गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे भन्छन्— हाम्रो सहरको डाउन एरिया हो, जोरपाटी । अबको केही समयभित्रै, मेयर सन्तोषको शब्दमा फागुन महिनाभित्रै तपाईंले देख्नुहुनेछ जोरपाटीमा नयाँ ढंगको आकाशे पुल । साना व्यवसायी बसेको ठाउँलाई व्यवस्थित तुल्याएर त्यहाँ अग्लो भवन बनाइनेछ– मल्टिस्टोरी बिल्डिङ । त्यही भवनमा नगरपालिकाको कार्यालय बस्नेछ । बाँकी भवन व्यवसायिक प्रयोगमा लगाइनेछ । सन्तोषका थुप्रै सपना जोडिएका छन् यो सहरसँग । उनी यसलाई एउटा रमाइलो र रोचक सहरका रूपमा विकसित गर्न चाहन्छन् ।
बाग्मतीमा स्टिमरमा चलाउनेदेखि शिवपुरीमा केबलकार चलाउनेसम्मका सपना छन् उनीसँग । कुनै पनि तहका निर्वाचित जन–प्रतिनिधिले सपना देख्नु आवश्यक छ । सपना नदेखेसम्म विकास हुँदैन । यो सत्य हो ।
सपनाका कुरा त छँदैछन्, समयमा ती साकार होलान् । अहिलेका लागि महानगरसँग जोडिएको गोकर्णेश्वर नगरपालिका पुग्नै मुस्किल छ । नगर प्रवेशमार्ग यति बिग्रिएको छ कि त्यसबाट पार पाउनु कठिन छ । चाबहिलदेखि बौद्ध हुँदै जोरपाटीको सीमा काटेर गोकर्णेश्वरमा छिर्नुस् अथवा गुह्येश्वरीबाट बाग्मती करिडोर समातेर गन्तव्यमा पुग्नुस् : सडकको गति उस्तै छ दुवैतिर ।
यो हालतमा विकासको कुरा कति सापेक्षिक होला ? मेयर सन्तोष बताउँछन्– ‘यो समस्याबाट हाम्रो नगरपालिका नै पीडित छ । हामी आफैंले सडक निर्माण गर्ने प्रस्ताव गरेका हौं, तर केन्द्रीय सरकारले यसको ठेक्का लगाइसकेकाले हामीले केही गर्न सकेनौं । अब केन्द्रीय सरकारले आउँदो ६ महिनाभित्रै गोकर्णेश्वरका दुवै प्रवेशमार्ग तयार हुने बताएको छ । यता सुन्दरीजलसम्म र उता साँखुसम्म बाटो बनेपछि सहर सबैका लागि सुगम हुनेछ ।’
केही समयअघिसम्म गोकर्णेश्वर नगरपालिका र यसले चर्चेका क्षेत्रहरू कान्तिपुर सहरका ग्रामीण क्षेत्र थिए । बौद्धबजार कट्नेबित्तिकै ग्रामीण क्षेत्र सुरु हुन्थ्यो । साँच्चै भन्ने हो भने बौद्ध नै पनि सहरको अंग थिएन । सहर त चाबहिलमै सकिन्थ्यो । बौद्ध स्तूपवरिपरिको क्षेत्र गुल्जार थियो । स्तूपका दर्शनार्थी र काँठ–कछाडबाट आउने यात्रुलाई लक्षित गरेर खोलिएका मिठाई पसलमा राजनीतिको गफ हाँकेर बस्थे स्थानीय बुद्धिजीवीहरू ।
देश संघीय शासनमा प्रवेश गरेपछि स्थानीय निकाय बलिया भए । कान्तिपुरका गाउँहरू नगरपालिकाअन्तर्गत संगठित भए । मेयर सन्तोष चालिसे भन्छन्, ‘जतिबेला गोकर्णेश्वर नगरपालिका घोषणा भएको थियो त्यतिखेर कोही पनि खासै उत्साहित थिएनन् । २०७४ सालमा स्थानीय सरकार ऐन लागू भएपछि सबै कुरा बदलियो । नगरपालिकाका एउटै वडाले प्रतिवर्ष ५ करोड धनराशि विकास खर्च पाउने भए । यसले गर्दा विकासका काममा तीव्रता आयो । अहिले विकासको काममा विविधता आएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रत्येक सडक, गल्ली र चोक कि पीच भएका छन्, कि ढुंगा छापिएका छन । महिलाहरूले सीप विकासका तालिम लिन पाएका छन । ज्येष्ठ नागरिक तथा बाल–बालिकाको हितमा धेरै काम सुरु भएका छन् ।’
स्वास्थ्यसेवाका हिसाबले गोकर्णेश्वर नगरपालिका अगुवा बन्दैछ । अत्तरखेलमा सञ्चालित शिक्षण अस्पताल महानगरबाहिरको महत्वपूर्ण गन्तव्य भएको छ । बोलचालको भाषामा अत्तरखेल अस्पताल भनेर चिनिने यो शिक्षण अस्पतालले विद्यार्थीलाई शिक्षा र बिरामीलाई उपचार दुवै दिन्छ ।
गोकर्णेश्वर नगरपालिकाको क्षेत्र चारैतिर फैलिएको छ । यसको उत्तरमा नुवाकोट जिल्लाको ‘धाप’गाउँ पर्छ, जहाँ बाग्मतीलाई पुनर्जीवन दिने उद्देश्यका साथ पानी संकलन गर्ने बाँध निर्माण भैरहेको छ । यसको दक्षिणमा गुह्येश्वरीको मन्दिर पर्छ भने पूर्वमा थली । हाल नेपाल ट्रस्टको जिम्मामा रहेको गोकर्ण जंगल गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्छ । हाल गोकर्णको जंगललाई ‘खुला चिडियाघर’ का रूपमा विकसित गर्ने योजनामा काम भैरहेको छ । गोकर्णेश्वरको पश्चिममा यसको सिमाना प्रसिद्ध स्तूप हो ।
गोकर्णेश्वर नगरपालिका राजस्वका हिसाबले कमजोर छैन । ‘हामी अनावश्यक कर लगाएर जनतामा नगरपालिकाप्रति नै वितृष्णा उत्पन्न गराउने पक्षमा छैनौं । वैज्ञानिक हिसाबले कर उठाउने प्रक्रियामा छौं हामी,’ मेयर सन्तोष भन्छन् । गोकर्णेश्वर नगरपालिकाले बितेको दुई वर्ष वडाहरूको विकासमा आफूलाई केन्द्रित गरेको हो । त्यसबाहेक, गोकर्णेश्वर तीर्थस्थानको विकास, खास गरेर, उत्तर गया क्षेत्रको विकासमा नगरपालिकाले ध्यान दियो । सहरका लागि ‘नगर पिता’हरूले थुप्रै सपना सँगालेका छन । ती सपना साकार हुन समय लाग्नेछ, तर विकासको मजा नै बेग्लै हुन्छ ।
सन्तोषले नगरपालिका सञ्चालनमा खासै अप्ठेरो महसुस गर्नुपरेको छैन । राजनीतिमा निकै भिजेका सन्तोष मेयरको पदमा चुनिएर गोकर्णेश्वरको विकासको नेतृत्व गर्न पाएकोमा खुसी छन् । भन्छन्, ‘छिटै यो नगरपालिका रमणीय पर्यटन क्षेत्र बन्नेछ ।’