एकै आकार–प्रकारका घर । अनि एउटै रंगको छानो पनि । पर्यटकीय घलेगाउँका लागि यो विशेषता र पहिचान थपिएको छ । दक्षिण एसियाकै नमुना गाउँ घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन जुटेका छन् गाउँलेहरू । दशकौं अघिका पुरानो र खिया लागेको टिन झिकेर सबैमा रातो रंगको जस्ता पाता राखिएका छन् । गण्डकी प्रदेश सरकारले ‘स्मार्ट भिलेज’ बनाउने योजना अघि सारेपछि स्थानीय बासिन्दाहरू घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन जुटेका हुन् । एउटै रंगको छानो लगाउने कार्यसँगै गाउँघर सफासुग्घर राख्ने बाटोको दायाँबायाँ फूल रोप्ने, गाउँको आन्तरिक बसोबासलाई व्यवस्थित तुल्याउने कार्यमा घलेगाउँ अघि बढेको छ ।
लमजुङ हिमालको काखमा अवस्थित घलेगाउँ क्व्होलासोंथर गाउँपालिका–३ मा पर्छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेका अनुसार ‘स्मार्ट भिलेज’ को पहिलो चरणमा हरेक घरमा रातो रंगको छानो राखिएको हो । ‘रातो रंगले छाउने कार्य अब करिब–करिब सम्पन्न भएको छ । हामी यो वर्ष सबै घरमा रातो रंगको टिन छाउने कार्य सक्छौं’ उनले भने । घलले गएको वर्ष मात्र दुई–चार घर नीलो टिनले छाएको र नयाँ भएकाले टिन खेर जान नदिन ती घरलाई त्यतिकै राखिएको बताए ।
स्मार्ट भिलेज बनाउने योजना अनुरुप घलेगाउँका घरमा एउटै रंगको छानो छाउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा २९ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने क्व्होलासोंथर गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । सवै घरमा रातो रंगको टिन राख्न ७५ लाख रुपैयाँ चाहिने भएकाले तारगाउँ विकास समितिसँग ३० लाख माग गरिएको अध्यक्ष घलेले जानकारी गराए । उनका अनुसार गाउँमा १ सय २५ घरमा रातो रंगको छानो राखिनेछ । ८५ घरमा रातो रंगको छानो राखिसकिएको छ ।
पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकका अनुसार स्मार्ट भिलेज बनाउने योजना अनुरूप पूर्वाधार निर्माणकार्य तथा व्यवस्थापनकार्य थपिँदै लगिएको छ । गाउँबीचको सिंढी निर्माण तथा मर्मत भैरहेको छ । बाटाहरू सफासुग्घर राख्ने गरिएको छ । गाउँमा रहेका गोरखापार्क लगायत पार्क, गुरुङ जातिको अन्तिम राजा क्याल्बोरोजाक्ले परिसर, खेलमैदान, चियाबारी, गुरुङ संग्रहालय, भेडीगोठ आदिलाई व्यवस्थित गरिँदै लगिएको छ । घरपालुवा जनावरलाई व्यवस्थित गरिएको छ । ‘सुरुमा सबैले देख्ने गरी पुराना छाना हटाएर नयाँ एउटै रंगको रातो छानो राख्नेकार्य पूरा गर्छौं । त्यसपछि अन्य पूर्वाधार निर्माण एवं आवश्यक कार्य गर्दै लगिनेछ,’ –घलेले बताए ।
स्थानीय बासिन्दाहरूका अनुसार करीब ८ सय वर्षको इतिहास बोकेको घलेगाउँका घरहरू पहिले स्याउला, काठ र खरले छाएका थिए । त्यसपछि ती घर ढुंगाका छपनीले छाइए । पछिल्लो समय जस्तापाता प्रयोग गर्दै आएका स्थानीय बासिन्दाले आफ्ना पुराना छाना हटाएर नयाँ राखेका हुन् । आफू बस्दै आएको घरमा नयाँ रंगीन टिनका छानो पाएपछि उनीहरूमा पनि खुसी छाएको छ ।
स्थानीय बासिन्दा लीलाबहादुर घलेले पुरानो टिनको छानो हटाएर नयाँ छानो राख्दा सबै घर एकै किसिमको देखिएको बताए । ‘पहिले त गाउँ कस्तो नरमाइलो लाग्थ्यो । सवै खैरो न खैरो, कालो न कालो । अहिले सबै रातो देखिन थालेको छ । डाँडाबाट हेर्दा पनि राम्रो देखिन्छ ।’ लीलाबहादुरका अनुसार पहिले टिन भन्ने कुरासम्म थाहा थिएन । बेंसीसहर र तनहुँको डुम्रेबाट टिन बोकेर घरमा छानो हालेको सम्झदै उनले भने, ‘सवै कुरा समयको माग रहेछ ।’
बेसीसहरबाट २४ किलोमिटर दूरीमा पर्ने घलेगाउँ समुद्री सतहभन्दा करिब २ हजार १ सय मिटर उचाइमा छ । पर्यटन प्रवर्द्धनका कार्यक्रमसँगै स्थानीय बासिन्दाहरूले यहाँ २०५७ सालदेखि होमस्टे सञ्चालन गर्दै आएका छन् । सुरुमा १० घरबाट स्थापना गरिएको होमस्टे अहिले ३० घरमा पुगेको छ । होमस्टे सञ्चालन नगर्ने स्थानीय बासिन्दाहरूले तरकारी, सागसब्जी आदि फलाएका छन् । न्यानो आतिथ्यता, स्थानीय कलासंस्कृति, प्राकृतिक सुन्दरता, गाउँले रहनसहन, परम्परा आदिले घलेगाउँलाई विशेष बनाएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश आदि एक दर्जनभन्दा बढी हिमश्रृंखला प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
यहाँको भेडा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरमै तयार पारिएको कोदोको मदिरासंगै कुरिलो, निउरो, बडमले, सिस्नो, तोरी, रायोको साग, मकै, भटमास, गहुँ तथा करुका परिकारले पर्यटकहरूलाई लोभ्याएको छ । घाँटु, सोरठी, कृष्णचरित्र, यालमी आदि लोपोन्मुख तथा पौराणिक नृत्य हेर्नलायक छन् । गुरुङ भाषा, इतिहास एवं कला–संस्कृतिका लागि घलेगाउँ अनुसन्धानको केन्द्रसमेत बन्दै गएको छ ।