नेपालको आधुनिकीकरणका नायक बीपी कोइरालाको जन्मजयन्तीको प्रसंगमा भदौ २४ गते नेपाली कांग्रेसले वृक्षरोपण कार्यक्रम राखेको हुन्छ । वृक्षरोपण आफैंमा सबै जनताको हितमा गरिने चित्तबुझ्दो कार्यक्रम हो । एउटा कार्यकर्ताले एउटा मात्र रूख रोप्यो भने पनि लाखौं कार्यकर्ताले रूख रोप्दा निकै राम्रो परिणाम आउँछ । कार्यक्रमको समय केही लामो हुने भएकाले कार्यकर्ताबीच आपसी छलफलको मौका मिल्ने स्वाभाविक सम्भावना हुन्छ । प्रकृतिसँग घुलमिल भएका बेला मन स्वच्छ हुन्छ । यिनीहरूले सत्यको निकट गएर आफूलाई खोज्न थाल्छन् । कांग्रेसमा अहिले सद्भावको त्यही वातावरण चाहिएको छ । पार्टी राजनीतिक व्यापारीहरूको कब्जामा जकडिएको छ । यसको राजनीतिक शुद्धता, पवित्रता, नीतिको मर्यादा सबका सब खलबलिएका छन् । पार्टी अनेकथरी गुट र समूहमा दुर्भाग्यपूर्ण हिसाबले बाँडिएको छ । त्यसैले नेपाली कांग्रेसले पहिले कांग्रेसको पहिचान गर्नुपर्छ ।
वृक्षरोपणको प्रसंगमा, अहिले सरकारले निजगढको जंगल फाँडेर त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नयाँ फन्डा अघि सारेको छ । त्यहाँको जंगल फाँडेर विमानस्थल बनाउनु भनेको देशलाई ठूलो वातावरणीय चुनौतीको सामना गर्न लगाउनु हो । हाम्रो परिस्थितिले त्यसलाई थेग्न सक्दैन । हामीले भएको जंगलको सुरक्षा र सम्भार गर्ने हो । हामीले नयाँ जंगल लगाएका छैनांै । भर्खरै मात्र हामीमा वृक्षरोपणको चेतना जागृत भएको छ । कांग्रेसले आफ्ना संस्थापक नेताको सम्मान र सम्झनामा वृक्षरोपणको प्रारम्भ गरेको छ । यो सही प्रारम्भ थियो । अहिले यसको सान्दर्भिकता र प्रासांगिकता दुवै बढेको छ । एउटा ठूलो राष्ट्रिय राजनीतिक दलले वृक्षरोपणलाई संस्थागत गरेर हरेक वर्ष लामो कार्यक्रमका साथ यसलाई मनाउनु आफैंमा गौरवको काम हो । विशेष गरेर, कांग्रेसले निजगढ प्रसंगमा व्यापक विरोधको आयोजना गर्न सकेको भए त्यो राम्रो हुने थियो ।
नेपालमा राजनीतिक संस्कृतिको अभाव छ । राजनीतिमा आफ्नो योगदान दिएर दिवंगत भएका नेताहरूको सामूहिक सम्मानको चलन छैन । नेपालका सबै राष्ट्रिय दलमा देशले सम्मान गर्नुपर्ने व्यक्तित्वहरू छन । तिनीहरूको पहिचान गरेर सम्मान गर्ने परम्पराको सुरुवात सरकारले गर्नुपर्ने हो, तर, सरकारमा त्यो आँट छैन । पशुपतिनाथको मन्दिर परिसरमा रहेको मसानघाटको पल्लापट्टि भगवान्को भजन गाउने भक्तजनलाई भजन गाउनु पहिले राष्ट्रिय गान गाउन आदेश दिने सरकारलाई के भन्न सकिन्छ ?केही भन्न सकिँदैन । सरकारमा रहेका कल्पनाशील पुरुषहरूले दिवंगत व्यक्तिहरूको स्मृति दिवसमा एउटा धूप सल्काउने बुद्धि लगाउने हो भने त्यसले प्रशस्त सद्भाव बढाउँछ राजनीतिमा । यद्यपि त्यस्तो सद्भाव कसैलाई चाहिएको छैन ।
बीपी कोइराला सशक्त र सबल राजनेता हुनुहुन्थ्यो । उहाँले आफ्नो राजनीतिक जीवनलाई जसरी निर्देशित गर्नुभयो, त्यो आफैमा अद्भूत छ । त्यसको चर्चा यहाँ गरी रहनु पनि पर्दैन । बीपी कोइरालाले बर्माको राजधानी रंगुनमा आयोजित समाजवादी सम्मेलनमा भाग लिनुभएको थियो । त्यतिबेला उहाँले एसियाका तीनवटा समस्याको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो–एसियाका तीन समस्यामा पहिलो प्रशासनिक, दोस्रो कृषि विकास तथा तेस्रो औद्योगिक विकास हो जसमा समाजवादी सुधारको आवश्यकता छ । तर, एसियाको प्रशासनिक क्षेत्र, कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा सक्रिय समाजवादी हस्तक्षेप हुन सकेन । एसियाका राष्ट्रहरू बिस्तारै पुँजीवादी सञ्जालमा गाँसिएको हामीले देखेकै छौं ।
बीपी हाम्रो शताब्दीको गौरव हुनुहुन्थ्यो । उहाँले शासनमा अठार महिनाको थोरै समय मात्र बिताउनुभयो । उहाँलाई सैनिक हस्तक्षेप गरेर प्रधानमन्त्रीको पदबाट हटाइयो । त्यतिबेला एकजना मानिस पनि बीपीको पक्षमा उभिन नसकेको बताउने मानिसको कमी छैन तर, के तत्कालीन परिस्थितिमा त्यो सम्भव थियो ? पक्कै थिएन । मानिसले जतिबेला निर्वाचित प्रधानमन्त्रीलाई राजाले सैनिक हस्तक्षेप गरेर हटाएको समाचार पाए त्यतिबेला बीपीको समर्थनमा जन–आन्दोलनको सम्भावना हटिसकेको थियो ।
नेपालको नयाँ पुस्ताले बीपीका बारेमा जानकारी राख्नु आवश्यक छ । बीपी नेता मात्र होइन देशमा आधुनिक पद्धति प्रवेश गराउने राजनेता हुनुहुन्थ्यो । उहाँको समर्थन र विरोधमा लेखिएका कुरालाई सन्तुलन मिलाएर हेर्नुपर्छ । बीपी जयन्तीका अवसरमा देशको लोकप्रिय नारा घन्काउनै पर्छ : वीर विश्वेश्वर–अमर रहुन् †