सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ ।
शिरमा सर्वोच्च शिखर सगरमाथा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडी क्षेत्र । अन्न भण्डारका रूपमा कहलिएका पूर्वी तराईका जिल्लाहरू । फरक भौगोलिक विशेषता बोकेका यी तीनै क्षेत्र समेटिएको प्रदेश १ को समृद्धिको मुख्य आधारमा पर्ने क्षेत्र हो— पर्यटन । बेग्लाबेग्लै विशेषतायुक्त १४ जिल्ला समेटिएको प्रदेश १ आफैंमा एउटा ‘सानो नेपाल’ हो ।
संसारको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला अनि मुलुककै होचो भूभाग झापाको केचनाकबलको बेग्लै महत्त्व छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ । कृषि कर्मले सुधारिएको जीवनस्तर, प्राकृतिक स्रोत, जैविक विविधताले भरिपूर्ण क्षेत्रहरू समेटिएर बनेको यो प्रदेश सांस्कृतिक विविधतायुक्त पनि छ ।
प्राकृतिक स्रोत र मौलिक–सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने सम्भावना रहेको इलामका अगुवा धर्म गौतम औंल्याउँछन् । यसमा धेरथोर प्रयास भइरहेकै पनि छ, तर पर्याप्तचाहिँ नभएको उनको बुझाइ छ । ‘गतिलो गुरुयोजना बनाएर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘पूर्वाधार र पर्यटकको सुविधामा ध्यान दिनुपर्छ ।’
प्रदेशमा मधेसका सन्थाल, धिमाल, थारु आदि आफ्नो संस्कृतिको जगेर्नामा लाग्दैछन् । पहाडी इलाका किराँतहरूको पावनभूमि हो । हिमालमा शेर्पाहरू रमाएर बसेका छन् । पहाड र मधेसमा धेरै जातिको बसोबास छ । जातिपिच्छेका भाषा, संस्कृति र परम्परा छन् र तीसँगै आपसी अन्तरघुलनको आत्मीय सम्बन्ध पनि छ । यो अरूका लागि पनि अनुकरणाीय छ ।
भूगोल, हावापानी, जराजुरी, जीव–जनावर र संस्कृतिमा यतिविधि विविधता अन्यत्र सायदै पाइएला । जैविक विविधता र सांस्कृतिक विशेषता यहाँको अवलोकनका लागि मात्रै होइन, अनुसन्धानकर्ताका लागिसमेत चासोको विषय बन्दै आएको छ । त्यसैले यो प्रदेशमा पर्यटकका लागि चित्ताकर्षक गन्तव्य र आकर्षक उपजहरू विद्यमान छन् ।
सम्भावनै सम्भावना
प्रदेश १ पूर्वमा भारतको पश्चिम बंगालसँग जोडिन्छ । घुमघामका सौखिन बंगालीहरू नेपाल–भारत सीमा हुँदै इलामको सन्दकपुरतिर ठूलो संख्यामा आउँछन् । तिनलाई अझै पश्चिम तान्न सकिन्छ । काँकडभिट्टा नाका भएर पनि बंगलादेशीहरू नेपाल घुम्न आउँछन् । उनीहरूलाई यस प्रदेशका पहाडी इलाकामा पल्काउन सकिने गौतम बताउँछन् ।
सगरमाथा, कञ्चनजंघाजस्ता हिमशिखर ताकेर आउने तेस्रो मुलुकका पर्यटकलाई यो क्षेत्रमा विचरण गराउने वातावरण बनाउन सक्दा प्रदेश १ का सबै क्षेत्र लाभान्वित हुन पाउँछन् । कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता पर्यटकीय आकर्षणका क्षेत्रहरू यसै प्रदेशमा पर्छन् ।
बराहक्षेत्र, हलेसी महादेव, पाथीभराजस्ता नाम चलेका तीर्थस्थलहरूका कारण प्रदेशमा धार्मिक पर्यटनको सम्भावना उत्तिकै प्रबल छ । बूढासुब्बा, गजुरमुखी, सभापोखरी, तिम्बुङ पोखरी, माइपोखरीजस्ता धार्मिक स्थलहरूको पनि आफ्नै महत्त्व छ ।
आकर्षक गन्तव्य
प्रदेशका अन्य गन्तव्यहरूमा कोसीटप्पु वन्यजन्तु आरक्ष, मोरङको मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका सन्दकपुर, अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र छन् । यसैगरी धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुम र आसपास जिल्ला समेट्ने गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरीलगायत गन्तव्य आकर्षक छन् ।
इलाम, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र आसपास, धनकुटा, तेह्रथुम, मोरङका उत्तरी क्षेत्रलगायत स्थानमा पर्यटकको स्वागतका लागि घरबास (होमस्टे) मा खान–बस्न सुविधा उपलब्ध हुन थालेको छ । यसैगरी पर्यटन वर्षलाई लक्षित गर्दै विराटनगरबाट ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी महादेवस्थान दर्शन गर्ने सशुल्क सुविधा सुरु गरिएको सरकारद्वारा गठित प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य भविष श्रेष्ठले बताए । हालै पाँचथरमा निजी क्षेत्रले हेलिकप्टरबाट पर्यटकीय स्थल अवलोकन गर्न ‘फन फ्लाइट’ नाममा हेलिकप्टर यात्रा सुरु गरेको छ । तमोर, कोसीलगायत खोलामा र्याफ्टिङ सुरु भइसकेको छ ।
प्रदेश सरकारको तयारी
पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मानेर प्रदेश १ सरकारले आफ्नो नीति तथा कार्यक्रममा पाँच वर्षभित्र ५ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको थियो । ‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ भन्ने नारासाथ सरकारले पर्यटन क्षेत्रबाट २ हजारलाई रोजगारी दिने र ५ लाख पाहुनालाई स्वागत गर्ने योजना सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री शेरधन राई स्थानीय बासिन्दा र सरोकारवालासँगको सहकार्यमा प्रदेश १ लाई पर्यटनको मुख्य थलो बनाउन सरकार प्रतिबद्ध रहेको बताउँछन् । पूर्वका गन्तव्यहरूमा कति पर्यटक भ्रमणमा आउँछन् भन्ने यकिन तथ्यांक पाइँदैन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले संयन्त्र बनाएर यसको तथ्यांक संकलन गर्ने बताए । स्थापित पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्दै नयाँ पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार लागेको उनी बताउँछन् ।
उद्योग वाणिज्य महासंघको प्रदेश १ समितिका उपाध्यक्ष राजेन्द्र राउत पर्यटकीय विकासका लागि व्यवस्थित र सुविधासम्पन्न होटल, सडकलगायत भौतिक पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् । यो काममा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।
नेपाल भ्रमण वर्षका लागि मुख्यमन्त्री शेरधन राई संरक्षक रहेको २१ सदस्यीय प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति बनाइएको छ । अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियत छन् । यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका व्यक्तिहरू सदस्यका रूपमा क्रियाशील छन् ।