धेरै लेख्नुभो गाउँका कुरा । अब त हाम्रो देशका गाउँ पनि निख्रिन थालिसके । अलिकति पालिकाहरूको कुरा, अलिकति डोजरका कुरा, अलिकति खाजाका कुरा...’ मानिसका चाहना सुनेर म गद्गद भएँ । हो त, सहर काँठसम्म पुगेर गाउँको रूपान्तरण गरिसकेछ । रूपान्तरणवादी नेताले उहिल्यै भैंसीपूजा गरेर आफ्नो व्यक्तिगत रूपान्तरण गरिसकेका हुन् । देश समृद्धिको लोकपथमा लगातार अग्रसर छ ।
उपत्यकाका काँठका गाउँहरू ‘पालिका’ बनेपछि स्थानीय समाजमा क्रान्तिकारी परिवर्तन आएको छ । मानिसहरू सडक–पेटीमा उभिएर पानीपुरी खाइरहेका देखिन्छन् । पानीपुरीवालाले टाउकोमा सेतो प्लास्टिकको टोपी लगाएको छ । उसको हात सेतो प्लास्टिककै पन्जाभित्र गुम्सिएको छ । स–साना पुरीमा आलु–मसला भरेर त्यसलाई अमिलो पानीमा डुबाउँदैछ ऊ । मानिसको लाम छ, तर ऊ कसैको पनि पालो बिर्सिंदैन ।
जतिबेला यो गाउँ सहर भएको थिएन, त्यतिबेला दिउँसोको खाजा घरमै तयार हुन्थ्यो । मकै–भटमास, खट्टे, आलु–चिउरा, कोदो, गहुँ वा फापरको रोटी । अब त्यस्तो खाजा कोही खाइँदैन । छर–छिमेकमै खाजा घरहरू खुलेका छन् । सबैभन्दा लोकप्रिय भएको छ नेवारी खाजाघर । सानागाउँकी चन्द्रमायाको नेवारी खाजाघरमा ग्राहकको कमी हुन पाउँदैन । ‘बाहुनबाजेहरू पनि आउनुहुन्छ,’ रमाइलो पारामा सोधिएको प्रश्नको जवाफमा उनी भन्छिन्, ‘छोइला, भुटन, कचिला, केराउ, आलु सबै कुरा मन पराउनुहुन्छ । बारा र चटामरी खान आउने धेरै हुनुहुन्छ । बाहुनबाजेहरू पनि, नबाजेहरू पनि । मासु त ठूलो खसीकै हो । हामीकहाँ कुखुरा र खसीको मासु त्यति चल्दैन । ठूलो खसी नखानेहरूले अन्डा–बारा तथा चटामरी खानुहुन्छ ।’
नयाँ नाम पाएका सहरहरूका पहाड फुटाउन जोडतोडले लागेका छन् जन–प्रतिनिधिहरू । जनतालाई पहाड होइन, मोटर चाहिएको छ, खेत खन्ने, भारी बोक्ने ट्याक्टर चाहिएको छ । गिट्टी, बालुवा बजारसम्म ओसार्ने टिपर चाहिएको छ । अब जनता गाउँले भएनन्, सहरिया भैसके । सहरिया भएपछि हुने–खाने भैखाका ठूलाठालूले मोटर चढ्लान् । नहुनेले बस चढ्लान् । सार्वजनिक यातायातको सुविधा त सबैलाई चाहिएको छ । छर–छिमेकमा के–के विकास भैसक्यो ? उनीहरूले पनि गरिखाने हो । त्यो अधिकार उनीहरूलाई पनि चाहिन्छ ।
वातावरणको कुरा कोही सुन्न चाहँदैनन् । गाईभैंसी पाल्नुपर्ने आवश्यकता पनि कसैले देख्दैनन् । दिनभरि वस्तु चरायो । गोठमा भकारो सोहोर्यो । घाँस काट्यो । खोले बनायो । दूध दोहेर बजारमा लाँदा साउँ पनि उठ्दैन । गरेको परिश्रम त कता जान्छ कता अनि आफूले उत्पादन गरेको दूध सस्तोमा बेचेर सरकारी डेरीले उत्पादन गरेको दूध महँगोमा किनेर हातमा प्लास्टिकको पोका बोकेर घरभित्र छिर्नु कुन बुद्धिमानी भो र ? बाबुलाई पनि लाग्छ, काम गर्ने उमेरका छोराहरूको चाख दुबई, कतारतिर भएपछि केलाई चाहियो भैंसी ? पैसा कमाउनैपर्छ । भैंसीको दूध बेचेर कमाएको पैसाले घरबार नचलेपछि काम गर्ने उमेरका छोराहरू दुबई–कतार नगएर के नै गरुन् त ? दुबई–कतारको सुन्दर तस्बिर पहाड–तराईमा मात्र होइन, उपत्यकाका काँठ–कछाडमा पनि उत्तिकै टाँसिएका छन् । गाउँहरू नगरपालिका भएको फाइदा दुबई–कतार लाने म्यानपावरको दृष्टि यतातिर पनि परेको छ ।
सरकारले भनेको छ– गाउँ–गाउँमा सिंहदरबार । नगरपालिकाका जनता सुरुमा अलमल्लिएका थिए– सरकारले सिंहदरबार गाउँमा मात्र बनाउने भएछ कि क्याहो, तर त्यसो होइन रहेछ । सिंहदरबार नगरपालिकामा पनि बन्ने रहेछ । नगरपालिकालाई सरकारले स्रोत व्यवस्थापनको पनि अधिकार दिएकाले सिंहदरबार छिट्टै बन्नेछ । काठमाडौं, ललितपुर र भक्तपुर नगरपालिकाको जस्तो भव्य नबन्ला, तर आफ्नो औकातअनुसारको सिंहदरबार सबैले बनाउनेछन् ।
हिजोका गाउँहरूमा परिवर्तन आएको छ र थुप्रै परिवर्तन आएको छ । कान्तिपुर क्षेत्रका काँठ–कछाडदेखि धनुषा–महोत्तरी, अछाम–ताप्लेजुङ, बैतडी–दार्चुला, मोरङ–सुनसरी, बाँके–बर्दिया, दाङ–प्युठान, रुकुम–रोल्पालगायतमा रहेका नगरपालिकाका विवरण सहरको कथाका रूपमा प्रस्तुत गर्ने मनसाय छ । हो, पहाडका गाउँहरू उजाड हुँदैछन् । मानिसहरू कामको खोजीमा चारैतिर भौतारिंदै छन् । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट दशकौं–दशकदेखि वञ्चित मानवताको चित्कार सुन्ने कोही त भएन सरकारमा । अहिले देश संघीयतामा गएको छ, तर संघीयता र समावेशी समाज के हो ? केन्द्रीय सरकारलाई त्यसको चिन्ता छैन । आजको दुनियाँ कपी–पेस्टको दुनियाँ हो भन्दैमा सरकारले पनि झारा तिर्ने हो र ?