कुनै बेला नयाँ सडक थियो– न्युरोड । ‘सहर’ जाने मानिसहरू न्युरोडको पीपलबोटमा पुगेर घण्टौं अलमलिन्थे । न्युरोड पीपलबोट नपुगेसम्म कुनै खबर सुन्न पाइँदैनथ्यो । समाचारका गतिविधिहरू पीपलबोटमा फन्को मारी रहन्थे । हल्लाको सुपर बजार पनि नयाँ सडक नै थियो । हल्ला सुन्नका लागि, राजनीतिका केही भित्रिया कुरा थाहा पाउनका लागि नयाँ सडक नै उपयुक्त थियो । नेपालका सेलिब्रिटीहरूलाई एकसाथ भेट्न पाइने अजिवको थलो थियो नयाँ सडक । यसका नाममा सयौं कविता र कथा लेखिए होलान । यो कान्तिपुरको ‘डाउन टाउन’ थियो ।
त्यसपछि जगमगायो दरबार मार्ग । दरबार मार्गको एउटा छेउमा राजाको सालिक र अर्को छेउमा राजदरबारको ढोका । यो मार्ग देशका सम्भ्रान्त वर्गको ‘हब’ थियो । पहिलो राष्ट्रिय जनआन्दोलनसम्म दरबारमार्ग सम्भ्रान्त वर्गकै इशारामा चल्यो । प्रजातन्त्रको पुन:स्थापनापछि सहरका परिभाषा बदलिए । समाचारका लागि न्युरोड वा नयाँ सडक नै धाउनुपर्ने बाध्यताको अन्त्य भयो । समाचारका केन्द्रहरू बिकेन्द्रित भए । नयाँ सडकमा मानिसको आवागमन कम हुन थाल्यो । दरबार मार्गको महत्व बढ्यो ।
पुतलीसडक अर्को हबका रूपमा उदाउन थाल्यो । चहल–पहल बढ्दै गयो । साँझको ठेगाना बन्यो पुतलीसडक । सेकुवा, गीत–गजल र मनोरन्जनका विविध पक्षको केन्द्र ।
त्यसबेलासम्म बत्तीसपुतली रोडको नामकतै थिएन । अचेल पुरानो बानेश्वर चोक भनिने ‘नयाँ सत्तल’ देखि गौशालासम्म जम्मा १४०० पाइलाको यो सडक किनारामा एउटै परिचित ठेगाना थियो, द्वारिका’ज । बाहिरबाट सधंै ढोका बन्द रहने द्वारिका होटलका बारेमा मानिसहरूलाई केही थाहा थिएन । अहिले यो होटलको नाम नसुन्ने कोही नहोला सहरमा । कान्तिपुरको ‘हेरिटेज’ भइसकेको छ द्वारिका’ज । यसको उत्तरपट्टी एउटा गल्ली थियो– अपूर्व । अहिले त्यो गल्लीको विस्तार भएको छ सडकका रूपमा । तै पनि, सडक पूरै खुलेको छैन । बीचको एउटा घरले डिष्टर्व गरेको छ ।
नयाँ सत्तल अर्थात् पुरानो बानेश्वर चोकदेखि गौशालासम्मको सडकको नामाकरण भएको छैन । मानिसहरू ‘बत्तीसपुतलीमार्ग’का रूपमा चिन्छन् यसलाई । एकताका, केशव स्थापित थिए नगर पिता ।
उनको पालामा विभिन्न गल्ली र सडकको नामाकरण भएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्यको निवास अगाडिको सडकको नाम अर्का इतिहासकार सूर्यविक्रम ज्ञवालीको नाममा नामाकरण गर्ने महानगरपालिकाको कल्पनाशीलता त्यसै बेला देखिएको थियो । स्थापितकै समयमा यहाँको एउटा गल्लीको नामाकरण कविशिरोमणिका नाममा गरियो– लेखनाथ पौड्याल मार्ग । त्यो सानो गल्छेउँडो, जुनपछि मार्ग भयो, त्यसका बारेमा स्वयम् कवि शिरोमणिलाई समेत केही थाहा थिएन होला । त्यस यता गल्ली र सडकका नामाकरण भएका छैनन् । अहिलेका लागि यो बत्तीसपुतली रोड नै पर्याप्त छ परिचयका लागि । त्योभन्दा पर कतै जानुपर्ने जरुरत नै छैन ।
बत्तीसपुतली सडक महत्वपूर्ण बिजनेस डिष्ट्रिक्ट भइसकेको छ । यसलाई बैंक रोड भने पनि खासै फरक परी हाल्दैन । गौशालाको जेब्राक्रसिङबाट सडक–पेटीको बाटो बानेश्वर चोकतिर हिँडदा सबभन्दा पहिले भेटिन्छ– सेन्चुरी बैंक । त्यसपछि सानिमा, कृषि विकास, कैलाश, एनआईसी, बीओके, माछापुच्छ्रे, हिमालयन, रावा, एनआईबील, एसबीआई– सडकको दुवैतर्फ बैंक नै बैंक । सडकको अर्कोतर्फ अर्थात् नयाँ सत्तलबाट भीमसेन गोलातिर जाने सडकमा पनि सिद्धार्थ, देव:विकास, प्राइम कमर्सियल र नबिल बैंक । सहकारीको संख्या पनि त्यति नै ।
नयाँ सत्तलबाट गौशाला जाने यो सडकलाई कफी स्ट्रिटभन्दा पनि फरक नपर्ला । बत्तीसपुतलीका स्थानीयबासिन्दा कति शौखिन छन् अग्र्यानिक कफीका ? त्यो त थाहा भएन । तर, यो स्ट्रिटमा कफी पसल थुप्रै छन् । पहिले तन्नेरीहरूले मन पराएको ‘जस्ट बेक’ रेस्टुराँ अब छैन । त्यहाँ देशकै प्रतिष्ठित कफी उद्योग हिमालयन जाभाले कफी पसल खोलेको छ । जाभाको कफीको गेडा(बीन्स) भुटने रोष्टरी र बरिष्टा स्कुल पनि त्यहीँ सञ्चालित छ । त्यसपछि आउँछ हाइल्यान्ड बिन्स कफी । कफीको मौलिक स्वादका लागि यो कफी पसल प्रसिद्ध छ । अलि अगाडि बढेपछि आउँछ बाजेको सेकुवाको सिष्टर कन्सर्न नूरी कफी । त्यसको अगाडि तपस होटलको कफी लाउन्ज । त्योभन्दा अगाडि शिल्पीको कफी घर । अलि अगाडि बढेपछि एकातिर खुसी र अर्कोतिर क्यानोभा । त्यसपछि द्वारिकाको कफी अनि अनुपम फुडल्याण्डको कफी । त्यसपछि इम्पेरियल होटलको कफी ।
नयाँ सत्तल अर्थात् बानेश्वर चोक । कुनै जमानामा नयाँ सत्तलको दायाँपट्टी भागमा एउटा सानो पसल थियो तरकारी, फलफूल र खुदरा सामानको । जुठेको पसलका नामले लोकप्रिय थियो यो पसल । पसलको बायाँपट्टी पुलिस चौकी थियो । स्कुल जाने केटाकेटीहरू जुठेको पसलमा नरिवल ‘पिप्लामेट’, गुच्चापिपी, तिलौरी, खट्टेपा, लट्टेपार खजुरी किनेर रमाउने गर्थे । अहिले नयाँ सत्तल छैन । पञ्चायतकालमा पञ्चहरू सत्तल, पाटी र गौचर बेचेर आफ्नो पारिश्रमिकको जुगाड गर्थे । त्यही बेला नयाँ सत्तल कसैले निजी बनायो । पुरानो जमानाको धेरै कुरा हराएका छन् सहरको यो भेगबाट । सम्पदा संरक्षणमा लागेकाहरूका लागि यो अनुसन्धान को विषय हो ।
यो बजार हो, रमाइलो बजार । पहिले कान्तिपुरको पूर्वी छेउमा पर्ने यो बजार अहिले व्यावसायिक समृद्धिको केन्द्र बनेको छ । बानेश्वर–बत्तीसपुतलीका रैथानेहरू यहाँबाट पलायन भइसकेका छन् । पुरानो समयको केही बाँकी छैन । सबै नयाँ छ र पनि मानिसलाई नयाँकै खोजी छ ।