साप्ताहिक संवाददाता
खानपिनका पारखीहरूका लागि काठमाडौंका रेस्टुराँहरूले अनेकन् नयाँ–नयाँ परिकार तयार गरिरहेका हुन्छन् । त्यस्तै फरक डिस हो— ध पाउ । नक्सालस्थित ध पाउ रेस्टुराँले १ वर्षदेखि ग्राहकहरूलाई चिनियाँ परिकार ध पाउको स्वाद चखाइरहेको छ । पाउ भन्नेबित्तिकै दिमागमा बाक्लो पीठोको परिकार घुम्छ ।
ध पाउ बर्न गरिएको बाक्लो पीठोभित्र किमा हालेर तयार पारिने परिकार हो । ठूलो म:मजस्तै देखिने भएकाले कतिपयले यसलाई ठूलो म:म पनि भन्छन् । बाहिरी रूपरेखा ठ्याक्कै म:मजस्तै देखिए पनि यो म:म भने होइन । चीनमा ध पाउ भन्नेबित्तिकै पोर्ककै हुन्छ, तर ध पाउले नेपालमा सबैले पोर्क नखाने भएकाले भेज, चिकेन, बफ तथा पोर्क ध पाउ पस्कने गरेको छ । यसको मूल्य प्रतिप्लेट भेज १ सय ५५ रुपैयाँ, चिकेन १ सय ८५ रुपैयाँ, बफ १ सय ७५ तथा पोर्क १ सय ९८ रुपैयाँ पर्छ ।
द पाउ रेस्टुराँले पस्कने अर्को फरक र लोकप्रिय परिकार बंगुरको खुट्टाको अचार हो । यो अचार तयार गर्ने क्रममा बंगुरको खुट्टाको हड्डीलाई बेस्सरी पकाएर बाक्लो झोल बनाइन्छ, जसलाई रेस्टुराँले ग्राहकको चाहनाअनुसार चिउरा अथवा भातसँग सर्व गर्दै आएको छ । यो अचार स्पाइसी हुन्छ । बंगुरको खुट्टाको यो अचारको २ सय ७८ रुपैयाँ पर्छ । त्यसबाहेक यो रेस्टुराँमा म:म, आलु चप तथा छुर्पीको अचारको स्वादसमेत लिन पाइन्छ ।