दुई दिनपछि पुरस्कार प्राप्त गर्न निर्धारित प्रशासनिक शुल्कबापतको २३ लाख ६७ हजार २ सय रुपैयाँ उनले नेपाल तथा बैंककका भनिएका व्यक्तिको अस्थायी खाताहरूमा जम्मा गरे। उनी दुई पटक विदेशी बैंकको र एकपटक नेपालस्थित किस्ट बैंकको खातामा रकम डिपोजिट गरेर ढुक्क थिए। व्यक्तिगत मोबाइलमा सन्देश आएपछि मनमा चिसो पस्ने कुनै आधार पनि थिएन।
दुई वर्ष नर्वेमा बसेर आएका ती व्यक्ति पुरस्कार राशि प्राप्त गर्न व्यग्र थिए। यही क्रममा थप १० लाख रुपैयाँ माग गरिएपछि उनी संशकित भए। उनले प्रहरीलाई गुहारे। ई-मेलको आईपी (इन्टरनेट प्रोटोकल) ठेगाना पत्ता लागेपछि प्रहरी र पीडित दुवै चकित भए। उनलाई नेपालबाटै इमेल गरिएको रहेछ। कम्प्युटर नेटवर्कमा प्रयोग गरिने मोबाइल, ल्यापटप तथा पि्रन्टरमा अनिवार्य रूपमा राखिने उक्त विशेष नम्बरका कारण ठगीको पोल खुल्यो। यस्तो नम्बरबाट सहज ढंगले ठगसम्म पुग्न सकिन्छ।
पहिले पनि डाँका र ज्यान मार्ने उद्योगमा कैद सजाय पाएका ललितपुर इमाडोलका केदार खत्रीले नाइजेरियाका आयात-निर्यात व्यापारी फेमी इमान्युबल अजबेडेसँग मिलेर उक्त ठगी गरेका थिए। पीडितले किस्ट बैंकको जुन खातामा रकम जम्मा गरेका थिए, त्योचाहिँ खत्रीकै थियो। खत्रीको विस्तृत विवरण र पृष्ठभूमि खोतलेपछि रहस्यबाट पर्दा हट्यो। उनले कारागारमै रहँदा एक नाइजेरियाली बन्दीबाट साइबर ठगी कला सिकेका थिए। छुटेपछि उनले १० वर्षदेखि परिचित नेपाल आउजाउ गर्ने रेडिमेड कपडाका अफ्रिकी व्यापारी अजबेदेसँग मिलेर ठगीको नयाँ धन्धा सुरु गरेका रहेछन्। थुप्रै मानिस यस्तो ठगीमा परे पनि सामाजिक लोकलाजका कारण प्रहरी समक्ष नपुग्ने कुरा यो घट्नापछि नै खुलासा भयो।