अमेरिकाको लस भेगासमा केही वर्षदेखि आयोजना हुँदै आएको ‘मिस एसियन लस भेगास’ को यसपटकको संस्करणमा नेपालकी इशा बज्राचार्य पनि प्रतिस्पर्धीका रूपमा उभिएकी छिन् । लस भेगासमा बसोबास गर्दै आएका एसियाली अमेरिकी महिलाहरूमा नेतृत्व क्षमता, मित्रता, कम्युनिटी संलग्नता, प्रतिभा, आत्मविश्वासको अभिवृद्धिका साथै आ–आफ्नो संस्कृति, उपस्थिति, पहिचान र सम्बन्धको प्रवद्र्धन एवं विकासमा सहयोगी हुने अभिप्रायले आयोजना हुँदै आएको मिस एसियन लस भेगासमा अमेरिकी नागरिकता प्राप्त वा ग्रिन कार्ड भएका १५ देखि २६ वर्षसम्मका एसियाली अमेरिकी महिलाहरूले सहभागिता जनाउन पाउँछन् । यस पटकको मिस एसियन लस भेगास–२०१५ मा सहभागी इशा बज्राचार्य लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । यसअघि इशा काठमाडौंमा नेप्लिज फेसन होमको आयोजनामा सम्पन्न पहिलो संस्करणको मिस नेवा:–२००५ का प्रतिस्पर्धीमध्ये एक थिइन् ।