जानकारीमा आएसम्म म्युजिक भिडियोको विधामा मात्रै एवार्ड नेपालमा आयोजना भएको छैन । संयुक्त अरब इमिरेट्सको राजधानी आबुदाबीस्थित फोल्बलोर हलमा गत शुक्रबार सम्पन्न एवार्ड ‘नेपाली म्युजिक भिडियो एवार्ड २०१६’ नै संभवत: नेपालको पहिलो म्युजिक भिडियो एवार्ड हुनुपर्छ । उक्त एवार्डमा सहभागी हुन आयोजकसहित ५० जनाको टोली गत बिहिबार नै आबुदाबी पुगेको थियो ।
चार महिनाअघि नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का पूर्वअध्यक्ष मनोज केसीले नोमिनेसनमा परेका म्युजिक भिडियो तथा त्यसका श्रष्टाहरुलाई प्रमाणपत्र वितरण गर्दासम्म उक्त एवार्ड समारोह कहाँ र कहिले हुन्छ ? भन्ने कुरा उनलाई समेत थाहा थिएन, तर पहिले नेफ्टाका तीन संस्करण विदेशीभूमीमा गरेको अनुभव बटुलेका केसीले ‘नेपाली म्युजिक भिडियो एवार्ड २०१६’ को फाइनल विदेशमै गर्न कटिबद्ध थिए ।
पुगेका सबैलाई एवार्ड
संयुक्त अरब इमिरेट्सको नमस्ते ट्राभल्स एण्ड टुर्सले अन्तत: उक्त एवार्डको फाइनल आबुदाबीमा गर्ने भएपछि कलाकारहरुसहितको टोली आबुदाबी पुगेको थियो । रमाइलो कुरा के भयो भने पुगेका प्राय: कलाकार तथा म्युजिक भिडियो श्रष्टाहरुले कुनै न कुनै एवार्ड हात पारेर फर्के । नोमिनेसनमा परेकाहरु सबैलाई उता पुऱ्याउन खर्च पनि बढि लाग्ने भएकाले निर्णायकहरुले यतै निर्णय गरिसकेको अवस्थामा विजेता हुनेहरुलाई मात्र लगिएको बुझ्न सकिन्छ ।
उक्त कुराको केही संगीतकर्मीहरुले फेसबुकमार्फत खुलेरै विरोध पनि जनाए । संगीत, भिडियो र विशेष गरी तीन विधामा वितरित एवार्डमा हात खाली नहोस् र नेपालबाट आबुदाबी पुगेका कलाकारहरु कोही पनि खिन्न नहोस् भन्ने कुरामा चाँही आयोजकको ध्यान बढि केन्द्रित भएको देखियो । आयोजक मनोज केसीका अनुसार एवार्डमा सहभागीताका लागि दर्ता गरिएका म्युजिक भिडियोहरु मात्रै प्रतिस्पर्धामा समावेश गरिएको थियो ।
के-के भयो त ?
नेपालको संगीक्षा फिल्मस् र आबुदाबीको नमस्ते ट्राभल एन्ड टुर्सको संयुक्त आयोजनामा सम्पन्न एवार्ड वितरण कार्यक्रममा हजारभन्दा बढि दर्शक उपस्थित थिए । जसमा नेपालीहरु नै बढि थिए । कार्यक्रमको सबैभन्दा आकर्षकको केन्द्र बनिन्, गायिका कोमल ओली । कार्यक्रममा सम्मानित गायिका ओलीले गीत र आफ्ना रमाइला कुराहरुले सबै दर्शकको मन जितिन् ।
करिब पाँच घण्टा चलेको कार्यक्रममा गायिका ओलीले झण्डै ४५ मिनेट दर्शकहरुलाई हसाइन र नचाइन् । नाच्नेमा आबुधाबीका कार्यवाहक राजदूत नेत्र टण्डन र उनकी पत्नी, नमस्ते ट्राभल्सका अध्यक्ष एकेन्द्रबहादुर थापा, नायिकाहरु बर्षा राउत, पुजा शर्मालगायत थिए ।
त्यसबाहेक दुर्गा खरेल, युवराज चौलागाईं, आमिर शेख, सुजन तिमिल्सिना, रित कुमार श्रेष्ठ आदिले गीत प्रस्तुत गरेका थिए भने पुजा शर्मा, पल शाह, वर्षा राउत, शंकर बिसी,सुमिना श्रेष्ठ आदिले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गीतकार संघ अध्यक्ष योगेन्द्रमणि दहाललाई पनि सम्बन्धित क्षेत्रमा गरिएको योगदानका लागि सम्मान गरियो । खचाखच दर्शकबीच सम्पन्न अवार्डमा नरेश भट्टराईले एमसी अफ दि इयरको अवार्ड दिइयो भने श्याम अर्याललाई चलचित्र पत्रकारितामा पुर्याएको योगदानका लागि पत्रकारिता पुरस्कार प्रदान गरियो ।
त्यसैगरी पपगायनमा योगदान पुऱ्याएबापत म्यासेन्जर ब्याण्डका गायक राजेश हमाल, अभिनय क्षेत्रमा योगदान पुऱ्याएकोमा अभिनेता राजु हमाल, गायन क्षेत्रको नयाँ प्रतिभामा सुजन तिमिल्सिना तथा हाल दुबईमा नै बस्दै आएकी नेपाली चलचित्रकी नायिका सुमिना श्रेष्ठलाई भने प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
विजेताहरु :
पप गायिका : दुर्गा खरेल (काले केटाले)
पप गायक : आमिर शेख (ओइ मैच्याङ)
पुरुष गायन : युवराज चौलागाइँ (हरेक शब्द)
महिला गायन : मिलन अमात्य (दुई थोपा आँसु)
म्युजिक भिडियो : दुई थोपा आँसु (कोर क्रियसन)
म्युजिक भिडियो निर्देशक : सहेन्द्र श्रेष्ठ (दुई थोपा आँसु)
छायाँकार : हरि हुमागाइँ (दुई थोपा आँसु)
सम्पादक : प्रकाश तुलाधर (दुई थोपा आँसु)
गीतकार : किशोर घिमिरे (सम्झना)
संगीत संयोजन : अल्मोडा राना उप्रेती (तिम्रै मायाले)
संगीतकार : सुनिल मास्के (किन लायौ माया)
लोक दोहोरी : रितकुमार श्रेष्ठ/जमुना राना (फुर फुर गर्ने)
पुरुष मोडल : पल शाह (आइ लभ यु)
महिला मोडल : बर्षा राउत (ज्यानमाया तिमीलाई)
कोरियोग्राफर : शंकर बिसी (फुरफुर गर्ने)
म्युजिक भिडियो विदेश : मिलन चाम्स
म्युजिक भिडियो राष्ट्रिय भाव : सुव्रत आचार्य/प्रदिप दाहाल