हामी सबैको उत्सव, पाल्पा महोत्सव-२०७१ भन्ने नाराका साथ फागुन १ देखि १० गतेसम्म सञ्चालित नवौं पाल्पा महोत्सव सम्पन्न भएको छ । महोत्सवमा ५ करोड बराबरको कारोबार भएको बताइन्छ । महोत्सवमा चौंरीगाई, याक, अष्ट्रिच, गोही, अजिंगर हेर्नेहरू अत्यधिक थिए । महोत्सवको सबैभन्दा ठूलो आकर्षण सांस्कृतिक कार्यक्रम रह्यो । बालबालिका तथा किशोर-किशोरीका लागि बालउद्यान महत्त्वपूर्ण थिए । महोत्सवमा कुँडुले घरभित्रको फोटो प्रदर्शनी, पाल्पाली ढाका कपडा एवं हस्तकला प्रदर्शनीले विशेष महत्त्व पाए । मेलामा स्थानीय लोकसंस्कृति बचाउन स्थानीय कलाकारलाई स्थान दिइयो । महोत्सवमा राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, नवीन पौड्याल, शिरीष देवकोटा, अर्जुन कौशल, पुष्कल शर्मा, पुरुषोत्तम न्यौपाने, आधुनिक गायक शिव परियार, हेमन्त शर्मा, मिलन लामा, राधिका हमाल, सम्झना लामिछाने, श्रीदेवी देवकोटा, कृष्णा गुरुङको प्रस्तुतिले दर्शकहरूलाई तानेको थियो भने एक खुट्टाले नाच्ने रोमा न्यौपानेले नृत्यमार्फत सबैलाई भावुक बनाइन् ।