हिमालदेखि तराईसम्म फैलिएको सुदूरपश्चिम प्रदेश आकारमा सानो छ, तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । भूस्वर्गका रूपमा खप्तडको पहिचान बनेको छ । यहाँको भर्जिन हराभरा पाटन आफैंमा अलौकिक छ । बाह्रसिंगाको विशाल झुन्डको बासस्थान भएको शुक्लाफाँटा निकुञ्ज संसारकै एकान्त कुनामा रहेको सुदूरको प्रमुख पर्यटकीय गन्तव्य हो ।
साइपाल, अपी नाम्पा हिमालमुनिको रमणीय मध्यपहाडी क्षेत्रका नदी नाला, रीतिरिवाज अनि विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले थातथलो छोडेर अन्यत्र बसोबास गर्नेहरूलाई बर्सेनि घर फर्काइरहेको हुन्छ । दार्चुलाको व्यास गर्खाका शौका समुदायको परम्परागत मौलिक संस्कृतिदेखि तराईका कैलाली र कञ्चनपुरका थारु समुदायको चाडपर्व अनि पहिरन र खानपानको आफ्नै विशेष महत्त्व छ । पहाडतिर गौरा पर्वलगायत विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले बेग्लै रौनक छाउने गर्छ । समग्रमा सुदुरपश्चिम धार्मिक, प्राकृतिक र सांस्कतिक रूपले समृद्ध छ ।
प्राकृतिक सौन्दर्य
यतिबेला खप्तड हिमपातले सेताम्य भएको छ । क्षण–क्षणमा बदली भइरहने खप्तडको मौसमले पर्यटकहरूमा रोमाञ्च छाउने गर्छ । सडक यातायात र बसोबास तथा खानपिनको उचित व्यवस्था नहुँदा खप्तड पुग्न समस्या छ, तर एकपटक पुगेका जो–कोहीले पनि फर्केपछि ‘जीवनमा एकपटक अवश्य पुग्नैपर्ने ठाउँ रहेछ’ भन्ने प्रतिक्रिया दिने गरेका छन् ।
खप्तड वास्तवमै अलौकिक र अनुपम सुन्दर छ । सुदूरका तीन पहाडी जिल्ला डोटी, बझाङ र अछामको कुनै न कुनै भाग जोडिने खप्तड समुद्री सतहबाट २ हजार ४ सय मिटरदेखि ३ हजार ७ सय मिटर उचाइसम्म फैलिएको छ । नेपालमा पाइने ७ सय प्रकारका जडीबुटीमध्ये हालसम्मको अनुसन्धानबाट २ सय २४ थरीको जडिबुटी खप्तडमै पाइन्छ ।
खप्तड धार्मिक दृष्टिकोणले पनि प्रसिद्ध छ । जेठ महिनातिर गंगा दशहरामा खप्तडमा ठूलो मेला लाग्ने गरेको छ । ५० वर्षसम्म ‘खप्तड बाबा’ का नामले प्रसिद्ध स्वामी सच्चितानन्द सरस्वतीले ज्ञान प्राप्त गरेका कारण पनि खप्तडको बेग्लै पहिचान बनेको छ । सहस्रलिंग, सिद्धिविनायक, नागढुंगा, केदारढुंगा, खप्तड दह, जगन्नाथ मन्दिर र त्रिवेणीधाम पुग्नैपर्ने खप्तडभित्रका प्रमुख गन्तव्य हुन् । खप्तडका प्राय: सबै ठाउँबाट साइपाल, अपि, मडुग्रा, इङ्गलद्वारलगायतका हिमालहरू देखिन्छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
एक जना ब्रिटिस नागरिकले कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज घुमेपछि भनेका थिए, ‘आहा ! कति राम्रो सुनसान अनि एकान्त ।’ त्यही सुनसान शुक्लाफाँटा केही वर्षयता सुदूरपश्चिम पुग्ने पर्यटकहरूका लागि वन्यजन्तु र जैविक विविधताको क्षेत्रमा विशेष गन्तव्य हुन पुगेको छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो संरक्षण क्षेत्र बाघको घना बासस्थान र विशाल घाँसेमैदानमा चरण गर्ने बाह्रसिंगा र गैंडाका कारण चर्चामा रहने गरेको छ ।
शुक्लाफाँटा हात्ती र जिपमा घुम्न सकिन्छ । शुक्लाफाँटा निकुञ्जसंँगै जोडिएको रानाथारु बस्तीमा सुविधा सम्पन्न होमस्टे पनि सञ्चालनमा छ । शुक्लाफाँटा जंगल सफारी रिसोर्ट सञ्चालन गर्दै आएका कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारी शुक्लाफाँटाको व्यापक प्रचार–प्रसार हुन नसकेको बताउँछन् ।
सुदूरका अन्य गन्तव्यहरू
सुदूरका प्रमुख शक्तिपीठहरू डँडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निंगलासैनी र मेलौली धार्मिक दृष्टिकोणले विशेष महत्त्वका छन् । डँडेल्धुराको भित्री मधेस जोगबूढा क्षेत्रमा पर्ने परशुराम धाम र अछामको वैद्यनाथ धाममा लाग्ने मेलाको पनि विशेष महत्त्व छ । दार्चुलाको मालिकार्जुन, डोटीको शैलेश्वरी र बडीकेदार, डँडेल्धुराको घटाल मन्दिरको विशु जात्रा, कञ्चनपुरको सीमापारि टनकपुरनजिकको पूर्णागिरि मेला तथा बैतडी र दार्चुलाको सीमा गोकुलेश्वरमा शिवरात्रिका अवसरमा लाग्ने मेला विशेष छन् ।
सुदूरपश्चिम नाटाका अध्यक्ष माया प्रकाश भट्ट प्रदेशभित्र रहेका धार्मिक महत्त्वका स्थानहरूमा प्याकेजका रूपमा घुमफिर गर्ने वातावरण तयार गर्न धार्मिक कोरिडोरको अवधारणालाई मूर्तरूप दिनुपर्ने बताउँछन् ।
डँडेल्धुराको अमरगढी किल्ला पनि ऐतिहासिक सम्पदाका रूपमा रहेको छ । बैतडीको नौहाट क्षेत्रका साथै डँडेल्धुराकै अजयमेरु रहेको डोटेली राजाको भग्नावशेष दरबार तथा बैतडीको पाताल भुवनेश्वर गुफा, दिपायलनजिकैको भग्नावशेष दरबार अनि अछामको एकान्त रामारोशन क्षेत्र पनि पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । कैलालीका कान्द्रा, मोहना नदी दोभान जहाँ वर्षायाममा डल्फिन अवलोकन गर्न सकिन्छ ।