१० गुणा १२ को कोठामा हालिएको पलङमा १० देखि १२ जना कोच्चिएर बस्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। स्थानीय सुरक्षा गार्डहरूले धोका दिँदा लगातार ३६ देखि ९६ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता सिर्जना हुने डंगोलको अनुभव छ। आधारभूत रूपमा ८ घण्टा ड्युटी भए पनि साधारण ओभरटाइम ४ घण्टा हुन्छ। कतै-कतै कम्पनीले बेसिक तलबभन्दा निकै कम तलब दिने गरेको उनको अनुभव छ। मासिक ९ सय रिंगिटमा काम गर्दा ४ सय पनि जोगाउन नसकिने डंगोलले बताए।
मलेसियाको अर्काे समस्या असुरक्षा पनि हो। त्यहाँ प्राय: स्थानीय मलय, आप्रवासी भारतीय, बंगाली, इन्डोनेसियाली आदि नागरिकसँग मिलेर नेपालीहरू पनि कुटपिट र लुटपाटमा संलग्न हुने गरेका छन्। मलेसियामा आप्रवासी कामदारलाई सञ्चयकोष सुविधा दिने चलन छैन। दलाल र एजेन्टहरूका गुलिया कुरामा भुलेर नेपालीहरू विचल्लीमा पर्ने डंगोल बताउँछन्। सन् २००८ सम्म मलेसियामा यदाकदा मात्र एजेन्ट थिए, तर अहिले साना ठूला सबै सहरमा नेपाली एजेन्टहरू गएर श्रमिक आपूर्तिको ठेक्का खोज्दै हिँड्ने गरेको पाइन्छ।
चितवन टाँडीका निराजन घिमिरे हाल मलेसियाको गुड इयर मलेसिया बर्नहार्ड कम्पनीमा कार्यरत छन्। दुई वर्षअघि त्यहाँ पुगेका घिमिरे कैयांै नेपालीले मासिक २०/२५ हजार कमाउन निथ्रुक्क पसिनाले भिजेर गधाझंै जोतिनुपरेको बताउँछन्। हाल मलेसियामा वैध/अवैध गरी करिब ७ लाख नेपाली रहेको तथ्यांक छ। एक-दुई जनाले राम्रो कमाए भन्दैमा मलेसियामा राम्रै-राम्रो छ भनेर प्रचार गर्न नहुने घिमिरेको अनुभव छ। 'करिब ७ लाख नेपाली युवाको रगत पसिना बग्ने मलेसियामा औंलामा गन्न सकिने केहीको पारिश्रमिकलाई आधार बनाएर मलेसियामा राम्रो छ भनेर प्रचार गर्न मिल्दैन,' उनले भने।
'मलेसियामा दैनिक लुटिने, कुटिने, ठगिने र मारिने, मलेसियाको जंगलमा महिनौं भोको पेट भौतारिने, श्रम शोषणमा पर्ने नेपालीहरू समाचार बन्दैनन्, तर थोरै लागतमा राम्रो पारिश्रमिक भनेर प्रचार गरिन्छ,' घिमिरे भन्छन्। मलेसियामा विदेशी कामदारको कुनै मूल्य नभएको उनी बताउँछन्। 'सँगै काम गर्ने अरूले २५ सय ३ हजार थाप्दा हामी मुख निन्याउरो बनाएर ९ सय रिंगिट थाप्न बाध्य छौं,' घिमिरेले बताए। मलेसियामा नेपाली कामदारहरूको उद्धारका लागि संचारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने घिमिरेको तर्क छ।
मलेसियामा करिब एक हजार नेपाली परिवार मलेसियन नागरिकका रूपमा बसोबास गरिरहेको बताइन्छ। त्यहाँको सेलांगर राज्यको खाड भन्ने ठाउँमा नेपालीहरूको ठूलो बस्ती छ। मलेसियामा विशेषत: इन्डोनेसिया, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, फिलिपिन्स, भियतनाम, कम्बोडिया आदि मुलुकका नागरिक श्रमिकका रूपमा कार्यरत छन्।
ध्यान दिनुपर्ने कुरा
- म्यानपावर कम्पनीसँग सम्झौता गर्दा राम्रोसँग बुझेर/पढेर मात्र सम्झौता गर्नुपर्छ। नेपाल सरकारले मलेसिया जानका लागि ८० हजार रुपैयाँ लागत तोकेको छ।
- मलेसिया जानुपूर्व र त्यहाँ बसुन्जेल पासपोर्ट, सम्झौता पत्र, आईडी कार्डजस्ता महत्वपूर्ण कागजात आफैंसँग सुरक्षित राख्नुपर्छ।
- कोही कसैको प्रलोभनमा परी बढी तलव सुविधा पाइन्छ भनेको भरमा भारतीय विमानस्थलबाट जानु हुँदैन।
- केही मलेसियन रिंगिट पनि साथमा राख्नुपर्छ।
- मलेसियामा कम्पनीसँग सम्झौता गर्दा नेपालमा गरेको सम्झौतासँग मिलेको छ/छैन अथवा सम्झौताअनुसार तलब सेवा सुविधा दिइएको छ/छैन ख्याल राख्नुपर्छ। यदि सम्झौताअनुसार नभएको खण्डमा नेपाली दुतावासमा सम्पर्क गर्नुपर्छ।
- मलेसियामा सुरक्षा अवस्था कमजोर मानिन्छ, त्यसैले आफ्नो जीउधनको ख्याल राख्नुपर्छ।
- आफूखुसी कम्पनी फेर्न पाइँदैन, तर कम्पनीले कामबाट निकालिदिएको खण्डमा औद्योगिक सम्बन्ध विभागमा उजुरी दिन सकिन्छ।
- मलेसियामा विदेशी श्रमिकले मलेसियन वा कार्यरत अन्य व्यक्तिसँग विवाह गर्न पाइँदैन।