खासमा उनी पोखरीमा माछा हेर्न आउनेहरूलाई माछाको दाना बेच्छन् । दाना हालेपछि दसौं किलोका माछा उफ्रँदै खानेकुरा खान आइपुग्छन् । सङ्लो पानीमा दाना खान ओइरिने माछाको क्रियाकलाप निकै आकर्षक हुन्छ । यमबहादुरको परिवार त्यही दाना बेचेर चलेको छ । २०५३ सालमा पोखरी सफा गर्ने ठेक्का यिनै यमबहादुरले लिएका थिए । ठेक्कामा घाटा लाग्यो । उक्त पीडा बुझेका नगरपालिकाका पदाधिकारीले उनलाई दाना बेच्ने एकाधिकार दिए । यसलाई ठूलो गुन मान्छन् उनी । त्यस यताका १८ वर्षमा पोखरीमा उनले अनेक कुरा देखे, महसुस गरे । उनले देखेका मध्ये केही विवरण साप्ताहिकलाई सुनाए । जुन रोचक मात्र थिएन, त्यसमा जीवन दर्शन पनि थियो ।
एक
'सिद्ध पोखरी जबदेखि नयाँ रुपमा आयो, यसलाई प्रेमपोखरी भन्न थालियो । हुन पनि यहाँ माछाको रमिता हेर्ने त निकै थोरै आउँछन्, अरुलाई रमिता देखाएर रमाइलो मान्नेहरू धेरै आउँछन् । बिहान मर्निङ्वाक गर्दै एक थरी जोडी आउँछन् । कानमा एयरफोन लगाएका जोडीहरू पोखरीमा पुगेपछि कानको लठोरो झार्छन् । आफ्नो जोडीसँग मुख जोड्न थाल्छन् । चप्प-चप्प एक अर्काको मुख जोडी स्वाद मानेर एक अर्काको जुठो खान थाल्छन् । दिउँसो पनि यहि काम हुन्छ । साँझ त कुरै नगरौं, हेर्नै सकिँदैन । कहिलेकाही प्रहरी आएर उनीहरूलाई भगाउँछन् । प्रहरी गएपछि फेरि त्यस्तै हुन्छ । पहिले त लाज लाग्थ्यो, हिजोआज रमाइलो लाग्छ । हाम्रो पालामा केटा र केटीले यस्तो मुख जोड्ने चलन थिएन । पहिले-पहिले यिनीहरूले के गरेका हुन् बुझ्दिनथेँ म । सोधखोज गर्दा थाहा भयो, प्रेम परेका आजकलका ठिटा ठिटी यसरी मुख जोडेर एक अर्काको जिब्रो चुस्छन् रे । के स्वाद आउँदो हो ? म त छक्कै पर्छु ।
सिद्ध पोखरीनजिकै भक्तपुर बहुमुखी क्याम्पस छ । दिउँसो कलेज जान्छु भनेर हिँडेका धेरै केटाकेटी कलेज नगई यही पोखरीमा आउँछन् । पहिले लजाउँदै टाढा-टाढा बस्छन् । केही महिनापछि नजिकै बसेर गुनगुन गुनगुन गर्छन् । केही महिनापछि हात समाउँछन् । पुरानो भएपछि मुख जोड्न थाल्छन्भने एक वर्ष पनि नबिती झगडा गर्न थाल्छन् । एकछिनमा मुख जोड्ने केटाकेटी एकैछिनमा हात छाड्न थाल्छन् । किन यसो गर्छन् होला ? मलाई अचम्म लाग्छ । उनीहरूले झगडा गरेको देखेर सम्झाउन मन लाग्छ तर तँ बूढोलाई के मतलब भन्लान् भनेर चुप लाग्छु । धेरै पटक यसरी झगडा गर्दा केटा वा केटी पोखरीमा खसेका छन् । हामीलाई भने बचाउँदाको सास्ती । आत्महत्या गर्छु भनेर पोखरीमा हामफाल्दा रहेछन् र केटाहरूलाई घुक्र्याउँदा रहेछन् ।'
दुई
केटाकेटी यसरी छाडा भएको देख्दा मलाई लाग्थ्यो, यी केटाकेटी पैसा धेरै भएर बिगि्रएका होलान् । आमा-बाउले ध्यान नदिएर बिगि्रएका होलान् । कठै बाउआमाले कति दु:ख गरेर पढ्न पठाएका छन्, खर्च गरेका छन् । यिनीहरू यहाँ बेफिक्री भएर मुख जोडिरहेका छन् भन्ने लाग्थ्यो । मेरा दुई छोरा र दुई छोरी थिए । दु:ख गरेर हुर्काएका आफ्ना सन्तान देखेर गौरब पनि लाग्थ्यो । मेरा सन्तान यसरी प्रेम गरेर हिड्दैनन् भन्ने लाग्थ्यो । दु:ख गरेर भए पनि मैले आफ्ना सन्तानलाई असल संस्कार दिएको छु भन्ने लाग्थ्यो ।
होइन रहेछ । मेरै कान्छी छोरी अचानक हराई । पछि पो थाहा भयो, ऊ भक्तपुरको अर्को पोखरीमा यसैगरी प्रेमालाप गर्दी रै'छे । धेरैले उसलाई केटासँग देखेका रहेछन् । उसले विवाह गरी, मलाई थाहै दिइन । बाउले जसरी मेरो विहे गरिदिएका थिए, त्यसैगरी छोराछोरीको विवाह गरिदिने रहर थियो । तीन सन्तानको विवाह गर्न बाँकी थियो, कान्छी अचानक हिँडिदिई । त्यसपछि मलाई थाहा भयो, हरेक बाउ आमालाई आफ्ना सन्तान ठिक बाटोमा हिँडिरहेका छन् भन्ने लाग्छ । छोराछोरी भने यसैगरी एकान्तमा मुख जोड्दा रहेछन् ।
तीन
जब कुनै केटा आफ्नी प्रेमीका सँग हिड्छ, त्यो बेला केटाले आफूलाई निकै ठूलो मान्छे मान्दो रहेछ । केटीका सबै कुरा पुर्याइदिन्छु भन्दो रहेछ । यो कुरा मैले बुझेको छु र यहाँ रहेका ८-१० जना माग्नेहरूले पनि बुझेका छन्, उनीहरू १२ वर्ष मुनिका छन् । उनीहरू यस्ता जोडी देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र भोक लाग्यो भन्छन् । पहिले उनीहरू १ रुपैयाँ माग्थें । केही वर्षपछि माग्नेको रेट ५ रुपैयाँ पुग्यो । हिजोआज उनीहरू १० रुपैयाँ माग्छन्, मागेरै उनीहरूको जीवन चलेको छ ।
कतिपय केटाहरू पैसा दिन मान्दैनन् । यस्तो बेलामा माग्नेहरू केटीको खुट्टा समाएर रुन्छन् । (साँच्चै रोएका होइनन्, अभिनय गरेका हुन्) खुट्टा समाएर रोएपछि केटीको मन पग्लन्छ । उनीहरू आफ्नो प्रेमीलाई पैसा दिन आग्रह गर्छन् । यसरी केटीका अगाडि सान देखाउन पनि केटाले माग्नेलाई पैसा दिन्छ । यस्ता माग्नेहरूले दिनको ३ सयदेखि ४ सय रुपैयाँसम्म कमाउँछन् । उनीहरूको आम्दानी मेरो भन्दा बढी छ । कहिलेकाहीँ प्रहरी आएर माग्नेहरूलाई भगाउँछन्, भोलिपल्टैदेखि फेरि उस्तै ।