
हाम्रा पर्व, संस्कृति, परम्परा एवं संस्कारलाई अहिलेको युवापुस्ताले पनि औधी माया गर्छ । आफूलाई परिस्थितिअनुकूल ढाल्न सक्ने क्षमता बोकेका यी युवा आफ्नो सांस्कृतिक पहिचानप्रति संवेदनशील देखिन्छन् । चाडपर्व नजिकिने क्रममा यी युवाहरू विभिन्न ठाउँमा स्वयंसेवकका रूपमा खट्छन् । तीजको मेसोमा साप्ताहिकले यस्तै युवाहरूको दृष्टिकोण समेट्ने प्रयास गरेको थियो ।
त्यस क्रममा जेभियर इन्टरनेसनल कलेज, कालोपुलकी छात्रा दुर्गा बजगाईंले तीजलाई दृढता दर्साउने पर्वका रूपमा ब्याख्या गरिन् । महिलाले श्रीमान्को दीर्घायु एवं सुस्वास्थ्यका लागि व्रत, पूजा–आराधना आदि गर्ने हुनाले यो चाड नारी वर्गसँग विशेष रूपमा जोडिएको उनको तर्क छ । हिमालयन कलेज कोटेश्वरमा कक्षा १२ मा अध्ययनरत रोशन रिमाल फरक धारणा व्यक्त गर्दै भन्छन्– तीज महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि उत्तिकै महत्वको चाड हो ।
किनभने तीजमा नारीले पुरुषका लागि व्रत बस्ने र दिदीबहिनी लिन दाजुभाइ नै जानुपर्ने परम्पराले यो पर्व पुरुषका लागि पनि उत्तिकै महत्वपूर्ण छ । रिमालका अनुसार यसले हाम्रो संस्कृति जोगाउन एउटा इँटाको काम त गरेको छ नै, भावी पुस्तालाई संस्कार हस्तान्तरणमा समेत ठूलो भूमिका खेलेको छ । एसएस कलेज मध्यपुरठिमीमा १२ कक्षाकी छात्रा प्रजिता थापा तीजको संस्कृतिलाई चरम रूपमा पछ्याउनेहरूका बीच चेतनामुलक कार्यक्रमको खाँचो औंल्याउँछिन् ।
कतिपय महिला स्वास्थ्य बिग्रने गरी निराहार व्रत बस्छन्, महिना दिनअघिदेखि तीज भित्र्याउनेहरूको लर्को त छँदै छ, त्यसका अतिरिक्त गरगहना, पहिरन आदि प्रदर्शन गरिने हुनाले चोरी–डकैतीसमेत बढिरहेको छ । यस्ता कुरामा अब सजग हुनैपर्छ, प्रजिताले भनिन्– संस्कार–संस्कृतिलाई निरन्तरता दिनुपर्छ, तर त्यसलाई परिष्कृत र परिमार्जन गर्दै लानु पनि समयको माग हो ।
ओरियन्ट कलेज बसुन्धराका छात्र कबिन मानन्धर व्रत बसेर महिलामा आत्मविश्वास बढ्छ भने बस्न दिनुपर्छ भन्ने तर्क प्रस्तुत गर्दै भन्छन्– करबलले नभएर स्वेच्छाले निराहार व्रत बसे पनि हामीले विरोध गर्ने कुरा आउँदैन । यो पर्व मान्ने–नमान्ने कुरा महिलाको निर्णय, खुसी र स्वतन्त्रतामा निहित हुनुपर्छ ।
दर खाने, लामो समयसम्म भेट नभएका दिदीबहिनी जम्मा भएर सुख–दु:ख साटासाट गर्ने तथा गीत–संगीतमार्फत मनका भावना व्यक्त गर्ने यो पर्व नेपाली संस्कृतिको सुन्दर पक्ष हो— हिमालय कलेजमा १२ कक्षामा अध्ययनरत छात्रा बिकिता थापाले भनिन्– संस्कार–संस्कृति जोगाइराख्न, पारिवारिक–सामाजिक सम्बन्ध सुदृढ गर्न एवं पछिल्लो पुस्तालाई संस्कारसँग जोडिराख्न तीजलाई निरन्तरता दिनुपर्छ ।
युवाहरूको ठूलो जमातले यो चाडलाई महिला सशक्तीकरणको पर्वका रूपमा बुझेको छ । नारी शक्ति, श्रृंगारको सम्मोहन र आफूभित्रको सिर्जनशीलता व्यक्त हुने यो अवसरमा सरकारले समेत महिलाका लागि सार्वजनिक बिदा दिएर सम्मान गर्ने हुनाले यो पर्वको महत्व र प्राथमिकता अनुभूत हुने जेभियर इन्टरनेसनल कलेज कालोपुलमा १२ कक्षा अध्ययनरत छात्र सौरभ भट्टराइले बताए ।
भट्टराई भन्छन्– यतिबेला महिलाहरू आफूले खोजेको स्वतन्त्रता प्राप्त गरेजस्ता देखिन्छन्, तर हिजोआज निस्किएका भल्गर तीज गीत तथा भिडियोमाथि भने प्रतिबन्ध लगाउनुपर्छ । सौरभका अनुसार समाज पश्चिमीकरणतर्फ ढल्किरहेको आजको समयमा धेरैजसो महिला आमरुपमा जिन्समा देखिन थालेका छन् भने तीजलाई गहना–श्रृंगार र साडी डे नै मान्दा हुन्छ । किनभने त्यस दिन विदेशी पर्यटकहरूसमेत रातो सारीमा कम्मर मर्काई–मर्काई नाचिरहेका देखिन्छन् ।
यस्ता अवसरमा अंगीकार गर्नुपर्ने अन्धविश्वास हटाउन महिला आफैं सजग, सचेत र विद्रोही हुनुपर्ने रोशन रिमालले बताए भने सौरभ भट्टराइको दृष्टिमा दिनभरि आफ्ना लागि भोको पेट बसेकी थकित श्रीमतीलाई बेलुका आफ्नै हातले पानी ख्वाउनुको मज्जै बेग्लै हुन्छ । रोशन भने निराहार व्रत, श्रीमान्को खुट्टाको जल पिउने परम्परा अनि महिनौं अघिदेखि माछामासु र वाइनलाई दर बनाउने चलनलाई भने विकृति मान्छन् ।
यस्ता पर्वलाई राष्ट्रको संस्कृति बनाउनेतर्फ जोड दिनुपर्ने उनको तर्क छ । संस्कृति प्रवद्र्धन एवं यसको सुरक्षामा युवाहरूले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा बताउँदै दुर्गा बजगाईं भन्छिन्– चाडपर्व भनेका मुलुकका संस्कृति हुन् । यिनको संरक्षणका लागि यसको निरन्तरता पहिलो सर्त हो । अन्यथा यो किताबमा मात्र सीमित हुन पुग्छ । त्यसैले यसको व्यवहारिक पक्षमा समयानुकूल परिवर्तन आवश्यक हुन्छ ।
ओरियन्ट कलेज वसुन्धरामा कक्षा १२ की छात्रा सीमा क्षेत्री हिमालय पुत्री पार्वतीले महादेव पति पाऊँ भनी बसेको ब्रत सफल हुँदा उनका संगीहरूले एकैपटक ताली बजाएर हर्षोल्लास मनाएका कारण यसलाई हरितालिका तीज भनिएको आफूले बुझेको बताइन् । क्षेत्रीले भनिन्– यो पर्वको सुन्दर पक्ष भनेको मौलिक तीजगीत पनि हो तर अहिलेका तीज गीतमा न सुर न ताल न मिठास पाइन्छ । भिडियो पनि निकै उच्छृंखल हुन्छन्, यस्तो विकृति बढ्न दिनु हँुदैन ।
सीमाको धारणा छ, तीजमा तीज गीत नै राम्रो, दर पनि दर खाने दिनकै मिठो अनि नाचगान र गहना–लुगा ब्रत बस्ने दिनकै सुन्दर । आफ्नै स्वास्थ्यका लागी बिगत ७ बर्ष देखी तीजको ब्रत बस्दै आएकी १७ वर्षीया सीमा तीजमा जति पनि विकृति निम्तिरहेका छन् तिनको न्यूनीकरणका लागि युवाहरूले चेतनामूलक अभियान थाल्नुपर्ने धारणा व्यक्त गर्छिन् । उनका अनुसार व्यक्तिगत रूपमा भन्दा पनि सामूहिक रूपमा अभियान सञ्चालन गरिनुपर्छ ।
पछिल्लो समयमा तीज भड्किलो हुंदै गएको र त्यसले युवापुस्तामा समेत नकारात्मक प्रभाव पार्ने कुरा बताउँदै प्रजिताले भनिन्– पानी नै नपिई व्रत बस्दा कालान्तरमा गएर श्रीमती रोगी भइन् भने कसले सम्हालिदिन्छ लोग्नेमान्छेको घर–व्यवहार ? तसर्थ देखासिकी र अन्धविश्वासको पछि लागेर भन्दा पनि सामाजिक एवं मानवीय रुपमा यो पर्व मनाऊँ । तीजलाई सेवाभावका साथ मनाउन भोज तथा गरगहनामा खर्चिने पैसाको केही हिस्सा विभिन्न किसिमका समस्याले पीडित महिलाहरूका लागि
छुट्याऊँ अनि उनीहरूसँगै तीज मनाऔं ।
तीजलाई साझा चाड बनाउन पुरुषको भुमिका महत्वपुर्ण हुने कुरा बताउँदै रोशन भन्छन्– यसका लागि सबैभन्दा पहिले महिलाको भावनाको सम्मान गर्नुपर्छ । उनीहरूको इच्छा, स्वतन्त्रता र निर्णयमा पुरुषले सहयोगी भूमिका खेल्नुपर्छ । यस्ता पर्वलाई नयाँ ढंगले मनाउन नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न समूहले पृथक् अभियानको थालनी गर्नुपर्छ । अनावश्यक भोजभतेर गर्ने पैसाले अशक्त एवं असहायहरूलाई सहयोग गर्न सकिन्छ ।
श्रीमानको आयु र स्वास्थ्यसँग जोडिएकाले तीज कतिपय महिलाले चाहेअनुरूप मनाउन पाएका छैनन्, दुर्गाले भनिन्– यस्ता अन्धबिश्वास हटाउने सुरुवात आफैंबाट गर्नुपर्छ ।