बुद्ध, सगरमाथा र नेपाललाई शब्दचित्रमा उल्लेख्य ढंगले समावेश गरी अन्तिम राउन्डमा सटिक जवाफ दिन सफल किशोरी आश्मा थापा क्षेत्रीले मिस टिन हेटौंडा उपाधि हात पारेकी छिन् । हेटौंडामा कात्तिक १५ गते आयोजित अन्तिम प्रतिस्पर्धामा थापाले बुद्धलाई विश्व शान्तिको प्रतीक, सगरमाथालाई विश्वले चिन्ने सर्वोच्च शिखर तथा नेपाललाई शान्तिभूमिको संज्ञा दिएकी थिइन् । दुई महिनादेखि विभिन्न चरण पार गर्दै आएको प्रतियोगितामा सहभागी १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै आश्माले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत आश्माले मिस नेचुरल ट्यालेन्ट टाइटल सहित दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पनि जुटाएकी छिन् । प्रतियोगितामा फस्ट रनर्सअप कञ्चन श्रेष्ठ तथा सेकेन्ड रनर्सअप सुनिता दर्नाल घोषित भए । दुवैले एक-एकवटा म्युजिक भिडियोमा कला देखाउने अवसर पाउने आयोजक बालछाहारी नेपालका अध्यक्ष सुविम विक्रम भारतीले बताए । अन्तिम प्रतिस्पर्धामा बेस्ट ड्रेस र पर्सनालिटीको उपाधि सिना स्याङ्तान पाइन भने फस्ट रनर्सअप कञ्चनले मिस फ्रेन्ड्लीको उपाधि पनि हात पारिन् । प्रतियोगितामा अमन्ती बानियाँ, प्रकृति पौडेल, एलिसा उपाध्याय, जिना तामाङ, रीता मर्हजन, सृष्टि राना, आशिका वाइबा तथा बिनिता नेगी विभिन्न विधामा पुरस्कृत भएका थिए ।