निर्णायकले सिठी बजाएलगत्तै दुवै तिरबाट भेडालाई छाडिन्थ्यो, अनि वलिष्ठ भेडाहरू एक-अर्कामाथि जाइलाग्थे। दुवै भेडाको सिङ ठोक्किँदा 'ड्याम्म' आवाज आउँथ्यो। दर्शकहरू उक्त दृश्यको मज्जा लिन्थे र आफ्नो रोजाइका भेडालाई हौस्याउँथे। एउटा भेडा नहारुन्जेलसम्म ती भेडा जुधिरहन्थे।
भेडा मालिकहरू अखाडामा ती भेडालाई मसाज गर्ने, सुमसुम्याउने, तंग्र्याउने पनि आदि काम गर्थे। भेडाको हारजितलाई भेडा मालिक आफ्नो प्रतिष्ठासँग जोड्दै प्राय: खेलैपिच्छे विवाद गरिरहन्थे। कतिपय भेडा मालिक आफ्नो भेडा 'अजेय' रहेको दाबी गर्दै भेडामा बाजी पनि थापिरहेका थिए। मिर्जापुरकै भेडा मालिक असर्फी यादवले सुरुमा आफ्नो भेडालाई हराउने भेडालाई १ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए। आफ्नो भेडाले लगातार जितेपछि उनले उक्त रकम बढाएर २० हजार रुपैयाँसम्म पुर्याए। उनको कालो रंगको करीब ५० किलोको भेडा यो वर्ष सेलिबे्रटी नै बन्यो। विजेता भेडाको मालिकलाई १ हजार नगदका साथै घडी तथा अन्य उपहार प्रदान गरिन्छ।
१२ वर्षयता स्थानीय शिव मन्दिरमा शिवरात्रिका दिन लाग्ने मेलाको अवसर पारेर मिर्जापुर मेला समितिले यहाँ भेडा जुधाउने कार्यक्रम आयोजित गर्दै आएको छ। यो वर्षको भिडन्तमा भारतको बिहार तथा उत्तरप्रदेशका भेडा समेत सहभागी थिए।