जापानको टोकियोमा महजात्रा सम्पन्न भएको छ । महजात्रामा प्रस्तुत गरिएका प्रहसनले जापानमा बस्दै आएका नेपालीहरूलाई पेट मिचिमिची हँसाउने कार्य मात्र गरेनन्, उनीहरूलाई भावुक र संवेदनशील बनाउँदै देशप्रति चिन्तित पनि तुल्याए । कार्यक्रमको सुरुवातमै वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले व्यंग्यात्मक प्रार्थना र गीत प्रस्तुत गरे, जसमा नेपाली नेता, छिमेकीको व्यवहार एवं अहिलेको नाकाबन्दीलाई लिएर तिखो प्रहार गरिएको थियो । एनआरएनए जापानले टोकियोको नाकानोस्थित जिरो हलमा आयोजना गरेको महजात्रा हेर्न सयौं नेपाली जम्मा भएका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रहसन नेवारबहादुर र बाहुनबहादुरले देशमा अहिले देखिएको जातीय एवं क्षेत्रीय विभेदलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका थिए । यो प्रहसनमा महजोडीलाई नरेन्द्र कंशकार र मोहितवंश आचार्यले साथ दिएका थिए । त्यसैगरी महजोडीको अर्को प्रस्तुति डनको फोटो स्टुडियो शीर्षकको प्रहसन थियो, जसमा तलदेखि माथिसम्म कसरी देशमा डनगिरी बढेको छ र आमयुवाहरू बिदेसिन बाध्य छन् भन्ने विषयलाई प्रस्तुत गरियो ।
नायिका प्रियंका कार्कीले अत्यन्तै आकर्षक प्रस्तुतिका साथ महजात्राको सञ्चालन गरेकी थिइन् । उनले नेपाली गहना तथा पहिरनमा सजिएर सुर्के थैली खै तथा बाँझो खेतमा छड्के सलाम छ लगायतका गीतमा आकर्षक नृत्यसमेत प्रस्तुत गरिन् । कार्यक्रममा लोकगायक बमबहादुर कार्कीले खोलापारि निरमाया वारि म रुने, पानको पात आदि गीत गाएर लोकसंगीत प्रेमीहरूको मन जिते । कार्यक्रममा दुईवटा गीत प्रस्तुत गरेर गायक यमन श्रेष्ठ सहभागी युवायुवतीहरूको रोजाइमा परे ।
कार्यक्रमका अर्काे आकर्षण नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का थिए, जसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै त्यसका लागि आफूहरू दिनरात लागिपरेको र नेपाली क्रिकेटलाई सबैको सहयोग रहनुपर्ने कुरा बताए ।