
यौनका विषयमा धेरैमा जिज्ञासा छ, धेरैको चासो छ । यो विषयमा धेरै चर्चा हुन्छ, धेरै विवाद देखिन्छ भने धेरै द्विविधामा पनि हुन्छन् । यद्यपि जब यौनको कुरा गरिन्छ, कसैको नाक खुम्चिन्छ, कसैको गाला रातो हुन्छ, कोही घोसेमुन्टो लगाउँछन्, कोही मुन्टो बटार्छन् । किन ? धेरैलाई लाग्छ, यो लाजको विषय हो । के अहिलेको प्लस टु जेनरेसन पनि यस्तै सोच्छ ? यौनका विषयमा उनीहरूको धारणा के छ ?
हामी जुन पुस्तासँग छलफल गर्दैछौ, उनीहरूले विद्यालय तहमा ‘यौन शिक्षा’को छुट्टै पाठ्यक्रम छिचोलेका छन् । किशोरवयको पूर्वाद्र्धमा उनीहरूले यौनसँग सम्बन्धित जिज्ञासा कक्षाकोठामै मेट्न पाए । दिया श्रेष्ठको अनुभवमा त्यो पाठ्यक्रम निकै उपयोगी थियो । त्यसले किशोरवयसँगै आउने शारीरिक परिवर्तन, त्यसले पार्ने मानसिक प्रभाव एवं आफूले अपनाउनुपर्ने सतर्कताका सम्बन्धमा जानकारी दिएको थियो । अवनिश चौधरी भन्छन्– ‘यौन शिक्षा पढेकाले नै मैले आफ्नो शारीरिक परिवर्तनलाई स्वभाविक रूपमा लिन सकें ।’
पढेको भन्दा फरक भयो
उनीहरूले विद्यालयमा जुन कुरा पढेका थिए, त्यो आफैंले भोग्दा भने केही फरक पाए । ‘पुस्तकमा लेखिएको जस्तो भएन’ पुष्पाञ्जली गौतमले भनिन्– ‘मलाई पहिलो पटक मासिक श्राव भएका बेला बेग्लै अनुभव भएको थियो ।’ किशोरवयमा प्रवेश गरेसँगै किशोरीहरूमा मासिक श्राव सुरु हुन्छ । पहिलो मासिक श्राव उनीहरूका निम्ति अनपेक्षित र असहज हुन्छ । ‘यस विषयमा खासै थाहा थिएन,’ पुष्पाञ्जलीले सुनाइन्– ‘एकैचोटि मासिक श्राव हुँदा कता–कता डर लाग्यो अनि नरमाइलो पनि ।’
कतै बाटोमा हिँडिरहेका बेला वा कक्षामा पढिरहेका बेला मासिक श्राव हुन्थ्यो । ‘सुरुमा त्यसको संकेत पनि थाहा हुँदैन,’ दिया भन्छिन्– ‘त्यसैले सुरुमा अप्ठ्यारो लाग्छ ।’ आफ्नो कपडामा रगत लाग्ने वा बसेको सिटमा रगत लतपतिने समस्या पनि हुन्छ । यस्तो बेला उनीहरू घर वा सुरक्षित स्थान जान चाहन्छन् । ‘अरूले पनि हामीलाई बुझेर सहयोग गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ बिपना अधिकारीले बताइन् ।
सहपाठीहरूले सहयोग गर्छन्
साथीको मासिक श्राव भएको थाहा पाएपछि कक्षाकोठामा सहपाठीहरूले सहयोग गर्ने संस्कार सुरु भएको छ । ‘हामीले स्कुलमा त सबैसँग पैसा उठाएर सेनेटरी प्याड किन्ने गरेका छौं,’ दिया भन्छिन्– ‘यसलाई सबैले स्वभाविक रूपमा लिएका छन् ।’ त्यस्तै दिदी एवं शिक्षिकालाई खबर गरेर साथीका निम्ति सहयोग जुटाउने उनले बताइन् । यस्तो काममा किशोरहरूले समेत साथ दिने उनीहरूको भनाइ छ । ‘आफ्नो क्लासमेटलाई त्यस्तो समस्या हुँदा गिज्याएर हतोत्साही गर्दैनौं,’ सुचेतबहादुर थापा भन्छन्– ‘बरु नजानेजस्तो वा बेवास्ता गर्छौं ।’ एक्लो महसुस हुन्छ
जब पहिलो पटक मासिक श्राव हुन्छ, घरपरिवारले फरक व्यवहार गर्छन् । भान्सामा पस्न दिइँदैन, पूजाआजामा सहभागी गराइँदैन । कतिसम्म भने घरमा गेट टुगेदर भैरहेका बेला पनि सहभागी हुन पाइँदैन । ‘त्यस्तो बेला अलि एक्लो महसुस हुन्छ,’ दिया भन्छिन्– ‘यी सबै नियम पालन गर्नुको अर्थ के होला खै ?’
सरसफाइको हिसाबले त उनीहरूलाई यो ठीकै हो भन्ने पनि लाग्छ । यद्यपि सरसफाइमा ध्यान दिए पनि पुरातन शैलीमा भान्सामा पस्न नदिने, अरूसँग बस्न नदिने चाहिँ ठीक लाग्दैन । ‘हुन त पहिलो मासिक श्रावमा पेट वा ढाड दुख्छ,’ बिपना भन्छिन्– ‘रिस पनि बढी नै उठ्छ र दिक्क लाग्छ । त्यसैले यस्तो बेला आराम गर्नुपर्ने हुन्छ ।’
साथीसँग गोप्य कुरा
‘यौनसँग सम्बन्धित कतिपय कुरा सबैलाई भन्न सकिँदैन । आफ्नो जिज्ञासा मेट्न वा समस्या समाधान गर्न नजिकको साथीको सहारा चाहिन्छ । दिदी–बहिनी, आमा वा नजिकको साथीसँग नै त्यस्ता कुरा भन्न सकिन्छ ।’ बिपना अधिकारीले बताइन् ।
केटाहरू यस विषयमा खुला चर्चा गर्छन् । कहिले ठट्टा त कहिले संवेदनशील रूपमै यस्ता कुरामा चर्चा र छलफल गर्छन् । अवनिश भन्छन्– ‘हामीलाई कुनै गाह्रो हुँदैन । त्यसमाथि म त यौनसँग सम्बन्धित पुस्तकहरू पढेर आफूले जानेको कुरा साथीहरूलाई सुनाइरहेको हुन्छु ।’ सुचेतबहादुर पनि साथीहरूसँग यौनको खुला चर्चा गर्न सक्छन् । यद्यपि केटीहरूको परिस्थिति अलि फरक छ । दिया भन्छिन्– ‘हामी खुलेर सबै कुरा गर्न त सक्दैनौं, तर आवश्यक परेका बेला त्यस्तो अप्ठ्यारो पनि मान्दैनौं ।’
किशोरवयमा जानेर वा नजानेर कुनै गल्ती हुन सक्छ । असुरक्षित यौनसम्पर्क हुने र त्यसले गम्भीर दुर्घटना हुने घटना पनि प्रशस्तै सुनिन्छ । ‘यस्तो कुरामा त हामी आफै सचेत हुनुपर्छ,’ बिपना भन्छिन्– ‘यदि साथीलाई कुनै समस्या भए हामीले सही परामर्श पनि दिनुपर्छ ।’
विवाहअघिको यौन सम्बन्धलाई हाम्रो समाजले राम्रो मान्दैन । त्यसैले अवनिशलाई विवाहअघि सम्भव भएसम्म यौनसम्बन्ध नराखेकै राम्रो लाग्छ । अवनिश भन्छन्– ‘यदि सम्बन्ध राख्नै परे पनि सुरक्षित र गोप्य हुुनुपर्छ ।’ कन्डम प्रयोग गर्ने वा आकस्मिक गर्भनिरोधक औषधी सेवन, सुरक्षित गर्भपतनसम्बन्धी जानकारी हुनुपर्ने उनको सुझाव छ ।
डिजिटल मिसयुज
अहिले किशोरवयमै प्रेम सम्बन्ध गाँसिएका, असुरक्षित यौनसम्बन्ध राखिएका घटना धेरै सुनिन्छ । त्यस्तै, अन्तरंग सम्बन्धको भिडियो वा तस्बिर खिचिएको पनि पाइन्छ । यस्तो गतिविधि निकै जोखिमपूर्ण भएको उनीहरूको निक्र्यौल छ ।
दिया भन्छिन्– ‘काठमाडौंकै एक कलेजका विद्यार्थीबीच प्रेम सम्बन्ध भएको रहेछ । युवतीले विश्वास गरेर आफ्नो ब्वाइफ्रेन्डलाई मोबाइलमा नग्न भिडियो खिचेर पठाइन् । ब्वाइफ्रेन्डले उक्त भिडियो साथीहरूसँग सेयर गरे । त्यसपछि आफूलाई विश्वासघात गरी बदनाम गरेको भन्दै ती युवतीले आत्महत्या गरिन् ।’ पुष्पाञ्जली भन्छिन्– ‘मैले पनि त्यस्तै एउटा घटना सुनेकी छु । एउटी केटी नुहाइरहेको भिडियो खिचेर त्यस्तै गरिएछ ।’ डिजिटल युगमा यस्ता अनेकन चुनौती र समस्याहरू रहेको उनीहरूको बुझाइ छ । ‘अहिले प्रविधिले सहयोग त गरेको छ,’ अवनिश भन्छन्– ‘तर, त्यसको दुरुपयोग पनि उत्तिकै बढेको छ ।’
बाथरुममा पस्दा होस् वा ट्रायल रूपमा कपडा परिवर्तन गर्दा नै, सचेत रहनुपर्ने बिपना बताउँछिन् । ‘त्यस्ता ठाउँमा हिँड्न क्यामेरा राखिएको हुन सक्छ,’ बिपना भन्छिन्– ‘त्यसैले यस्ता कुरामा विशेष सतर्क हुनुपर्छ ।’