'बे-बेनिफिसियल भेन्चर मार्केटिङ प्राइभेट लिमिटेड'का नाममा-२०१२ को नोभेम्बरतिर लखनउको गोमतीनगरमा खुलेको यो नेटवर्किङले मध्यपश्चिमका गाउँघरसम्म एजेन्ट राखेर लखनउमा ग्राहक ओसार्ने र केही दिनको आन्तरिक प्रशिक्षणपछि सदस्य बनाउने गरेको पाइएको छ। पवित्रा राई र सुरजसिंह विष्ट निर्देशक रहेको वेबसाइटमार्फत हुने नेटवर्किङ बिजनेसमा कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्यूठानका हजारौं सर्वसाधारण झुक्किँदै लखनउ पुगिसकेको पीडितहरूले बताएका छन्।
'म ९ पटकजति लखनउ गएँ, मीठा कुरा गर्ने र सपना देखाउने काममा यो नेटवर्किङ सबैजना पोख्त छन्,' कपिलवस्तुको चनौटाकी एक सदस्य रचना खड्काले फोनमा भनिन्— 'एउटै समूहमा २०/२५ जना नयाँ ग्राहक त्यहाँ पुग्ने गरेका छन्।' चनौटा बजारमै आफन्तकोे सिलाइ पसलमा सानोतिनो काम गरेर गुजारा चलाइरहेकी शान्ति बूढामगर तथा उनका भाइ सोमकुमार बूढा पनि त्यही भ्रममा परेर लखनउ यात्रामा गए र जनही ७० हजार रुपैयाँ तिरी 'मेम्बर' बनेर घर फर्किए। जसले जति छिटो अरु 'मेम्बर' बढाएर ल्याउँछ, उसले दोब्बर-तेब्बर रकम पाउने विश्वास दिलाइएको थियो। यसरी विश्वास दिलाउन लिइने एक साता लामो प्रशिक्षणमा ३ सयभन्दा बढी नेपाली रहने लखनउ पुगेर र्फकनेहरूले बताएका छन्।
'एकजनालाई ग्राहक बनाएपछि मेसिनमा कार्ड हाल्नासाथ ८ हजार भारुसम्म मुनाफा पाइन्छ, अरु ग्राहक बनाएबापतको हिसाब बेग्लै हुन्छ भनियो,' महेन्द्रनगरबाट अर्का एक पीडितले फोनमा भने। सरकारले २ वर्षअघि कारबाही गरेको नेटवर्किङधन्दा युनिटी लाइफकै केही 'पार्टनर' समेत बे-बेनिफिसियल भेन्चर मार्केटिङमा संलग्न रहेको पीडितहरूले बताएका छन्। यसमा सदस्य बन्नेलाई सामान्य सर्ट-पेन्ट पनि १० हजार भारु मूल्य तिरेर अनिवार्य रूपमा किन्न लगाइने उनको आरोप छ।
उत्तर प्रदेशमा दर्ता गरेपनि नेपाली ग्राहक मात्र सदस्यका रूपमा लिनाले लखनउस्थित स्थानीय प्रहरी/प्रशासनमा बे-बेनिफिसियल भेन्चर मार्केटिङको 'नेटवर्किङ बिजिनेस' का सम्बन्धमा कुनै सूचना पुग्न सकेको छैन। 'किनभने यसमा भारतीय नागरिक ठगिएको आधार र प्रमाण कतै भेटिँदैन,' रूपन्देहीको जिल्ला प्रशासनमा कार्यरत तथा लखनउ-नेटवर्किङबाट ठगिएका एक पीडितले भने— 'ठगिनेहरूको उजुरीकोसुनुवाइ कतैबाट पनि भएको छैन, अब कूटनीतिक तवरबाट यो नेटवर्किङ-बिजिनेसका सम्बन्धमा सचेत गराउनुपर्ने देखिन्छ।'