साउन ८ गते दिउँसो सुशान्त श्रेष्ठ आठ जनाको ग्याङ लिएर क्षेत्रपाटी चोकमा भेला भए । उद्देश्य थियो आफ्नी प्रेमिकाका भूतपूर्व प्रेमी सौरभ श्रेष्ठलाई ठीक पार्ने । ठ्याक्कै उसैगरी सौरभ हनुमानढोकाअगाडि आफ्ना साथीहरूलाई भेला पार्दै थिए । उनको उद्देश्य थियो पूर्व प्रेमिकाका बहालवाला प्रेमीलाई तह लगाउने ।
१२ कक्षा पढ्ने सुशान्त १६ वर्षीया युवतीको मायाजालमा परेका थिए । प्रेमसम्बन्ध ठीक ट्रयाकमा अघि बढ्दै जाँदा युवतीका पूर्वप्रेमी सौरभ भिलेन बन्दै उनीहरूको प्रेम–यात्रामा अवरोध खडा गर्ने प्रयासमा लागे ।
सौरभ र ती युवतीको प्रेम–यात्रा टुटेको चार महिना मात्र भएको थियो । एक महिनाजति दुवैबीच बोलचाल बन्द भए पनि फेसबुकमार्फत दुवैको मौनता टुट्यो अनि फोनमा नियमित कुराकानी हुन थाल्यो ।
युवतीले ‘आफ्नो जीवनमा अर्कै प्रेमी आइसकेको’ भन्दै पूर्वप्रेमीलाई मनाउने प्रयास गरिन् । सौरभले ‘सरी’ भन्दै आफ्नो जीवनमा फर्कन बारम्बार आग्रह गरेपछि ती युवतीले पूर्वप्रेमीले आफूलाई र्याक गरिरहेको सूचना सुशान्तलाई दिइन् ।
सुशान्तले फोनमार्फत नै सौरभलाई आफ्नी प्रेमिकालाई र्याक नगर्न आग्रह गरे तर उनले मानेनन् । सौरभले फोन तथा एसएमएसमार्फत किचकिच गरिरहेपछि भेटेरै तह लगाउने योजना बनाएका थिए सुशान्तले ।
उनीहरूबीच सोर्हखुट्टेको चोकमा बेलुका ६ बजे भेट्ने धम्कीयुक्त संवादपछि दुवै समूहले भेटमा आफ्नो पावर देखाउने तयारी स्वरूप दिउँसै आ–आफ्नो समूह तयार पारेका थिए । कसलाई कसरी तह लगाउने दिनभर दुवै समूहले छलफल गरे अनि बेलुका ६ बजे तोकिएकै स्थानमा दुवै समूहको भेट भयो ।
सुरुमा सुशान्त र सौरभबीच कुराकानी भयो । कुराकानीका क्रममा प्रेमिकाकै विषयमा उनीहरूबीच भनाभन भयो । भनाभन एकैछिनमा हानाहानमा बदलियो । सौरभ र सुशान्तबीच हानाहान सुरु भएसँगै दुवै समूहका युवा एक–अर्कासँग भिड्न थाले ।
हानाहानकै क्रममा सुशान्त भुक्लुक्क सडकमै ढले । उनको टाउकोबाट रगत बगिरहेको देखेपछि सौरभ भागे तर उनको समूहका अरू कोही रोकिएनन् । सडकमा भेटिएजति इँटा, रड सबैले प्रहार गर्न थाले । केही युवा फलामको नकल बोकेर आएका थिए । उनीहरूले त्यसले पनि निरन्तर प्रहार गरिरहे ।
एक युवालाई १९–२० जना युवाको समूहले एकोहोरो कुटिरहेको देखेपछि तीन मिनेटपछि स्थानीयवासीले उनीहरूलाई छुट्टयाए । त्यसपछि सौरभको समूहका सबै भागे । सडकमा लडिरहेका सुशान्त अर्धचेत भैसकेका थिए । उनका साथीहरूले सामान्य घाइते मान्दै उनलाई उपचारका लागि नजिकैको क्षेत्रपाटी चिकित्सालयमा पुर्याए ।
सुशान्तको अवस्था उनीहरूले सोचेजस्तो सामान्य थिएन । टाउकोबाट धेरै रगत बगिसकेका कारण उनको अवस्था गम्भीर देखिएपछि चिकित्सकले अर्को अस्पताल लान सुझाव दिएपच्छाद बल्ल उनीहरूले सुशान्तकी आमालाई खबर गरे । उनकी आमा टेकुस्थित काठमाडौं अस्पतालमा कार्यरत थिइन् । उनीहरूले सुशान्तलाई त्यही अस्पताल पुर्याए ।
गम्भीर अवस्थामा रहेका सुशान्तलाई आठ दिनसम्म अस्पतालमा राखेर जोगाउने उनकी आमाको प्रयास असफल भयो । अन्तत: साउन १६ गते दिउँसो २ बजे आफ्नी प्रेमिकाको पूर्वप्रेमीलाई तह लगाउने प्रयासमा १८ वर्षीय युवा सुशान्तको मृत्यु भयो ।
अनुसन्धानमा सुशान्त ती युवतीकी चौथो तथा सौरभकी तेस्रो प्रेमी रहेको कुरा खुलेको छ ।
घटना भएकै दिन प्रहरीले त्यसमा संलग्नहरूको खोजी सुरु गरे पनि कोही फेला परेका थिएनन् । महानगरीय प्रहरी वृत्त सोर्हखुट्टेका प्रमुख सोमेन्द्रसिंह राठौरका अनुसार घटनाको दोस्रो दिन ९ गते प्रहरीले सौरभ तथा उनका एक जना साथीलाई पक्राउ गरेको थियो ।
सुशान्तको अवस्था गम्भीर रहेकाले प्रहरी उनी सन्चो हुने पर्खाइमा कुटपिटको आरोपमा दुवै युवालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउने पक्षमा थियो । सञ्चो हुनुको साटो सुशान्तको मृत्यु भएपछि प्रहरीले सौरभसँगै अन्य ११ जना युवालाई पक्राउ गरी हत्या अभियोगमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।
डिएसपी राठौरका अनुसार सुशान्तको हत्यामा १९ जना युवा संलग्न देखिएका छन्, जसमा कक्षा ९ मा पढ्ने युवादेखि १२ कक्षाको परीक्षा दिएर बसेका सम्म छन् । १९ जनामध्ये १२ जना पक्राउ परेका छन् भने ७ जना अझै फरार छन् ।
हत्याको योजनाकारको अभियोगमा प्रहरी हिरासतमा रहेका १८ वर्षीय सौरभ मनमोहन मेमोरियल कलेजका विद्यार्थी हुन् । उनका अभिभावक मध्ययमवर्गीय व्यापारी हुन् । मृत्यु भएका सुशान्त न्यू अरुणोदय उमाविमा १२ कक्षामा अध्ययनरत थिए भने उनी परिवारका एक्ला सन्तान हुन् । सुशान्तकी आमा चिकित्सक भएको बताइन्छ ।
पक्राउ परेकाहरूको उमेर १४ वर्षसम्म रहेकाले १६ वर्ष नपुगेका ३ जनालाई प्रहरीले हिरासतमा नराखी कानुनअनुसार भक्तपुरको बालसुधार केन्द्रमा पठाएको छ भने अन्य सबै सोर्हखुट्टे प्रहरीको हिरासतमा छन् ।
यता सोर्हखुट्टे प्रहरी फिल्मको देखासिखी, कच्चा दिमाग तथा आवेगले यो गम्भीर प्रकृतीको घटना घटेको निष्कर्षमा पुगेको छ । ‘युवाहरू कच्चा दिमाग अनी चलचित्रबाट प्रभावित देखिए,’ घटनाको अनुसन्धान गरिरहेका डिएसपी राठौरले भने, ‘जोस रोक्न नसक्दा १४ वर्षसम्मका युवा हत्या अभियोगमा अनुसन्धानमा तानिनु दु:खद कुरा हो ।’
कानुनअनुसार कर्तव्यज्यानमा २० वर्षसम्मको कैद सजाय हुन सक्छ । १६ वर्ष कटेका सौरभसहितका अभियुक्तको अभियोग कसुर भए उनीहरूको भविष्य बनाउने उमेर जेलमा कट्नेछ ।
१४ वर्षदेखी १५ वर्षसम्मका अभियुक्तको अभियोग प्रमाणित भए मूल अभियुक्तले पाएको सजायको ७५ प्रतिशत सजाय हुनेछ । १४ वर्षमुनिका अभियुक्तको हकमा ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान छ ।
गीतको निहुँमा
विवाहको भोजमा कुन गीत बजाउने भन्ने विषयमा युवाहरूबीच मतान्तर हुँदा डरलाग्दो ग्याङ फाइट भयो । यो प्रसंग हो, ललितपुरस्थित खानीगाँउको । गीत बजाउने निहँुमा ग्याङ फाइट भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले गोली नै चलाउनु परेको थियो । यो यही २०७३ साल असार ३१ गतेको घटना हो ।
ठूला पनि कम छैनन्
जेठ २२ मा बल्खुमा एक समूहबीच ग्याङफाइट भयो । फाइटको कारण थियो— एकले अर्कालाई साइड नछोड्नु । उक्त ग्याङफाइटमा बस तथा ट्याङकर चालक संलग्न थिए ।
कलंकीबाट बल्खुतर्फ आइरहेको बा ३ख २२९३ नम्बरको बस तथा ना १ ख ९२७६ नम्बरको पानी ट्याङकरबीच एकले अर्कालाई साइड नछाडेको भन्दै विवाद भएको थियो ।
साइड नदिएको भन्दै बसका चालक सरोज कुँवर तथा ट्याङ्कर चालक गगन अर्यालबीच झगडा भयो । विवाद बढ्दै गएपछि झगडा ग्याङफाइटमा बदलियो । कुँवर समूहमा रहेका सुवास कुँवर, भुवन बुढाथोकी, कुमार श्रेष्ठ, आदर्श राई, सुधीर तामाङ तथा सफल दाहाल मिलेर गगनलाई मरणासन्न हुने गरी कुटेर भागे ।
घटनाका सम्बन्धमा जानकारी पाएलगत्तै मध्यरात १२ बजे प्रहरी घटनास्थलमा पुग्यो । घटनामा गम्भीर घाइते भएका गगनलाई उपचारका लागि वीर अस्पताल पुर्याइए पनि उनको ज्यान जोगिन सकेन । प्रहरीले सरोज कुँवरसहित उनको ग्याङका अन्य सदस्यहरूलाई पक्राउ गर्यो ।
डरलाग्दो ग्याङ फाइट
अमेरिकाको टेक्सासमा फिल्मी शैलीमा भएको दुई वाइकर्स समूहबीचको ग्याङ फाइट हुँदा ९ जनाले ज्यान गुमाएका थिए । उक्त ग्याङ फाइटमा गोली हानाहानसमेत भएको थियो ।
ग्याङ फाइटको सहर
मध्यअमेरिकास्थित होन्डुरसको सान पेड्रो सहरलाई ‘मर्डर क्यापिटल अफ द वल्र्ड’ समेत भनिन्छ । खासगरी बारम्बार दोहोरिने हिंस्रक ग्याङ फाइटले यो सहरलाई बदनाम तुल्याएको छ ।
बाइकर्स ग्याङ
भारतको पटनामा बाइकर्स ग्याङहरूको जगजगी छ । बाटोमा बेपत्तासँग बाइक हुँइक्याउने, चर्को हर्न बजाउने, स्टन्ट देखाउँदै हिँड्ने समूहहरूका कारण स्थानीयवासी हैरान छन् । ती ग्याङमा २५ देखि ८० जनासम्म सदस्य हुन्छन् । पटनाका बाइकर्स ग्याङहरूको आपसी भिडन्तले बेलाबेला उत्पात मच्चाउने गरेको छ ।