पत्रकार सुमन चापागाईंले बिनाकारण पुलिसको पिटाइ खानु नपरेको भए दक्षिण एसियाली खेलकुद समारोहको अन्त्य रमाइलो हुन्थ्यो । पुलिसले सुमनलाई लछार–पछार गर्दै चुटेपछि समारोहको रमाइलोमा मन खिस्रिक्क भयो । हात नचलाई कुरा गर्नै नचाहने हाम्रा पुलिस दाजुभाइको सामाजिक संस्कार नै कुटपिट हो कि आफूलाई मन नपर्नेबित्तिकै धुस्नु चुटान गर्नैपर्ने पेसागत प्रवृत्ति हो ? यो प्रश्नको जवाफ आउला भन्ने आशा छैन । ट्विटरमा सुमनलाई लछार्दै लात्ताले भकुर्दै हिंडेका पुलिसको तस्बिर देखेपछि अचानक पुलिसको सम्झना आयो । संयोगले सुमन पिटिएकै दिन परेछ मानवअधिकार दिवस । त्यसैको उपलक्ष्यमा सुमन पिटिएका हुन् भने त कुरै भएन । होइन भने, यो त्यसै छाड्न मिल्ने घटना भएन ।
गीतामा भगवान् कृष्णले भन्नुभएको छ : मानिसले काम गर्दै जानुपर्छ, फलको आशा राख्नु हुँदैन । भगवान् कृष्णको यो आदेशको, समाजका आस्तिक, नास्तिक र ‘न आस्तिक न नास्तिक’ – तीनै थरी मानिसबाट पालना हुँदै आएको छ । दशरथ रंगशालामा पुलिसले पत्रकार पिट्दा पनि यही आदेशको पालना गरेको हुनुपर्छ । पुलिसले चोर र डाँकालाई मात्रै होइन, पत्रकारलाई पनि बडो मनोयोगका साथ पिट्छ । गीतामा भगवान् श्रीकृष्णले भन्नुभएकै छ : मानिसको कामकर्म गर्दै जाने हो । फलको आशा भगवान्को जिम्मा लगाइदिने हो । भगवान्लाई फलको आशाको जिम्मा लगाइदिनु पवित्र कार्य हो । यो कुरा संसारभरि नै फैलिएको छ । यस्तोमा भगवान् कृष्ण कतै गल्ली–गल्छ्यौंडामा भेटिएर के फल माग्छौ ? भनेर सोध्नुभयो भने मेरो जवाफ हुनेछ : कान्तिपुर सहरमा अर्को पटक आयोजना हुने खेलकुद समारोहमा कुनै अर्को पत्रकार ‘सुमन’ पुलिसद्वारा वा अरू कुनै नौटंकी समूहबाट नपिटियोस् ।
पत्रकार सुमनले चुटाइ खाएको घटनालाई छाडेर, बाँकी ‘साग’ खेलकुद मोहक रह्यो । नेपाली खेलाडीले ५१ स्वर्ण पदक जितेर आफ्नो नाक राखे । यो ठूलो उपलब्धि हो । संसारका प्राय: सबै देशमा खेलाडीहरूको विशेष सम्मान गरिन्छ । नेपालमा उल्टो छ । यहाँ खेलाडीले सम्मान गर्नुपर्ने पदाधिकारीहरूको सूची लामो छ । यो सूचीमा यति धेरै पदाधिकारीको नाम लेखिएको छ कि त्यति धेरै नाम त उहिले–उहिले सर्वहितैषी कम्पनी, जालपादेवी रोड, वाराणसीबाट प्रकाशित हुने पुस्तकहरूको सूचीमा पनि उल्लेख हुँदैनथ्यो होला । यो पत्रकार सुमनको नाम मेरा हातका औंलाहरूले बारम्बार किन स्पर्श गरिरहेका छन् ? मलाई थाहा छैन । किन दिमागमा उनले पिटाइ खाएको कुरा मात्र आइरहेको छ ? कसैसँग यो प्रश्नको जवाफ होला त ? सायद छैन । जवाफ हुनेले भनिहाल्नुभए हुन्छ ।
कान्तिपुरमा सम्पन्न भएको खेलकुदपछि पोखरामा आयोजित शब्द र अक्षरको नृत्यतिर लागौं हामी । पोखराको फेवातालको किनारामा रहेको बाराही घाटमा भैरहेको साहित्य मेला, महोत्सव र जात्रा, जे भने पनि, कवि, साहित्यकार र लेखकसँग संसर्गको एउटा अवसर हो । यो अवसरमा सहभागी हुने, निम्ता पाउनेहरू दंगदास होलान् । जसले निम्ता पाएका छैनन्, तिनले पनि मन खिस्रिक्क पार्नुपर्ने अवस्था छैन ।
आईएमई साहित्य महोत्सवको यो आठौं संस्करणमा देशका सुविख्यात, विख्यात र कमविख्यात गरी १ सय १० जना वक्ताको जमघट हुनेछ । आयोजकहरूको आशा छ, बाराही घाटमा बहसमा लट्ठिएका साहित्यकारहरूलाई फेवातालको चिसो स्याँठले प्रभावित तुल्याउने छैन । यो पटक साहित्य महोत्सवमा अन्तर्राष्ट्रिय लेखकहरूको पनि उपस्थिति रहनेछ । निमन्त्रणाको क्राइटेरिया केही भएजस्तो बुभिँmदैन । बुकवर्म र र्यान्डम रिडर्सको आमन्त्रणमा साहित्यकार र पर्यवेक्षकहरू सहभागी हुनेहुन् ।
यसपटकको महोत्सवमा, सुन्दै लोभलाग्दो, दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको २५ हजार अमेरिकी डलरको पुरस्कार वितरण गरिनेछ । यो पुरस्कार कसले पाउने हो ? त्यसको जानकारी यथासमय दिइएला । यसले नेपालको रचनात्मक क्रियामा रहेको सुस्त प्रक्रियाको अन्त्य गरेर सिर्जनशीलतालाई प्रोत्साहित गर्नेछ ।
दक्षिण एसियाली खेलकुद समारोहको समाप्ति र साहित्य महोत्सवको प्रारम्भ नेपालीका लागि सुखद संयोग हो ।