नेपाल जेसिजको स्वर्ण महोत्सवको अवसरमा झापाका ११ वटा शाखा जेसिजले संयुक्त रूपमा आयोजना गरेको 'जेसिज गायन प्रतियोगिता' को उपाधि काँकडभिट्टाका साई किरण लम्सालले प्राप्त गरेका छन् । धुलाबारीको इस्ट होराइजन उच्च माविका विद्यार्थी लम्सालले भजन शिरोमणि भक्तराज आचार्यको बहुचर्चित गीत 'मुटु जलिरहेछ......' गाएर सबैलाई मन्त्रमुग्ध तुल्याएका थिए । लम्साललाई विजेता घोषित गर्दै मुख्य निर्णायक खरेलले लम्सालको गायन कला उत्कृष्ट भएको बताए । उक्त अवसरमा बिर्तामोडकी अस्मिता विश्वकर्मा तथा धुलावारीका अनुराग घिमिरे क्रमश: दोस्रो र तेस्रो घोषित भए । अक्सर कन्सर्ट तथा महोत्सवहरूमा गीत सुनाउन आउने गायक प्रमोद खरेल यसपटक निर्णायक बन्न गृहजिल्ला आएका थिए । यद्यपि उनले त्यहाँ आधा दर्जन गीत पनि सुनाए ।