड पार्क, पोखरा
प्रवेश शुल्क : २ सय रुपैयाँ
समय : साँझ ६ बजे
भाइटीका फेस्टिभल
नेपालको सांस्कृतिक पर्वका रूपमा परिचित तिहारका अवसरमा पोखरामा भाइटीका फेस्टिभलको आयोजना हुँदै आएको छ । विदेशी पर्यटकहरूसँग तिहार मनाउने अवसरका रूपमा पश्चिमाञ्चल होटल संघ पोखराले बर्सेनि यो फेस्टिभलको आयोजना गर्दै आएको छ । तिहारको अन्तिम दिन कात्तिक २३ गते शुक्रबार सञ्चालन हुने १२ औं भाइटीका फेस्टिभलमा झन्डै १२ देशका ५० पर्यटक सहभागी हुने संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन् । फेस्टिभल दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ जसमा पर्यटकले सप्तरंगी टीका लगाई प्रसाद ग्रहण गर्दै तिहारको मज्जा लिनेछन् ।
दीपावली साँझ
पोखरामा तिहारको अवसरमा सर्वेश्वर दीपावली साँझको आयोजना हुँदैछ । कात्तिक २० गते मंगलबार प्रस्तुत हुने उक्त कार्यक्रममा सन्दीप क्षेत्रीको प्रस्तुति मुख्य आकर्षण रहनेछ । यसैगरी गायक मिलन लामाको गायनले उक्त कार्यक्रमलाई संगीतमय बनाउनेछ । सर्वेश्वर मार्ग व्यवसायी समितिले आयोजना गर्ने यो कार्यक्रमको थप आकर्षण मुस्कान रानाभाट, रञ्जन गायक तथा तरेली कल्चरल गु्रप रहनेछन् ।
स्थान : सवेश्वर मार्ग, गैह्रापाटन पोखरा
समय : दिउँसो ३ बजे