अहिलेको भौतिक पूर्वाधार, खासगरेर हवाइ र सडक यातायात, को अपर्याप्त स्थितिले यो लक्ष्य पूरा हुन दिँदैन कि भन्ने आशंका छँदैछ । तोकिएको राष्ट्रिय लक्ष्य पूरा हुन सक्यो भने त्यो सबै नेपालीका लागि सुखद हुने निश्चित छ ।
२० लाख पर्यटक भित्र्याउने सपना बोकेर सन् २०२० नेपाली पर्यटन व्यवसायको संघारमा आइसकेको छ । देशमा २० लाख पर्यटक भित्रिएलान् कि नभित्रिएलान् ? यो बेग्लै प्रश्न हो । २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले के गरेको छ ? व्यवसायीहरूले के गरेका छन् ? यो व्यावसायिक लक्ष्य हासिल गर्न जनतासँग कस्तो सहयोगको अपेक्षा गरिएको छ ? यी प्रश्न २० लाख पर्यटक ल्याउने सपनासँग मात्रै गाँसिएका छैनन् । थोरैमा पनि आगामी २० वर्षसम्म सरकारले यिनै प्रश्नको सेरोफेरोमा रहेर आफ्नो कार्यनीति बनाउनुपर्छ । पर्यटनमन्त्री योगेश भट्टराईलाई थाहै होला, देशलाई एउटा ब्रान्डका रूपमा प्याकेजिङ गरेर विश्व रंगमञ्चमा प्रस्तुत नगरेसम्म पर्यटन व्यवसाय मौलाउन सक्दैन । फोब्र्स म्यागाजिनको कुनै एउटा अंकमा अथवा बीबीसी प्रसारणको कुनै एक टुक्रामा नेपालको पर्यटनका बारे केही राम्रा कुरा छापिँदा त्यसले राम्रो सन्देश प्रवाहित गर्छ । तर, त्यति नै पर्याप्त हुँदैन हाम्रा लागि ।
यो साता ‘दि न्युयोर्क टाइम्स’ ले आफ्नो अन्तर्राष्ट्रिय संस्करणमा प्रकाशित गरेको एउटा लेखमा स्पष्ट गरिएको छ : हिंसात्मक द्वन्द्वमा गाँजिएर तहस–नहस भएका तीन राष्ट्र कोलम्बिया, रुवान्डा र क्रोएसियालाई कसरी पर्यटन ब्रान्डका रूपमा प्रस्तुत गरियो र ती राष्ट्र कसरी पर्यटक आकर्षणको केन्द्र बने ? २० वर्षअघिसम्म कोलम्बिया लागू पदार्थका व्यापारीहरूको प्रभावमा थियो । अद्र्ध–सैनिक दस्ताले गर्ने नरसंहार, छापामारद्वारा नियमित हुने अपहरण, ‘डेथ स्क्वाडले गर्ने हत्या र सडक अपराधबाट आक्रान्त थियो त्यो देश । युद्धले आक्रान्त क्रोसिएयाको अवस्था पनि त्यस्तै थियो । मानिस साह्रै साहसिक नभएसम्म क्रोएसिया पस्ने हिम्मत गर्दैनथ्यो । रुवान्डामा चलेको गृहयुद्ध उत्तिकै ह्दयविदारक थियो । पीडितका लागि सहायता लिएर पुगेका विदेशीहरू एयरपोर्टको सीमाबाहिर जान डराउँथे ।
यी देशहरूमा बिस्तारै हिंसात्मक द्वन्द्वको अवस्था अन्त्य हुँदै गयो । पूर्वाधारहरूको पुनर्निर्माण हुन थाल्यो । जनता जुर्मुराए । त्यसपछि मार्केटिङ र सोसल मिडियाको प्रयोगले विकासका काममा भएका प्रगति देखाइयो । यो प्रयत्न सफल भयो । अहिले यी तीनबटै देशमा पर्यटकको ओइरो लाग्ने गरेको छ । कोलम्बियामा ३० लाखभन्दा बढी पर्यटक पुगेका थिए २०१७ मा । क्रोएसियामा २०१८ मा १ करोड ९७ लाख पर्यटक पुगेका थिए भने २०१७ मा १५ लाख पर्यटकले रुवान्डा भ्रमण गरेका थिए ।
हाम्रो विगत पनि डरलाग्दो छ । हामीले दस वर्ष लामो जनयुद्ध भोगेका छौं । हामी विगतबाट भागेर कहीं पुग्न सक्दैनौं । मानिसमा वर्तमान र भविष्यका लागि केही न केही उद्यम गर्नैपर्छ भन्ने चेतना नआएसम्म सरकारले मात्रै गर्न सक्ने केही छैन । तर, हामीकहाँ सरकारले निकै बठ्याइँ देखाउँछ । पर्यटनमन्त्री भट्टराईले पद बहाली गर्नुभएको धेरै भएको छैन । उनलाई थाहा भइसक्यो होला, नेपालको कर्मचारी तन्त्रमा लटपट्याउने प्रवृत्ति एकदमै बढी छ । हामीले जति कुरा गरे पनि, हामीसँग पर्यटन विकासका लागि पर्याप्त पूर्वाधार छैन । हामी होटल र होम स्टेको छाना गनेर यति भए भइहाल्यो नि भन्ने मानसिकता राख्छौं । सरकार पर्यटन व्यवसायीका समस्यामा पनि संवेदनशील छैन । कति पर्यटन व्यवसायी ऋणमा फसेका छन् । कति व्यवसायी सामाजिक समस्यामा जेलिएका छन् । यतातिर सरकारको ध्यान जान सकेको छैन ।
यो कुरा धेरैले धेरै पटक धेरै भाषामा लेखिसकेका छन्, सहर कान्तिपुर झमक्क साँझ नपर्दै सुनसान भइसकेको हुन्छ । यस्तो वातावरण भएको देशमा कुस्त पैसा तिरेर म्यारिअट होटलमा बस्ने पर्यटकले के गरोस् ? कमलपोखरीको पानीमा टल्किएको जून हेरेर चित्त बुझाओस् ? उपत्यका संस्कृतिको विशाल भण्डार हो । यहाँका मन्दिर, चोक र डबलीहरूमा सांस्कृतिक गतिविधि गर्न नसकिने होइन । तर, मानिसलाई उत्प्रेरित गर्ने कसले ? यहींनिर चाहिन्छ राजनीति गर्ने नेतृत्वको कल्पनाशीलता ।
पर्यटन मन्त्रीले आफैं चाख र चासो लिएर, अहिलेकै पर्यटन वर्षका अवसरमा, उपत्यकालाई सांस्कृतिक गतिविधिको केन्द्र बनाउन सके पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने छ, यो ठाउँ । पर्यटन वर्षलाई हामीले वार्षिक महोत्सवका रूपमा लिन सक्नुपर्छ । त्यसो भएमात्र यसको सन्देश देशभरि पुर्याउन सकिनेछ । पर्यटन वर्षको सन्देश प्रदेश र स्थानीय सरकारको तहसम्म पुर्याए मात्र पर्यटन वर्ष सफल हुनेछ । अहिलेको भौतिक पूर्वाधार, खासगरेर हवाइ र सडक यातायात, को अपर्याप्त स्थितिले यो लक्ष्य पूरा हुन दिँदैन कि भन्ने आशंका छँदैछ । तोकिएको राष्ट्रिय लक्ष्य पूरा हुन सक्यो भने त्यो सबै नेपालीका लागि सुखद हुने निश्चित छ ।