साप्ताहिक संवाददाता
कस्ता-कस्ता पर्यटक
डेढ दशकसम्म उनले देश-विदेशका पर्यटकको रातोदिन सेवा गरे । प्रत्येक पर्यटकले बुद्धि र ज्ञान दिएर गए । तैपनि उनले थोरै मात्र लिन सके । 'गोराहरू धेरै शान्त, न होहल्ला गर्छन् न धेरै गुनासो गर्छन्, न त धेरै पैसा नै खर्च गर्छन् ।' रामबहादुरको विदेशी पर्यटकहरूप्रतिको धारणा छ, 'एउटी गर्लफ्रेन्ड च्याप्यो, थोरै खर्च गर्यो र संसार घुम्यो । बाँच्न त यिनले पो जानेका छन् जस्तो लाग्छ ।'
त्यसको ठीक विपरीत भारतीय ग्राहक हल्ला धेरै गर्छन्, पैसा पनि धेरै खर्च गर्छन् । टिप्स पनि धेरै दिन्छन् । रामबहादुर भन्छन्, 'मलाई विश्वमा सबैभन्दा धनी भारतीय नै पो छन् कि भन्ने लाग्थ्यो । धेरै वर्षसम्म मलाई त्यस्तै लागिरह्यो । हिजोआज गोराजस्तै युवा भारतीयहरू आउन थालेपछि मात्र बल्ल थाहा पाएँ, थोरै पढेका तर पैसा हुनेहरू मात्र कहिलेकाहीँ घुम्न निस्कन्छन् र त्यस्ता मान्छे बेहिसाब खर्च गर्छन् । मान्छे जति लेखापढा भयो, उनीहरू मनका उत्तिकै गरिब हुँदै जाँदा रहेछन् ।'
नेपाली पर्यटकका बारेमा रामबहादुरको धारणा सकारात्मक छैन । धेरैजसो नेपाली युवती च्यापेर मात्र नगरकोट पुग्छन् । सुन्दर हिमाल र वातावरण देखेर खुसी हुँदैनन्, बरु रक्सीको मात लाग्न थालेपछि उनीहरूको खुसीको मात्रा बढ्दै जान्छ । त्यसपछि उनीहरूको आवाज र होहल्ला बढ्दै जान्छ । जति मात चढ्दै जान्छ, त्यति नै मात्रामा अन्य पर्यटकलाई डिस्टर्ब हुँदै जान्छ । 'म आफैंले धेरै पटक नेपाली पर्यटकलाई हल्ला नगरिदिनुस्, अन्य पाहुनालाई डिस्टर्ब हुन्छ भनेर हात जोड्नुपर्छ ।' त्यसैले नगरकोटमा नेपालीहरूका लागि स-साना कटेज बनाइएका छन् । राम्रा रिसोर्टले नेपालीलाई सकेसम्म राख्न मान्दैनन् । रामबहादुर भन्छन्— 'नेपाली पर्यटकहरूका लागि भिन्दै रिसोर्ट बन्न थाल्नु खुसीको कुरा होइन, यसले हाम्रो संस्कार कस्तो हुँदैछ भन्ने बताउँछ ।'
कस्ता-कस्ता युवती
नगरकोट युवती लिएर आउने थलो भएकोमा रामबहादुर दु:खी छन् । बितेका डेढ दशकमा उनले थरी-थरीका युवती देखे, थरी-थरीका व्यवहार पाए । कति युवती त पछि श्रीमतीका रूपमा हनिमुन मनाउन आएको पनि देखें । 'म जस्ता ठाउँमा छु, त्यहाँबाट हेर्दा सबै युवती पुरुषका खेलौना हुन् कि जस्तो पो लाग्छ ।' थरी-थरीका युवतीका बारेमा बयान गर्दै रामबहादुरले भने, 'कलेज पढ्ने युवतीहरू ४०-५० वर्षका पाका पुरुषहरूसँग यहाँ आउँदा सुरु-सुरुमा त अचम्म लाग्थ्यो । पछि बानी पर्दै गएँ । एउटै पुरुषले प्रत्येक महिना फेरी-फेरी युवती ल्याउँछन् । यस्तो देख्दा लाग्छ, नेपालमा पनि धनी मानिस धेरै रहेछन् ।'
रामबहादुरको विचारमा भर्खरका युवती पनि दुई थरीका हुन्छन् । केही युवती पहिलो पटक पैसाको लोभमा नगरकोट आउँदा रहेछन् । उनीहरूलाई पाका पुरुषहरूले फकाई-फकाई रक्सी ख्वाउँछन् । यस्ता युवतीहरूको आँखामा त्रास र भविष्यप्रति चिन्ता देखिन्छ । 'जब म रक्सी सर्भ गरिरहेको हुन्छु, त्यति बेला मलाई ती युवतीको निकै माया लाग्छ । तैपनि केही भन्न सकिँदैन ।' रामबहादुर भन्छन्, 'पाहुनाले ल्याएकी केटीका बारेमा केही भन्न पनि मिल्दैन, हाम्रो काम नै आएका ग्राहकलाई बढीभन्दा बढी सुविधा दिनु हो । उनीहरूलाई डिस्टर्ब गर्नु होइन ।' त्यस्ता युवतीहरू भोलिपल्ट बिहान रोइरहेका हुन्छन् । उनीहरू छिटो काठमाडौं जाऊँ भनेर कर गरिरहेका हुन्छन् ।
दोस्रो वर्गका युवतीचाहिँ व्यवसायिक वर्गका हुन्छन् । यस्ता युवतीहरू रात पर्दै गएपछि पुरुषहरूसँग थप पैसा मागिरहेका हुन्छन्, घुक्र्याइरहेका हुन्छन् । ब्रान्डेड रक्सी र नयाँ-नयाँ खानेकुराको अर्डर गरिरहेका हुन्छन् । 'बिहान लोग्नेमान्छेको अनुहार नुहेको हुन्छ तर केटी अझ ताजा देखिन्छे ।' रामबहादुर भन्छन्, 'रातभरिमा लोग्नेमान्छे कंगाल भैसक्छ, युवतीहरू मालामाल भैसक्छन् ।'
त्यसो त भर्खरै प्रेम गरेका युवा-युवती पनि रमाइलोका लागि नगरकोट नपुग्ने होइनन्, तर त्यस्ता जोडी विवाहपछि आएको रामबहादुरले अहिलेसम्म देखेका छैनन् । बरु प्रेमीले अर्कै प्रेमिका र प्रेमिकाले अर्कै प्रेमी लिएर आएको भने धेरै पटक देखेका छन् । 'हाम्रो त एउटीसँग विवाह भयो, उसैसँग जीवन चलिरहेको छ । अरूले त्यसरी युवती फेरेको देखेर अचम्म लाग्छ ।' कुराकानीको अन्त्य गर्दै रामबहादुरले भने, 'यो खाना मन नपरे अर्को खाने र यो लुगा मन नपरे अर्को लुगा त ठीकै होला, केटा वा केटी नै फर्नुचाहिँ अचम्मकै कुरा हो ।'