
साप्ताहिक संवाददाता

ॐ लाई ब्रह्म वा परमात्माकै प्रतीक मानिन्छ । भनिन्छ, ओमबिना सृष्टिको कल्पना गर्न सकिँदैन । ब्रह्माण्डमा सदैव ओमकार ध्वनि गुञ्जायमान रहन्छ । ॐ शब्द अ, उ र म तीन अक्षर मिलेर बनेको छ जसमा ‘अ’ को अर्थ उत्पत्ति, ‘उ’ को उत्थान अर्थात् विकास तथा ‘म’ को अर्थ मौन अर्थात् मृत्यु हुन्छ ।
ॐ लाई सनातन मान्यतामा ब्रह्मा, विष्णु र महेश तथा महाकाली, महालक्ष्मी एवं महासरस्वतीको प्रतीक मानिन्छ । ॐले सत्व, रज र तमजस्ता तीन गुणतर्फ पनि संकेत गर्छ । यसैगरी ॐ ले अणुभित्र विद्यमान इलोक्ट्रोन, प्रोटोन तथा न्युट्रोनको प्रतिनिधित्वसमेत गर्छ । वैदिक सनातन धर्ममा ॐ कारको उच्चारण बिना गरिने कुनै पनि कार्य सफल हुँदैन, तसर्थ ॐ लाई महामन्त्रको स्थान प्राप्त छ । यसको विधिपूर्वक नियमित उच्चारण गर्दा मानसिक एवं शारीरिक लाभ मिल्ने बताइन्छ ।