उनले चारवर्षे अवधिमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दर्जनौं जिल्लामा काम गरिसकेकी छिन्। हरेकपल्ट काठमाडौं बाहिर जाँदा अर्कै देश गएको आभास हुन्छ उनलाई। त्यतिबेला उनलाई लाग्छ, 'देश त एउटै हो, तर राजधानी र मोफसलबीच यति भिन्नताचाहिँ किन?' एकता पनि देखिन्छ। सांस्कृतिक कुरा पनि प्रायः मिल्दोजुल्दो नै छ तर, अन्य विशेषता सबै जिल्लामा फरक-फरक। आन्नेको अनुभव छ, 'काठमाडौ केन्दि्रत भएर काम गर्नेहरूले नेपाललाई त्यति धेरै बुझ्न सक्दैनन्।'
समाजशास्त्रमा स्नातकोत्तर आन्नेको सानैदेखि रुचिको विषय थियो नाटक। जर्मनीमै रहँदा उनले प्रशस्त मात्रामा सडक तथा कचहरी नाटकमा काम गरेकी थिइन्। उनी केही समय नाट्य क्षेत्रमा व्यावसायिक रूपमै लागेकी थिइन्। सन् २००४ मा सोध तयार गर्ने सिलसिलामा उनी दोस्रो पटक नेपाल आएकी थिइन्। त्यसअघि २००१ मा दरवार हत्याकाण्डताका उनी पहिलो पटक नेपाल आएकी थिइन् तर, छोटो समयका लागि। विश्वविद्यालयको छात्रवृत्ति पाएर नेपाल आएकी आन्ने त्यतिबेला मकवानपुरमा शिक्षासम्बन्धी करिब चार महिना लामो अनुसन्धान गरेर फर्किइन्। त्यही बेलादेखि नेपाली भाषा पनि सिक्न थालेकी आन्ने ६ महिनापछि नै प्रस्ट नेपाली बोल्न सक्ने भइन्।
सन् २००१ ताका नै नेपालमा कचहरी नाटक सुरुवात भैसकेको थियो। नाट्यकर्मी सुनील पोखरेल, सामाजिक अभियन्ता विनय धिताल तथा डेनमार्कका टिम ह्वाइटको सक्रियतामा कचहरी नाटक नेपालमा भित्रिएको हो, तर यसलाई मलजल गर्ने र हुर्काउने श्रेय आन्नेलाई जान्छ। २००४ मा सोधपत्र तयार गर्ने सिलसिलामा आएका बेला उनको गुरुकुलका रंगकर्मीहरू सुनिल पोखरेल, अनुप वराल, राजन खतिवडा, सुरेश चन्द आदिसँग भेट भयो। उनले गुरुकुलकै बारेमा सोधपत्र पूरा गरिन् र जर्मनी फर्किइन्। त्यसपछि करिब पाँच वर्ष लामो प्रोजेक्ट बोकेर पुनः नेपालमा आइन्। 'त्यतिबेलादेखि नै नेपाल र्फकने र नाटकमार्फत केही गर्ने सपना थियो,' उनले सम्झिइन्, 'त्यो पूरा पनि भयो।'
कचहरी नाटकमार्फत समाज रूपान्तरणमा सक्रिय आन्नेसँग दर्जनौं जिल्लामा काम गरेको अनुभव छ। उनलाई लाग्छ, 'नेपाललाई घरेलु हिंसा र जातीय विभेदले सबैभन्दा बढी गाँजेको छ।' यी दुई वेथितिबाट कुनै पनि जिल्ला अछुतो छैनन्। 'सबै जिल्लामा यी दुई बेथिति जरा गाडेर बसेका छन्', आन्नेका अनुसार, 'जातीय विभेद उन्मूलन गाह्रो छ। मुख्य कुरा चेतनाको विकास हुनुपर्छ।' उनले मुलुकमा कानुन भए पनि कतिपय अवस्थामा कानुनी रूपबाट परिवर्तन गाह्रो हुने बताइन्। 'कचहरी नाटकले राम्रो भूमिका खेल्न सक्छ,' उनलाई लाग्छ, 'कहिलेकाहीं कानुनले गर्न नसकेको काम कचहरी नाटकले गरेर देखाइदिन्छ।' सामाजिक रूपमा छलफल गरेर पनि मानिसको चेतना र सोचमा परिवर्तन ल्याउन सकिन्छ। नाटकमा विश्वास छ उनको, तर नाटकले नै सबै कुरा समाधान गर्न सक्छ भन्ने मान्यता उनी राख्दिनन्। उनी मेलमिलापमा बढी विश्वास गर्छिन् तर, नेपालका धेरैजसो मेलमिलापकर्ता उच्च जातका छन्। मेलमिलापकर्ता समावेशी हुनुपर्छ भन्ने उनलाई लाग्छ। 'मेलमिलापमा दलित, जनजाति र महिला सबै चाहिन्छ', उनले थपिन्, 'नत्र मेलमिलाप पनि पक्षपाती हुन्छ।' शक्ति सन्तुलन समावेशी हुनुपर्छ, त्यसपछि मात्र विभेद अन्त्य हँुदै जान्छ भन्ने उनको ठम्याइ छ। परिवर्तन बिस्तारै हुने कुरा हो। वर्तमान अवस्था हेर्दा नेपालका शक्ति केन्द्रहरूमा उपल्लो जाति मात्र हाबी भएको उनको बुझाइ छ। 'यो अवस्था केही वर्ष पछि हट्नेछ।'
उनी जन्मिएको जर्मनी र युरोपेली मुलुकहरूमा पनि विभिन्न किसिमका विभेद नभएका होइनन। त्यहाँ जातीय विभेदभन्दा बढी वर्गीय असमानता छ। भलै नेपालमा जस्तो 'स्ट्रोङ' छैन। त्यहाँ धनी र गरिबबीचको असमानता वा खाडल निकै कम भेटिन्छ। 'युरोपतिर गरिबहरू नभएका भने होइनन्', आन्नेले भनिन्, 'मध्यमवर्गीय बढी छन्।' नाटक क्षेत्रमै रहनु, काम गर्नु, अनि नाटकबाटै सामाजिक रूपान्तरण खोज्नु उनको विशेषता हो। आन्ने कचहरी नाटकबाट सामाजिक रूपान्तरण हुने कुरामा विश्वास गर्छिन्।
नेपालमा कचहरी नाटकको बढ्दो लोकप्रियताले उनलाई औधी खुसी तुल्याउँछ। नेपालको परिपे्रक्ष्यमा अन्य विधाको तुलनामा नाटक शक्तिशाली देखिन्छ। समाजमा छलफल चलाउने राम्रो उपाय हो- कचहरी नाटक। नाटकलाई मनबाटै बुझ्न सजिलो हुन्छ। यसमा समाजका सबै तह र तप्काले भाग लिन सक्छन्। 'नेपालमा नाटकप्रति धेरैको चासो छ,' आन्नेले भनिन्- 'अन्य मुलुकमा यस्तो छैन।'