प्रहरीको अनुसन्धान बन्द भएको थिएन। हत्या भएको ५ वर्षपछि २०७१ असार १६ गते साँझ सुरज पक्राउ परे। 'सुराकीका आधारमा पक्राउ गरिएको हो' बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सुशील राठौरले भने, 'अपराध धेरै दिन लुक्न सक्दैन। ढिलो चाँडो देखा पर्छ।' गुप्त रूपमा परिचालित प्रहरी टोलीले सुरजलाई फेला पारेलगतै हत्यामा अन्य तीन जनाको संलग्नता पत्ता लागेको थियो। प्रहरीले कोरियनपुरका दुई र सीतापुर बस्ने एक जनालाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ। तीनै जना अहिले फरार छन्।
२०५७ कात्तिक ४ गते इन्द्रपुरका एक जना व्यक्तिको हत्यापछि फरार अग्नु कुर्मी १४ वर्षपछि ०७० पुस ९ गते पक्राउ परे। 'लामो समयपछि पनि उसको अपराध लुक्न सकेन,' प्रहरी नायव उपरीक्षक राठौरले भने। फरारहरू पनि छिट्टै पक्राउ पर्ने उनले विश्वास व्यक्त गरे। ०६९ असोज २८ गते राप्ती नदी पूर्वको नरैनापुर-२ का दिनेश कलवारको हत्यामा संलग्न अर्का एक जना पनि एक वर्षपछि पक्राउ परेका छन्। कलवारको हत्या गरी फरार मटेहिया-८का ३४ वषर्ीय राजेश तमौलीलाई प्रहरीले ०७० असार १८ गते पक्राउ गरेको हो। बाँकेमा ०७० पुसयता ७ महिनामा हत्यामा संलग्न ३ जना पक्राउ परेका छन्।
२०६९ साल पुस २ गते नौवस्ता-२ का २३ वषर्ीय तेजबहादुर रोकायको हत्या प्रयासमा संलग्न एक जना १४ महिनापछि ०७० माघ १९ गते पक्राउ परे। जिल्लामा सबैभन्दा बढी ०७० पुस ६ गते हत्या प्रयासमा संलग्न ५ जना पक्राउ परे। जिल्ला प्रहरीका अनुसार महादेपुरी-८ का सूर्यबहादुर खड्कालाई चिरपट दाउराले हानेर मार्ने उद्योग गरेको आरोपमा सोही गाउँका१९ देखि २२ वर्षका ५ जना युवा पक्राउ परेका थिए।
बाँके जिल्लामा बितेका ७ महिनामा ९ जनाको हत्या प्रयास भएको छ। ती घटनामा संलग्न १९ जनालाई प्रहरीले 'कर्तव्य गरी ज्यान मार्ने उद्योग' अन्तर्गत कारबाही चलाएको छ। असार ३१ गते राति नेपालगन्जमा एक व्यक्तिको निर्मम ढंगले हत्या भयो। त्यो पनि प्रहरी बिटबाट सय मिटरको दूरीमा।
त्रिवेणी मोड उत्तर न्युरोडमा निर्माणाधीन घरको छतमा काटेर हत्या गरिएका युवा र संलग्नहरूको पहिचान गर्न सकेको छैन। हत्या गरिएका ती युवाको पाइन्टमा केही भारतीय रुपैयाँ फेला परेको थियो। यस आधारमा ती युवालाई आफन्त वा साथीहरूले योजनाबद्ध ढंगले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसअघि पनि नेपालगन्जमा एक जनाको लास फेला परेको थियो। उक्त शवको पनि पहिचान खुल्न सकेको छैन।