सुत्न त कहाँ र मैले आफ्नी भाउजूलाई छोएको सम्म पनि थिइन । बरु एक दिन साइला काजीसँग भाउजू लहसिएको जस्तो लागेर, धर्म डिगाउलिन् भनेर दाइलाई चैतन्यसम्म दिएको हुँ । काजी साइलाले फसायो बाबु मलाई ।
जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन मसँग केही पनि छैन । म जन्मेको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शंख घण्टको निनाद पनि सुनिएको थिएन । म पहाडमा जन्मेको हुँ– सहरका मान्छेहरूको कल्पनामा पहाड भन्नेबित्तिकै मृग नाच्ने उपवन, गुराँस, झरना र मन्द पवनका दृश्य आँखाका अगाडि आउँछन् । तर म जन्मेको ठाउँमा गुराँस, उपवन र झरना केही थिएन । पानीसमेत पेटभरी पिउन मुस्किल पर्ने त्यस ठाउँमा अहिले पनि केही छैन । मानिसहरू लँगौटी र दौराजस्तो लामो भोटो लगाउँछन् । आइमाईहरू चोलो लगाउँदैनन् । यौटै फरियाले पूरै शरीर छोपेर हिँड्छन् । यो नेपाल हेर्न आउने पर्यटकलाई देखाउनका लागि आयोजना गरिएको पारम्परिक प्रचलन होइन । साहूलाई ब्याज बुझाउँदा–बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने कपडा किन्ने पैसासमेत जोगिँदैन । त्यसैले यो आफैं प्रचलन बनेको छ ।
एक रात बिस्तारै म घरबाट निस्किएँ । बाटो थिएन– अन्धकार थियो ! सबै अर्थमा । त्यही रात म स्कुलको यौटा साथीकहाँ पुगें । उसको नाम भीमचरण थियो ! उमेरले मभन्दा निकै पाको । ऊ झन्डै २० वर्षको देहाती केटो थियो भने म भर्खर १० नाघ्न खोज्दै थिएँ । भीमचरण कम्युनिस्ट विचारले रंगित टाइपको मान्छे थियो । त्यतिबेला उसले गरेका कुरा सम्झँदा म अहिले ठम्याउन सक्ने भएको छु । ऊसँग धेरैजसो केटा टाढा हुन्थे । मान्छे साह्रो थियो, तर मद्दत सबैलाई गर्थ्यो । भीमचरण आधारातमा मलाई देखेर छक्क पर्यो । मैले उसलाई अलिकति झूट र अलिकति सत्य कुरा बताएँ । त्यतिबेला उसले मलाई आश्रय दियो, तर एक रात उसले मलाई आक्रमण गर्यो । आवेशमा मलाई अँगाल्यो र आफ्नी स्वास्नीलाई झैं चपाउन खोज्यो । मैले उसलाई थुकिदिएँ । उसले भोलिपल्ट आफ्नो सम्पूर्ण कम्युनिस्ट सेन्टिमेन्टसहित मलाई बर्खास्त गर्यो ।
म मान्छे बन्न नसकेकोमा घर परिवारका सदस्यहरू चिन्तित थिए । कतिका इच्छालाई लथालिंग पारेर म अविवाहित थिएँ । यो विश्वमा मान्छेको रगत नचुसी कोही पनि मान्छे बन्दैन रे ! मलाई मान्छेको रगत चुस्नु छैन । ती मान्छे जसको शरीरको रगत राणाहरूले, अनेक खडेहरूले, सत्ता पिपासु नेताहरूले, राष्ट्रवादीहरूले, कम्युनिस्टहरूले निथारेर चुसिसकेका छन् । यो नितान्त घृणाको कुरा हो मेरा लागि । म आफैं पनि त रगत चुसिइसकेको मान्छे हुँ ।
उत्तमकी आमालाई भष्म पारेर फर्किएपछि हरिचाको घरमा बसेर हामी रक्सी पिइरहेका थियौं । यही अवस्थामा मैले नचिकेताले यमसँग मृत्यु र जीवनको यथार्थ जान्न चाहेजस्तै गरी जान्न खोजे । यताका लागि न उताका लागि ! अन्त्य आखिर खरानी नै हो भने चिन्ता गर्नु बेकार छ । हरिचा रामबहादुरसँग आफ्नी आमाको कुरा गरिरहेको थियो– यो सृष्टि, घरबार र खान पुग्ने सम्पत्ति सबै आमाको कृपा हो । ऊ रक्सी पिएर बढ्तै भावुक भएको हुन सक्छ । तै पनि भावुकता, हरिचाको सम्बन्धमा यो प्रख्यात कुरा हो । उसकी आमा तीन पटक पोइल गएर पनि पहिलो पोइको घर र पहिलो पोइबाट जन्मिएको छोरालाई त्याग्न नसकेर फर्किएकी थिइन । हरिचा आमाप्रति कृतज्ञ छ ।
अनौठो र परिकल्पित, वाक्क–ब्याक्क पार्ने फुंग उडेको डाँडामा एक दिन बाहुन रुद्रेले मसँग भनेको थियो ! ‘सुत्न त कहाँ र मैले आफ्नी भाउजूलाई छोएको सम्म पनि थिइन । बरु एक दिन साइला काजीसँग भाउजू लहसिएको जस्तो लागेर, धर्म डिगाउलिन् भनेर दाइलाई चैतन्यसम्म दिएको हुँ । काजी साइलाले फसायो बाबु मलाई ।’
समय पलपल गुज्रिरहेको छ । आफ्नो छाक टरेकोमा म त्यति प्रसन्न भइन जति रुद्रे आफ्नो भात चलेकोमा प्रसन्न थियो । उसको यो प्रसन्नता क्षणिक थियो, किनभने एक त म जात नफालेकोमा शंका गर्ने कुनै ठाउँ भएको मान्छे थिइन । अर्को, म रुद्रेको भात चलाउन योग्य मान्छे पनि थिइन । किनभने म गाउँको हाकिम थिइन । अघि भए थरी, मुखिया र अहिलेका हकमा सरकारले भनेर जनताले चुनेका मानिस त्यस कामका अधिष्ठाता हुन ।
मैले रूद्रेलाई सम्झाए– जात, भात भनेको केही होइन ।
उसले मानेन ।
मैले रुद्रेलाई सम्झाए– मैले उसले पकाएको खाँदैमा सबैले उसले पकाएको भात खाँदैनन् ।
तर उसले आफ्नो पितामहको, गुरुबाको सन्तानमाथि फोगटको विश्वास डिगाउन चाहेन ।
विचार मात्रले के हुन्छ ? सोचाइ मात्रले के हुन्छ ? आज उत्तमकी आमा छैनन् । उत्तम छैन । सन्तान मात्रले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आंग छोप्न एकसरो कपडा– सायद मान्छेको सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो । सबैलाई थाह भएकै कुरा हो, मान्छे आफैं पनि विरोधाभाष हो !
(यो सिर्जना वि.सं. २०३५ मा भएको हो ।)