साप्ताहिक संवाददाता
कथा-१
निरु जन्मदा उनको स्याहार गर्ने तीनवटी धाई आमा थिए । चार जना काम गर्ने मान्छे थिए । जन्मिएको ३ वर्षसम्म उनले खाली भुइँ देख्न पाइनन् । महँगा विदेशी कार्पेट तलदेखि माथिसम्म ओच्छ्याइएका हुन्थे । विदेशी तेलले उनको मालिस हुन्थ्यो । त्यो बेला थोरै मात्र धनी-मानीले तातो-चिसो पानी प्रयोग गर्थे । उनलाई धारामा चिसो पानी मात्र आउँछ भन्ने कुरा धेरै पछि मात्र थाहा भयो ।
उनका बुवा तिब्बतका व्यापारी थिए । न्युरोडको भेडासिङमा घर थियो । न्युरोडको मुख्य बजारमा उनका बुवाको पसल थियो । दैनिक हजारौं आम्दानी हुन्थ्यो । जुन उनकी आमाले राख्थिन् । निरु भन्छिन्, 'मैले देख्दा दराजभरि नोटको थाक हुन्थ्यो । अहिले त सपना हो कि जस्तो लाग्छ ।'
आज उनका बुवा र कन्छी आमा एउटा साँगुरो डेरामा आफ्नो बुढौली जीवन काटिरहेका छन् । रोगले थलिए पनि उपचार खर्च छैन । उनका भाइ विदेश जान ऋण खोजिरहेका छन् । 'कसरी त्यत्रो पैसा सकियो बुवा भन्नुहुन्न । कुरा निकाल्यो भने रुन थाल्नुहुन्छ ।' निरुले भनिन्, 'म हुर्कने क्रममा पैसा सकिँदै गयो । पछि त कस्तो अवस्था आयो भने राजा वीरेन्द्रको सिफारिसमा मैले गरिबलाई दिइने छात्रवृत्तिमा कान्ति ईश्वरी विद्यालयमा पढ्नुपर्यो ।
कथा-२
निरुभन्दा माथि दुई दाइ थिए । उनीहरू त्यो बेला पनि महँगो स्कुलमा पढ्थे । सबैभन्दा महँगो साइकल चढ्थें । महँगै पहिरन लगाएका हुन्थे । उनीहरूको खाने सोख पनि ठूलै थियो । त्यस्ता दुई दाइलाई के रोग लाग्यो कुन्नी, एक वर्षको अन्तरालमा साधारण व्यथा मै उनीहरू मरे । अस्पतालमा साधारण रोग भनेर भर्ना गरिएको थियो, तर बाँचेनन् । त्यो बेला घरमा अरू छोरा थिएनन् । एक वर्षको अन्तरालमा त्यत्रो सम्पत्तिका भावी मालिकको देहान्त भएपछि घर शोकमा डुब्यो ।
त्यतिले पुगेन । निरुकी दिदी पनि त्यसको केही समयपछि खसिन् । उनलाई पनि के रोग लाग्यो, थाहा हुन सकेन । लगातार तीन जनाको देहान्त हुँदा निरु सानै थिइन् । निरुलाई पनि कालले लाने हो कि भनेर आमा-बुवा डराए । सन्तानको कमी हुन नदिन लगातार एक भाइ र बैनी जन्माए । कान्छी बैनी त जन्मिन् तर ६ दिनकी सुत्केरी आमाले संसार त्यागिन् । खानामा केही कैफियत भएको महसुस भएपछि काम गर्ने मान्छेलाई पक्राउ गरियो । पोस्टमार्टम पनि गरियो तर दोषी कोही देखिएन । हेर्दा हेर्दै एउटै घरमा चार जनाको मृत्यु भएपछि उनका बुवाले छ दिनकी छोरीलाई अर्कै नि:सन्तानको जिम्मा लगाइदिए । ४ जनाको मृत्यु बेहोरेका उनका बुवाले व्यापार छाडिदिए । उनी रोगले थलिन थाले । उनीहरूको फूलबारी जस्तो घर उजाड हुँदै गयो ।
कथा-३
बुवाले अर्की आमा विवाह गरे । पढाइ छुटाएर सानैमा निरुको विवाह गरिदिए । निरु जति हुर्कदै गइन्, उनलाई छ दिनकी बहिनीको सम्झना आउन थाल्यो । उनी न्युरोड क्षेत्रमा आफ्नी बहिनी भेटिहाल्छिन् कि भनेर खुब खोज्थिन् तर भेट्न सक्दिनथिन् । उनले करिब २० वर्ष आफ्नी बहिनीको खोजी गरिन् । ठूलो शोकका बेला आफ्नी नवजात शिशु कसलाई दिएँ भनेर बुवाले पनि सम्झन सकेनन् । छिमेकीले पनि त्यो बेला यही मान्छेले छोरी लिएर गएको हो भन्ोर ठम्याउन सकेनन् ।
यद्यपि निरुले हिम्मत हारिनन् । बरु प्रहरीमा रिपोर्ट गरिन् । पशुपति र बौद्धनाथ धाइन् । धामी-झाँक्री सबै पुकारिन् । उनको परिवार आफैं झाँक्री बोलाउन सक्ने थियो । उनी आफै झाँक्री बोलाउन सक्थिन । त्यसैले पनि आफ्नो घरमा घटेको घटनामा अदृश्य शक्तिको अस्तित्व स्वीकार गर्न बाध्य भइन् उनी । तै पनि उनको बहिनीको पत्तो लाग्न सकेन ।
यसबीचमा सात दोबाटोमा 'जल खाने घर' का बारेमा सुनिन् । जल खाने घरमा पुगे मनले चिताएको पुग्छ भन्ने सुनेकी निरु त्यहाँ नजाने कुरै थिएन । त्यहाँका जापानी गुरु हिरोकाजुले छाडेको 'जल घर' मा पुगेर ध्यान गर्दा उनले आफ्नी बहिनीलाई देखिन् । त्यहीअनुसार खोजी गर्दै जाँदा बहिनी फेला परिन् । 'मानिसहरू अध्यात्ममा विश्वास गर्दैनन्, त्यही भएर फल प्राप्त गर्न सक्दैनन् ।' निरुले भनिन्, 'बहिनीलाई २२ वर्षपछि भेटेका कारण अध्यात्ममा मेरो विश्वास अझ बढेको छ ।'