साप्ताहिक संवाददाता
मंसिर १३, २०७६
राजधानीका युवाहरूलाई लक्षित गरेर केएमसी फन फेस्टको आयोजना हुने भएको छ । भोलि शनिबार ललितपुरको बालकुमारीस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा उक्त कार्यक्रम हुँदैछ, जहाँ अहिले युवा पुस्तामाझ चर्चामा रहेका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रममा गायक महेश काफ्ले तथा छेवाङ लामाले आफ्नो गायकीमार्फत मनोरञ्जन प्रदान गर्नेछन् भने स्ट्यान्ड अप कमेडियनद्वय डोरेस खतिवडा तथा लोकमणि त्रितालले दर्शकहरूलाई हँसाउनेछन् ।
त्यस्तै फेस्टिभलमा र्यापर अनिल परियारको र्याप सुन्न पाइनेछ भने छमछमी सिजन–३ का विजेता विवेक मोक्तानको नृत्यसमेत हेर्न पाइनेछ । कार्यक्रममा नि:शुल्क प्रवेशको प्रबन्ध गरिएको छ । बिहान १० बजे प्रारम्भ हुने कार्यक्रम दिनभर चल्ने आयोजक काठमाडौं स्टुडेन्ड कमिटी (केएमसी) ले बताएको छ ।