कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन ‘साप्ताहिक’ले २५ वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेश गरेको छ । सिङ्गो मानव समाजलाई कोरोना कहरले गाँजिरहेको यो दु:खद् क्षणमा साप्ताहिकको वर्षगाँठ मनाइरहँदा पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धता अझ बलियो भएको छ ।
२०४६ सालपछि मुलुकको राजनीतिमा आएको खुलापनसँगै नेपालमा व्यावसायिक पत्रकारिताको विकास भयो । यो विकास र विस्तारमा कान्तिपुर मिडिया ग्रुपको अग्रणी भूमिका रहँदै आएको छ । कान्तिपुर दैनिक, दी काठमाण्डु पोस्टपछि हामीले २०५२ जेठ ५ गते साप्ताहिकको प्रकाशन आरम्भ गरेका थियौं ।
पत्रकारितामा राजनीतिक समाचार र विषयवस्तु हावी भइरहेको त्यो बखत हामीले समाज, सिनेमा, मनोरञ्जनात्मक पाठ्यखुराक भएको बेग्लै प्रकाशनको आवश्यकता महसुस गर्यौं । र, साप्ताहिक जन्मियो । यसको प्रकाशनपछिका वर्षहरूमा यसले जे–जस्तो आकर्षण र पाठक पायो, त्यसले मनोरञ्जनप्रधान अखबारको खाँचो भएको हाम्रो विश्वास पुष्टि भयो ।
पाठकका स्वाद र रुचि स्थिर भइरहँदैनन् । समय र समाजको विकाससँगै रुचि, आवश्यकता र स्वादहरू फेरिँदै जान्छन् । कान्तिपुर मिडिया ग्रुपले यो यथार्थलाई सदैव आत्मसात गर्दै आएको छ । र, आफूलाई सधैं परिस्कृत गर्दै लगेको छ । साप्ताहिकले यो साढे दुई दशकमा कैयौंपटक आफ्नो स्वरूप र विषयवस्तुमा समयानुकूल परिवर्तन गर्दै आएको तथ्य पाठकबाट छिपेको छैन ।
यतिबेला प्रविधिको अभूतपूर्व विकास भएको छ । प्रविधिमा आएको विकासलाई ध्यानमा राख्दै प्रकाशनहरूको प्रस्तुति अझ परिस्कृत गरेर लैजाने दायित्व थपिएको छ । वर्षगाँठको अवसर पारेर हामीले साप्ताहिकको डिजिटल संस्करण saptahik.com.np लाई नयाँ स्वरूप दिएका छौं ।
आदरणीय पाठकवृन्द,
तपाईंले आगामी जेठ ५ गतेदेखि मल्टिमिडियासहित थप आकर्षक र चुस्त साप्ताहिकको वेब पोर्टल हेर्न र पढ्न सक्नुहुनेछ । संकटको यस घडीमा व्यावसायिकतालाई अझ सुदृढ बनाउन हामी प्रतिबद्ध छौं । २५ वर्ष पूरा गरेको यो ऐतिहासिक अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
कैलाश सिरोहिया
अध्यक्ष, कान्तिपुर मिडिया ग्रुप