गरिब भएर जन्मिनु तिम्रो दोष होइन, तर गरिब भएर मर्नुचाहिँ तिम्रो दोष हो– माइक्रोसफ्टका सम्राट् तथा विश्वकै धनी बिल गेट्सको यो भनाइलाई नेपाली चेली ३५ वर्षीया यशोदा (खगेश्वरी) भट्टराईले सत्य सावित गरेकी छिन् ।
नौ वर्षअघिसम्म घरवारविहीन भट्टराईसँग अहिले आफ्नै पौरखले कमाएको झन्डै सवा करोड रुपैयाँ बराबरको सम्पत्ति छ । विराटनगरस्थित आधुनिक घरमा उनी श्रीमान् ज्ञानु र छोरा सुयज्ञसँग बस्छिन् । सन २००७ को १६ मार्चमा यहुदी भूमि इजरायलमा पाइला टेक्नुअघि यो परिवारलाई बाँच्न धौ–धौ थियो ।
‘आँट गरे सपना पनि बिपनामा परिणत हुँदो रहेछ,’ भावुक हुँदै यशोदा भन्छिन् । समृद्ध जीवनको आशामा २०५८ मा भट्टराई दम्पती विराटनगरबाट राजधानी पुगेको थियो । खोलेको तीन वर्षमै खाद्यान तथा ढुवानी व्यवसाय असफल भयो । सबै थोक बिक्री गरेर काठमाडौं छोडी विराटनगर माछालाइनस्थित पुरानो घरमा सुरु गरेको किराना पसल पनि घाटामा गयो ।
विराटनगर र काठमाडौं गर्दागर्दै भट्टराई परिवार ऋणमा चुर्लुम्म डुबिसकेका थियो । दाजुभाइको संयुक्त त्यो घर बेचेर आफ्नो भागमा परेको करिब ८ लाख रुपैयाँले श्रीमान् ज्ञानुले ऋण त तिरें तर उनी स्वयं सडकमा आए । अझै ७ लाख रुपैयाँ तिर्न बाँकी नै थियो । व्यापारतिर लाग्दा मोरङकै थलाहा गाविसको ४ बिघा जग्गा लथालिंग भयो । कहाँ जाने र के गर्ने सोचले अलमलिरहेका बेला काठमाडौं गौरीघाट बस्ने दिदी तीन वर्षअघि इजरायल गएको सम्झिन् । त्यसपछि यशोदाले ‘केयरगिभर’ भएर इजरायल पुग्ने अठोट लिइन् ।
यशोदाका अनुसार– ‘आफैंले हिम्मत गरेकी हुँ ।’ गाउँको खेतीजग्गा बन्धक राखेर बैंकबाट साढे चार लाख ऋण उठाइन् । राजधानीस्थित आफन्तकहाँ बसेर सबैभन्दा पहिले एक महिना अंग्रेजी भाषाको तालिम लिइन् । विराटनगरस्थित कन्या क्याम्पसबाट आईए उत्तीर्ण यशोदालाई अंग्रेजी सिक्न कठिन भएन । इजरायलमा बोलिने हिब्रु भाषाको पुस्तक ल्याएर घरमै एक महिना अभ्यास गरिन् ।
त्यतिबेला वैदेशिक रोजगार कम्पनी (एजेन्सी) मार्फत जानुपर्ने हुनाले प्रक्रिया अघि बढाएको ९ महिनापछि यशोदाले भिसा पाइन् । भारतको नयाँदिल्ली, दोहा (कतार) र ओमान हुँदै मध्यराति इजरायलको तेलअभिव पुगेको उनले अहिले पनि बिर्सिएकी छैनन् । एजेन्सीले दुई दिनपछि नै उनलाई जेरुसेलम नजिकको गाउँ बेथानी पठायो । यशोदाले त्यहाँ सुस्त मनस्थितिकी अरबी युवतीको हेरचाह गर्ने जिम्मेवारी पाइन् । उनको हेरचाह बाहेक घरका चार जना सदस्यको पनि सेवा गर्नुपर्ने हुनाले उनले त्यो काम चार महिनामै छाडिन् ।
उनले त्यसपछि एउटा खुट्टा गुमाएकी र एकातिर पूरै पक्षाघात भएकी ६५ वर्षीया वृद्धाको एक वर्षसम्म सेवा गरिन् अनि तेलअभिभबाट नाहारियाको ओफेकस्थित अर्को एउटा एजेन्सीसँग सम्पर्क गरिन् । त्यहाँबाट उनले नाहारियाको मोसाफ गाउँमा अर्की बूढीको रेखदेखको जिम्मेबारी पाइन् । डेढ वर्षपछि नाहारियाको किरायातमोजकिङमा आएर ५ वर्ष काम गरिन् । यशोदाले त्यहाँ आफूलाई निकै माया गर्ने परिवार फेला पारिन् ।
फरक संस्कृति र परिवेशका कारणले त्यहाँको वातावरणमा भिज्न नसक्दा सुरुको एक/डेढ वर्ष यशोदालाई परिवारको निकै सम्झना आउँथ्यो । ‘काम सकेपछि एकान्तमा बस्न मन लाग्थ्यो, भाषा नबुझेर रुन मनलाथ्यो,’ भट्टराई भन्छिन् । जेरुसेलममा बस्दा अंग्रेजी भाषाले काम चले पनि अन्य ठाउँमा राम्रोसँग हिब्रु नबुझ्दा उनले दु:ख पाइन्, डेढ वर्ष उनले हिब्रु बोल्न सिकिन् । ‘उनीहरूले बोलेको कापीमा सार्थें,’ यशोदा भन्छिन्, ‘छेउछाउमा बस्ने दुई/तीन नेपाली साथीले पनि सहयोग गरे ।’
इजरायलको उत्तरी समुद्री किनारको नाहारियामा आएपछि यशोदालाई आफ्नै मुलुकमा बसेजस्तो महसुस भएको थियो । गएको साढे तीन वर्षमा ४० दिनको छुट्टीमा पहिलो पटक उनी विराटनगर आइन् । यशोदाले सुरुमा ४ वर्ष ३ महिनाको भिसा पाएकी थिइन् । ‘काम मन परेन भने परिवर्तन गर्न पाइन्छ, हरेक वर्ष भिसा नवीकरण हुन्छ, तोकिएको अवधि अघि अशक्त वा रोगीको मृत्यु भयो भने भिसा थपेर अर्को ठाउँमा काम गर्न पाइन्छ,’ यशोदा भन्छिन्, ‘अवधि सकियो भने पाइन्न ।’
यो सेवामूलक जागिर भएकाले सम्बन्धित परिवारसँग चौबीसै घण्टा बस्नुपर्ने हुन्छ । उनीहरूलाई नुहाइदिने, खाजाखाना पकाएर ख्वाउने, औषधि दिने, व्यायाम गराउने, रक्तचाप र मधुमेह जाँच गर्ने आदि काम गर्नुपर्छ । ‘नसक्नेलाई आफैंले ख्वाउनुपर्छ, ह्विलचेयरमा घुमाउनुपर्छ,’ यशोदा भन्छिन् । ११०/१५ किलोग्रामका बुढा–बूढीलाई ओछ्यानमै नुहाइदिने, लुगा लगाउने र रिमोटबाट चल्ने मेसिनबाट उचालेर ह्विलचेयरमा राख्नेसम्मको कठिन कार्य गरेको उनी बताउँछिन् ।
त्यहाँ दिउँसो १ देखि ४ बजेसम्म सबैको आराम गर्ने समय हो । त्यतिबेला केयरभिगरहरू, इन्टरनेटमार्फत परिवारसँग संवाद, वरिपरिका मित्रसँग गफगाफ वा घुमघाम गर्छन् । ‘स्काइपबाट दैनिक कुराकानी गथ्र्यौं,’ श्रीमान् ज्ञानु भन्छन्, ‘एक पटक त रातभरि गफ गर्यौं ।’ केयरगिभरले खान, बस्न र औषधी उपचारमा रकम खर्च गर्नु नपर्ने हुनाले मासिक तलब चोखो बच्ने गरेको यशोदा बताउँछिन् । ‘रोजगारदाताले नै केयरभिगरको स्वास्थ्य बिमा गराइदिन्छन्, त्यसबाटै उपचार हुन्छ,’ उनी भन्छिन् ।
करार सक्दा तलबबाहेक काम गरेको अवधिका आधारमा कम्तीमा ५/७ लाखदेखि १५ लाख रुपैयाँसम्म बोनस प्राप्त हुने यशोदाले बताइन् । उनले करार अवधि सकिने बेलामा अतिरिक्त १० लाख रुपैयाँ पाइन् । सुरुको डेढ वर्ष राम्रो काम नपरेको एवं डलरको भाउ कम भएकाले यशोदाले तलब, भत्ता र अतिरिक्त समयको गरी मासिक ५० हजार नेपाली रुपैयाँबराबर मात्र भुक्तानी पाउँथिन् । राम्रो काम र मिलनसार परिवार पाउँदै जाँदा त्यसपछि सबै खर्च काटेर मासिक सवा लाख रुपैयाँसम्म तलब पुगेको उनले बताइन् । त्यहाँ सबै केयरभिगरको तलब एउटै हुन्छ र अहिले डेढ लाख रुपैयाँसम्म पुगेको छ । ‘त्यहाँको मुद्रा सेकलको मूल्य डलरको मूल्यअनुरूप तलमाथि हुन्छ,’ यशोदा भन्छिन् ।
‘आर्थिक अवस्था डामाडोल भएका र ज्ञान भएकाहरू घरखेत ऋण राखेर भए पनि जाँदा हुन्छ,’ उनी सुझाव दिन्छिन् । जागिर परिवर्तन गर्दै जाँदा पनि प्रशस्तै काम पाइने हुनाले त्यहाँ बेरोजगारीको चिन्ता नहुने यशोदा बताउँछिन् । यशोदाभन्दा अघि उनका तीन जना नातागोता इजरायल पुगिसकेका थिए भने उनको सफलताको कथा सुनेपछि थप १० जना काम गर्न त्यहाँ पुगे ।
आफ्नो भिसा अवधि सकिएर २०१५ को ९ फेब्रुअरीमा स्वदेश फर्कंदा उनको कमाइले १ कठ्ठा जग्गामा दुईतले घर बनिसकेको थियो । विराटनगरमा ८ धुर र धनकुटामा ४ आना जग्गा जोडिइसकिएको थियो । व्यवसायिक रूपमा करिब १० लाखको ग्याँस डिलर खडा भएको थियो । कुनै बेला छोराको विद्यालय शुल्क तिर्न कठिन भए पनि अहिले भट्टराई परिवारले राम्रै विद्यालयमा उनलाई पढाइरहेको छ । यतिको उन्नति देखेर यशोदा मख्ख छिन् । ‘छाडेर जाँदा केही थिएन, सबथोक व्यवस्थित भैसकेको छ,’ उनी भन्छिन्, ‘खाली हात गएँ, भरी हात आएँ ।’ पशुपति गौरीघाटस्थित आफन्तको घरबाट इजरायल जानलाई बिदा हुँदा छोरालाई ५ रुपैयाँ र एक पकेट चाउचाउ किनेर दिएको उनी सम्झन्छिन् । विदेशबाट पहिलो पटक फर्केर आउँदा छोरालाई महँगो चकलेट ल्याइदिँदा हर्षित भएको भट्टराई बताउँछिन् ।
छोरा सुयज्ञ पनि केही–केही कुरा सम्झिरहेका छन् । ‘पहिलो पटक जाँदा म सानो थिएँ, धेरै अनुभूति गर्न पाइनँ,’ छोरा सुयज्ञ भन्छन्, ‘दोस्रो पटक आमा आएर जान लाग्दा नजाऊन् जस्तो लागेको थियो ।’ टाढा हुँदा आमाको मायाको मूल्य बुझेको उनी बताउँछन् । पहिलो पटकको बिदामा आउँदा यशोदाले घरमा कम्प्युटर र इन्टरनेट जोडिन् । अन्तिम पटक आउँदा छोराका लागि ट्याब्लेट, मोबाइल र ल्यापटप लिएर आइन् । उनलाई साइकल र घडी किनिदिइन् ।
एक सबल नारीको श्रम र हिम्मतले यो परिवारले आरामदायक जीवन बिताइरहेको छ । ‘अब १/२ लाख रुपैयाँ चलाउनलाई सोच्नु पर्दैन,’ श्रीमान् ज्ञानु भन्छन्, ‘यो सबै जायजेथा श्रीमतीको आम्दानीबाट हो, म त म्यानेजर मात्र ।’ एक दशक नबित्दै जीवनशैली फेरिए पनि यशोदा इजरायल लागेपछिको केही वर्ष भने यता बाबुछोराको अवस्था संघर्षपूर्ण रह्यो ।
यशोदा स्वदेश फर्किएको १५ महिना बितिसकेको छ । इजरायली परिवारले ‘लभ यु यशोदा’ लेखेर दिएको सम्झना तस्बिर र मायाको चिनोका रूपमा दिएको चाँदीको करुवालाई उनले निकै सम्हालेर राखेकी छन् । इजरायलीहरूले खुसीको मौकामा एक अर्कालाई करुवा उपहार दिन्छन् । ‘उनीहरूले के उपहार दिऊ भनेर सोधे, मैले सम्झनामा सधैं रहने तिनै दुई उपहार मागेँ,’ यशोदा भन्छिन् ।
महिला प्रधान मुलुक इजरायलको जीवनशैली, जीवनस्तर, संस्कार र सुरक्षा प्रबन्ध यशोदालाई निकै मन परेको छ । ‘मध्यरातमा सडकमा हिँड्दासमेत डर हुँदैन, यौन दुव्र्यवहार र बलात्कारको गुञ्जाइस नै छैन,’ उनी भन्छिन्, ‘फोन गरेको १० मिनेटमा प्रहरी आइपुग्छ ।’ इजरायल र प्यालेस्टाइनबीच युद्धका क्रममा प्रहार हुने बम, मोर्टार र क्षेप्यास्त्रको कुनै डर नहुने उनी बताउँछिन् । प्रत्येक घरमा त्यसबाट जोगिने कोठा हुन्छ ।
‘युद्ध हुनुअघि जानकारी दिन साइरन बज्ने हुनाले सबै जना सुरक्षित कोठामा जान्छन्,’ यशोदा भन्छिन् । एक/दुई पटक खाना पकाउँदा पकाउँदै लुक्न गएको उनलाई सम्झना छ । ‘आफ्नो शयन कक्ष नै सुविधासम्पन्न बंकरमा भएकाले जहिल्यै पनि सुरक्षित थिएँ,’उनी भन्छिन् ।
इजरायलस्थित नेपाली दूतावाससँगको समझदारीमा नेपालीहरूले मनाउने दसैं, तिहार, तीज र माघेसंक्रान्तिलगायत नौवटा चाँडपर्वमा त्यहाँ बिदा दिइन्छ । ‘मुलुकभरिबाट त्यहाँ भेला भएका नेपालीले मिलेर चाडपर्व मनाउने हुनाले घरबाट टाढा बसेको महसुस हुँदैन,’ यशोदा भन्छिन् । नेपाली कामदारबाटै थोरथोर रकम उठाएर स्थानीय नेपाली संघसंस्थाले अपार्टमेन्ट लिएका हुन्छन् जहाँ बिदा र पर्वमा गएर बस्न सकिन्छ ।