प्रम ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन । त्यसका कथा र किंवदन्तीहरू लेख्न पाइने थिए भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए ? सोध्ने कुरा भएन ।
समय कति छिटो सर्किने रहेछ । चार वर्षअघि २०७२ वैशाख १२ गते देशमा ठूलो भुइँचालो गएको थियो । त्यो भुइँचालो जानुभन्दा अघि वर्तमान प्रधानमन्त्री केपी ओली एमाले पार्टीका अध्यक्ष थिए । त्यतिबेला उनी धरहरा चढेका थिए । यो घटना कुन्नि कतिले सम्झिएका होलान् । अहिले प्रम ओली कालापानी, लिम्पियाधुरा र लिपुलेकको तनावको शिखरमा होलान् । उनी ‘तनाव लेनेका नहीं, देनेका बात है’ भन्ने खालका नेता होइनन् क्यारे । नभए एमाले जातका नेताहरूको भावभंगिमा ‘तनाव देनेवालेका’ नै हुन्छ ।
यो अनुमान गर्न सकिने कुरा होइन कि ओलीजी केटाकेटीदेखिको आफ्नो रहर पूरा गर्न धरहरा चढेका थिए कि त्यसका अरू पनि केही सामाजिक–राजनीतिक व्युत्पत्ति थिए ? यो पनि कसैले भन्न सक्ने कुरा भएन । प्रम ओलीले धरहरा चढ्दाको आफ्नो अनुभव अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यति अन्दाज त गर्न सकिन्छ, प्रम ओलीले धरहरा चढेर आफूमा रहेको उत्साह, बल र स्फूर्तिको राम्रो प्रदर्शन गरेका थिए । यो अर्कै कुरा हो । उनलाई अहिले पनि केही भएको छैन । खाली मिर्गौलाले दु:ख दिएको मात्र हो ।
प्रम ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन । त्यसका कथा र किंवदन्तीहरू लेख्न पाइने थिए भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए ? सोध्ने कुरा भएन । एउटा कुरा के स्पष्ट भयो भने केपी रेकर्ड तोड्नमा खप्पिस छन् । अहिलेसम्म देशका प्रधानमन्त्री बन्ने लाइनमा रहेका र प्रधानमन्त्री बनेका कसैले पनि धरहरा चढेका थिएनन् । केपीले उक्त रेकर्ड तोडिदिए । उनले आरोहण नगरेका भए भुइँचालोले धरहरालाई चुनौती दिएर ढाल्ने थिएन कि ? बूढा–पाकाहरूका अनुसार, जसरी राजाहरूले बुढानीलकण्ठको मन्दिर परिसरमा स्थापित नारायणको मूलमूर्तिको दर्शन गर्नु हुँदैन, त्यसरी नै देशको प्रधानमन्त्री हुने चाहना भएका मानिसले धरहरा चढ्न हुँदैन । धरहरा दिल्लीको कुतुवमिनारजस्तो पनि थिएन, न्युयोर्कको ट्रेड टावरजस्तो पनि थिएन । धरहरा सौन्दर्यको मिनार थिएन । यो हेर्नैपर्ने वास्तुकला नभए पनि सुदूरको पहाडी देशमा यसको उपस्थिति आफैंमा अजूवा त छँदै थियो । पश्चिमी वास्तुको तर्जमा बनेको गज्जबको स्मारक थियो यो । यो बस्ने कोठा, बैठक, भान्सा केही नभएको घर भीमसेन थापाले रहरै रहरमा बनाए होलान् । हरेक तलामा सानो–सानो झ्याल र घुमाउरो भरेंग– माथि पुगुन्जेल आरोही थाकिसकेको हुन्थ्यो । त्यही थाकेको अवस्थामा प्रम ओली धरहरा चढेर काठमाडौंको सुरक्षा व्यवस्था हेर्थे वा अरू के गर्थे ?
एकताका धरहरा चढ्न पैसा पनि तिर्नुपथ्र्यो । केही वर्षपछि यो स्मारकभित्र मानव जातिको प्रवेश निषेध गरिएको थियो । यसैको उचाइबाट फालहालेर पत्रकार मित्रलाल बालकले यो संसारबाट बिदा लिएका थिए । देशमा अग्लो संरचना हुनुको फाइदा यही हो कि मानिसले माथि आकाशतिरबाट फाल हालेर धर्तीमा सास फ्याँक्न सक्छ । यो धरहरा भत्किएपछि धेरैले आफ्नो मन रोएको कथा बताए । यो स्तम्भकार आफैं सुन्धारा क्षेत्र घुम्न जाँदा चिर–परिचित धरहरा नदेखेर चकित भएको थियो । त्यसपछि थाहा भयो, रानीपोखरीको हालत पनि उस्तै छ । दरबार स्कुल त ध्वस्त नै भएको थियो । त्यतिबेला हालका प्रम ओलीले नेपालीको आफ्नै बुताले धरहरा बनाउने कुरा बताएका थिए । काठमाडौंका प्रत्येक मानिससँग मानो–मुठी उठाएर धरहरा बनाएको भए त्यो भुइँचालोको कीर्तिस्तम्भ हुन्थ्यो । जुद्धशमशेरले १९९० सालको भुइँचालोको सम्झनामा त्यत्रो भूगोल पार्क बनाए । तत्कालीन समयका लागि त्यो भूगोल पार्क सानो थिएन ।
उपत्यकाका तीनै सहरमा विपदग्रस्त सम्पदाको संरक्षणका लागि सरकार बेला–बेलामा उठ्ने गरेको छ । अहिले सरकारका रिङ लिडरहरूमा ओली, प्रचण्ड र देउवा सबैले कनिकुथी सम्पदा संरक्षणको नियमित भाषण गर्ने गरेकै छन् । सम्पदाहरूको कुरा छाडौं । सबै भुइँचालो पीडितको बासको ठेगान अहिलेसम्म लागेको छैन । सरकारले मात्र होइन, सम्बन्धित अरू संस्थाहरूले पनि लत्तो छोडेका छन् । हरेक विपदमा नेपाललाई साथ दिदै आएको विश्व बैंकजस्तो संस्थासमेत भुइँचालोको प्रसंगमा लगभग निरपेक्ष बस्यो । उसको यो निरपेक्षताले गरीब नेपालीको हित गरेन होला । भुइँचालो जानेबित्तिकै जनतालाई तत्कालिक राहत पुगोस् भनेर दाताले पठाएका पालहरू सांसदहरूले काखीमा च्याप्दै हिंडेको दृश्य यही देशमा देख्नुपर्यो । यत्रो विसंगत अवस्थामा पनि नेपाली जनताले जसरी ज्यान जोगाए त्यसलाई धन्य भन्नुपर्छ ।
यता आएर प्राचीन सम्पदाको सुरक्षामा केही काम भएजस्तो देखिए पनि विकासमा कुनै गति छैन । सरकारसँग नीति छैन, के गर्ने कार्ययोजना छैन, कसरी अघि बढ्ने थाहा छैन । यो अवस्थामा न त सांसदहरूले नै सरकारलाई दबाब दिइरहेका छन, न सरकारले सांसदहरूको सुझाव खोजिरहेको छ । शासन गर्नेलाई सुविधाहरू चाहिएको छ । गाडी हिंड्ने बाटो नभए पनि गाडी चाहिएको छ । देशको ढुकुटीमा पैसा छैन । जनताको गाँस काटेर पनि सुविधा चाहिएको छ । जुन देश यस्तो नियतिमा पुगेको छ त्यसको विकास कसरी हुन्छ ?
हुनसक्छ, धरहरा चढेपछि देशलाई यति नै उचो शिखरमा पुर्याउने जोश चढेको थियो प्रम ओलीमा । उनले नारा नै लगाए– समृद्ध र समुन्नत नेपाल । कति राम्रो नारा, तर समृद्धिको हकमा डोजर चलेको चल्यै छन् । बाटो–घाटो, वन–पाखो केही बाँकी छैनन् । नेपालमा ठेकदार र सरकारका बीच झगडा चलिरहने गरेको छ । धरहरा पुनर्निर्माणको हकमा ठेकेदार र सरकारको झगडा सुरु भैसकेको बताइन्छ । धरहरा क्षेत्र विस्तारका लागि टक्सार र हुलाकको स्थानान्तरण भएर त्यहाँ मैदान बनिसकेको छ ।
देशलाई त्यो भत्किएको धरहराभन्दा माथिको उचाइमा पुर्याउने हो भने हरेक नयाँ पुराना र स्मार्ट सिटीमा त्यत्ति नै उचाइका धरहरा बनाउनु उचित हुन्छ । हिजोआज देशमा समृद्धिको नयाँ सपना हाउसफुलका साथ चलिरहेको छ । त्यसैले स्वतन्त्रताका हरेक बाटा खुम्चिन थालेका छन् । सडक छ, पेटी छैन । यसपछि के हुन्छ ? यो प्रम ओलीलाई थाहा नभएको कुरा होइन । देश हो । देश त सधंै संकटमा रहन्छ । अहिले सरकारले बनाउन खोजेको धरहराभन्दा अग्लो संकट कालापानी, लिम्पियाधुरा र लिपुलेकले उत्पन्न गरेको छ । यो संकटबाट पार नपाएसम्म नयाँ बन्ने धरहराको अस्मिता पनि के नै रहन्छ र ?