हरेक मित्रताका पछाडि आफ्नो निजी रुचि जोडिएको हुन्छ । यो कुरा तितो लाग्छ तर यथार्थ हो– चाणक्य
एउटा बफादार साथी १० हजार आफन्तभन्दा मूल्यवान् हुन्छ । – ग्रीक कवि
दुनियाँले साथ छाडेका बेला जो जीवनमा आउँछ त्यो नै असल साथी हो । —विन्सटन चर्चिल
यो संसारमा साथी नहुने मानिस कोही हुँदैनन् । सबै जनालाई साथी चाहिएको हुन्छ । हरपल जो–कोही असल साथीको खोजीमा हुन्छन् । चाहे केटा साथी होस् वा केटी साथी । धेरै साथी हुनु, असल साथी हुनु र आत्मीय साथी हुनु फरक–फरक कुरा हुन् । हिजोआज त फेसबुकमा कति साथी पुगे वा छन्, ट्विटरमा कतिले फलो गरे भनेर पनि हेरिन्छ । समुद्रको पानी र फेसबुकका साथी उस्तै हुन्, आपत् परेका बेला काम लाग्दैनन् ।
हाम्रो जिन्दगीका विभिन्न चरण र कालखण्डमा अनेक साथीहरू बन्छन् र छुट्छन् । कति असमझदारीले छुट्छन् कति परिस्थितिले । हामी अनेक खाले साथीहरूले घेरिएका हुन्छौं । सानोमा सँगै खेलेका साथी, साइकल सिक्दाका साथी, सँगै पढेका साथी, सँगै काम गरेका साथी, कतै जाँदा भेटेका साथी । चिया खाने साथी, रक्सी खाने साथी, तास खेल्ने साथी, घुम्न जाने साथी, गफमात्र गर्ने साथी । कति साथी चियाको सुर्कोमै सीमित हुन्छन् कति साथी चुरोटको सर्कोमै । कति साथी भट्टीमै भेटिन्छन् भट्टीमै छुट्छन् ।
सबै जना साथी नै हुन्, तर ती सबैसँग हामीले देखाउने व्यवहार र आत्मीयता फरक–फरक हुन्छन् । प्राय आत्मीय साथीहरूबिना कुनै सूचना जतिखेर पनि घरमा आउँछन् जान्छन् घरको र मनको ढोका सदैव खुल्ला नै हुन्छ । सबै खाले साथीहरूको जीवनमा महत्वपूर्ण भूमिका हुन्छ र सबै चाहिन्छन् पनि ।
गायक कर्णदासले गाएको एउटा गीतको हरफ छ नि,
साथी साथी भन्दाभन्दै भनेजस्तै साथी पनि कहाँ पाइयो र ?
हो भनेजस्तो साथी भेटन एकदमै जटिल छ जसलाई नांगेझार भएर आफ्नो यथार्थ भावना, खुसी र पीडा पनि साटन पाइयोस् । जसले कहिल्यै सबै गोप्य कुरा थाहा पाएर पनि कुनै हानी नगरोस् । हरेक खुशीको पल र दु:खको घडीमा साथ देओस् । यद्यपि हामीलाई कसैसँग खुलेर बोल्न धेरै समय लाग्छ । संगतका अनेक चरण पार गरेपछि बल्ल हाम्रो मनको चोटा–कोठा खुल्दै जान्छन् र जुन दिन दुवै जनाले एक–अर्कालाई आफ्नो मनको भित्री कुनामा गाँठो पारेर राखेको जीवनको रहस्य खोल्छौं त्यो दिन हामी असल साथी बन्छौं । कोसँग कतिखेर नजिक भइन्छ र कतिखेर टाढा भइन्छ भन्न गार्हो छ । कोसँग कति लामो समय संगत गरियो भन्ने कुरा प्रधान हैन, कति अर्थपूर्ण समयसँगै बिताइयो त्यसले अर्थ राख्छ ।
कोहीसँग भेटेको केही समयमै कति धेरै नजिक भइन्छ कोहीसँग वर्षौंसम्म पनि खुल्न सकिँदैन । आखिर किन यस्तो हुन्छ ? यसै भन्न सकिँदैन । मित्रता हुनका लागि कुनै मापदण्डको आवश्यकता पर्दैन । धनी र गरिबबीच पनि हुन सक्छ । मूर्ख र विद्वान्बीच पनि हुनसक्छ । सम्भवत: कुन सन्दर्भ र परिवेशमा मित्रता कायम भएको थियो भन्ने कुराले मित्रताको दिगोपन निर्धारण गर्ला । मानिस सामाजिक प्राणी हो, सबैलाई आफ्नो कुरा सुनिदिने, बुझिदिने कोही होस भन्ने लागिरहन्छ ।
अर्को कुरा भनेको जिन्दगीको कुन कालखण्डमा भेटिएको साथी हो भन्ने कुराले पनि ऊसँगको निकटता र गाम्भीर्यता प्रस्ट पार्छ । अक्सर दु:खका बेला भेटिएका साथी चिरस्थायी हुन्छन् तर समयसँगै एउटाले आर्थिक प्रगति गर्यो, अर्कोले गरेन भने ती अलग भएका उदाहरण पनि भेटिन्छ । यो साथी भन्ने नाता अजीवको छ । न कुनै रगतको साइनो न कुनै नाताको जुइनो । केही कुरा भन्न पर्यो भने हामीलाई साथी चाहिन्छ । आफ्ना बा–आमा, श्रीमान्–श्रीमतीलाई नभनेको कुरा हामी साथीलाई भन्छौं । आखिर के छ त्यस्तो तत्व साथीभित्र ? किन विश्वास गछौं हामी यति धेरै ? एकदम रहस्यमय छ । हामी साथीसँग बसेर आफ्ना नजिकका मानिसका गुनासा र असन्तुष्टिहरू साटिरहेका हुन्छौं । निजीभन्दा निजी कुरा साट्छौं । ओछ्यानका कुरादेखि रछ्यानसम्मका कुरा । जीवनसाथीभन्दा पनि किन माथि हुन्छ साथीको स्थान ? कुन तन्तुले बनेको हुन्छ साथीको मन ? जिन्दगीमा सबै जना भएर पनि आखिर किन चाहिन्छ साथी ? एकफेर साथी विनाको संसारको कल्पना गरौं त । के यो सम्भव छ ?
सानोमा सँगै खेलेको कट्टु समेत साटासाट गरेर तँ–तँ र म–म गरेर हुर्किएको साथीको बेग्लै स्थान हुन्छ । बोलीचालीको भाषामा त्यस्तो साथीलाई लँगौटिया यार भनिन्छ, तर जब त्यही साथी लामो समय बिछोडिएर आफ्नो हैसियत बनाएर पुन भेटिन्छ यदि बोल्दा तँ–तँ र म–म गरेन तिमी वा तपाईं भन्यो भने सार्है चित्त दुख्छ । साथी भन्ने शब्दले सधैं भावनाको आत्मीयताको समता खोज्छ । जब त्यहाँ पहिचान प्राप्ति र पदसँग जोडिन्छ तब त्यो सम्बन्ध प्राविधिक मात्र बन्न जान्छ । पहिलेका कति साथीहरू पछि नचिनेझैं गरी हिँड्छन् । कति साथीचाहिँ फेरि कामको बेला झुल्किने अनि फेरि अस्ताउने खाले पनि हुन्छन् । मित्रताको पहिचान जहिले पनि संकटको घडीमा परीक्षण हुन्छ । चाणक्यले अर्को एक ठाउँमा भनेका छन् आफ्नो हैसियतभन्दा माथि वा तलकासँग कुनै मित्रता नगर्नु त्यसले तिमीलाई कहिल्यै खुशी दिंदैन तर हिन्दू ग्रन्थमा उल्लेख कृष्ण र सुदामाको अनुपम मित्रताको कहानी पनि हामीले सुनेका छौं । त्यसैगरि कर्ण र दुर्याेधनको मित्रता पनि एउटा अनुपम उदाहरण हो जसले कालान्तरमा मित्रताका खातिर प्राणको आहुती नै दिए । त्यसैगरी द्रोण र दु्रपदबीच आएको मित्रताको फाटोले महाभारतको कथामा ल्याएको उतारचढाव पनि उत्तिकै रोचक र अर्थपूर्ण छ ।

