थारु महिलाहरूले प्रयोग गर्ने पोसाक एवं गरगहना धेरै प्रकारका छन्। जसमध्ये चोली र साथमा लेहेंगा (गोनिया) प्रमुख हुन्। यो सेतो वा रङ्गिविरङ्गी हुन्छ। गोनिया र चोलीका साथमा अघ्रहानलाई घाँटी हुँदै पछाडि ढाडमा ल्याएर फुन्हाले बाँधिन्छ। शिरमा मंगिमा लगाइन्छ। पाखुरामा वाँक र टगिया लगाइन्छ। त्यस्तै नाडीमा कक्नी लगाइन्छ। थारु महिलाहरूले जातीय पहिरनका साथमा घाँटीमा प्रशस्त गरगहना लगाउँछन्। धातुका यी गहना विभिन्न डिजाइनमा तयार पारिएको हुन्छ। घाँटीमा सुटिया, गट्टिया माला, टौंक, हैकल, कन्सेरी आदि लगाइन्छ। त्यस्तै खुट्टामा चुर्ला, काँरा र पाउजु लगाइन्छ।