
देशको निर्णायक तहमा रहेका हाम्रा नेताहरू सपनाको खेल खेल्छन् । सपना देख्ने प्रतिस्पर्धा गर्छन् । त्यसैमा रमाउँछन् । यो नराम्रो कुरा पक्कै होइन । सपना नदेखेसम्म उन्नति हुँदैन । सपना नदेखेसम्म प्रगति रोकिन्छ । यसमा कुनै असहमति छैन । सपना देख्नेले नै युगान्तकारी परिवर्तन गरेका छन् । दुनियाँ हल्लाएका छन् ।
यसमा पनि कुनै द्विविधा छैन । सपनाको वृत्त अत्यन्त फराकिलो हुन्छ, बहु–आयामिक हुन्छ र इन्द्र–धनुषी रंगमा पोतिएको हुन्छ । यसको कुनै निश्चित आकार हुँदैन । सपनाले मानिसलाई उत्साहित पनि गराउन सक्छ । बहकाएर धूल–धुसरित गराउन पनि सक्छ । गान्धी र मण्डेला स्वप्नद्रष्टा थिए । माओ अर्का स्वप्नद्रष्टा थिए । उनीहरूमा परिवर्तन गर्ने आँट थियो ।
गान्धीले अंग्रेजी शासनलाई समाप्त गरिदिए । भारतबाट बेलायती सूर्य अस्तायो । मण्डेलाले गोरा जातिको गुलामीमा फसाइएका काला भनेर हेपिने जातिको स्वाभिमान, स्वतन्त्रता र प्रतिष्ठा फिर्ता लिए । माओले पूरै चीनलाई परिवर्तनको रंगमा रंगाइदिए । यी सबै सपनाका करामत थिए ।
हाम्रा स्वप्नजीवी नेताहरूमा त्यस्तो आँट कतै देखिँदैन । देखिने छाँट पनि छैन । राजनीतिबाट नैतिक निष्ठा बेपत्ता भएको छ । विधिको शासनको गला दबाइएको छ । व्यक्तिको शासन सर्वोपरि छ । कार्ल माक्र्सदेखि सिगमन्ड फ्रायडसम्म, नित्सेदेखि आइन्स्टाइनसम्म, दुनियाँका जति पनि दार्शनिक छन्, ती सबैले सपना देखेका हुन् । माक्र्सले शोषणबाट मुक्तिको सपना देखे । फ्रायडले यौन मनोविज्ञानका आधारमा मानिसको विश्लेषण गरे । नित्सेले ईश्वर मरेको सपना देखे । आइन्सटाइनले दुनियाँको विज्ञानमा बाजी मारे ।
सपना नदेखी दुनियाँको कुनै पनि दर्शनका आधार तयार भएका छैनन् । साँचो अर्थमा सपना जीवनको र जीवन सपनाको परिपूरक हुन्, तर त्यसका लागि सपनालाई धान्न सक्ने सामथ्र्य हुनुपर्छ मानिसमा । होइन भने सपनालाई जब तुलनात्मक यथार्थको कसीमा राखिन्छ, तब सत्यको नांगो आँखाले त्यसलाई झर्याम–झुरुम पारिदिन्छ ।
अघिल्ला प्रधानमन्त्री केपी ओलीले थुपै्र सपना देखे । तीमध्ये एउटा थियो, सन् २०२० मा मात्र नेपाल–चीनको सीमा नाका केरुङसँग जोडिने चिनियाँ रेललाई केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसँग जोड्ने । काठमाडौं–केरुङ सडक चौडा र सुविधाजनक बनाउने । उनका सपना भीमकाय थिए । उनले नेपालका सोझा–सादा जनतासँग यी सपनाहरू सेयर गरे । ती सपनाको आकार नेपाली थिएन । तैपनि नेपालीहरू खुब रमाए ।
यो आकर्षक सपनाको यथार्थ पाटो भने हेरी नसक्नु थियो । कुरूप र अनाकर्षक । सपना पूरा नहुने खालको थिएन । मानिसले चाहेको खण्डमा असम्भव त हुँदै हुँदैन । कुरा यति मात्र हो, नेपाली परिदृश्यमा सपनाको तादात्म्य निकट भविष्यको कुनै एउटा बिन्दुसँग पनि जोडिएको थिएन । एक दर्जन भीमसेन र एक दर्जन हनुमानजस्ता दैविक अवतारको उपस्थितिले पनि ती भीमकाय सपनालाई यथार्थमा परिणत गर्न सक्ने थिएनन् । त्यो सोम शर्माको सातुको कथाजस्तो थियो ।
केपी ओली हुन् वा पुष्पकमल दाहाल प्रचण्ड हुन् अथवा भोलि आउने कुनै अर्को राजनीतिक व्यक्तित्व होस्, कसैले देखेको सपनाले पनि नेपाली जनताको दु:ख–मोचन गर्ने हैसियत राख्दैन । काठमाडौंमा कुत्ती र केरुङका चर्चा चलिरहँदा काठमाडौं–स्याफ्रुबेसी सडकमा सवारी दुर्घटना भैरहेका थिए । पाल्पा–अर्घाखाँचीका कच्ची सडकमा चिप्लिएर भीरमा लडेका सवारी साधनमा सवार सामान्य मानिसहरू आफ्नो ज्यान गुमाइरहेका थिए । यही साता उदयपुरको कटारीबाट घुर्मी जाने सडकमा आवागमन रोकियो । ठाँटी र त्रिचालीस दुई ठाउँमा गएको पहिरो हटाउन नसक्दा असंख्य मानिसको विचल्ली देखियो ।
खोटाङका हलेसी महादेवको महात्म्यको त्यत्रो प्रचार छ, तर दर्शनका लागि हिंडेका यात्रुहरूको बाटो नै अवरुद्ध छ । यी एक–दुई उदाहरण मात्र हुन् । सरकार देशका सबै जिल्ला सदर–मुकाममा मोटर पुगेको घोषणा गर्न आतुर देखिन्छ, तर ती ‘मार्ग’ हुन् कि ‘मृत्यु–मार्ग’ हुन् ? किटान गर्नु बडो कठिन छ । अहिलेसम्म ‘खनिएका’ र ‘निर्माण गरिएका’ सडक–सञ्जाल सूचनाको दैनिक फिहरिस्त तयार गर्ने हो भने कथा होइन, महाभारत नै तयार हुन्छ ।
देशका कुनै पनि सडक, चाहे ती राजमार्ग हुन् वा जनमार्ग, स्तरीयतामा पछारिएका छन् । पुराना सडकहरूको मर्मत–सम्भार असारमा सुरु हुन्छ र साउनमा सकिन्छ । गाउँ बनाउने बजेट हात परेपछि जिल्लाका नेताहरू सहमतिमा जुट्छन् । सहमतिमा बजेटको बाँडफाँड हुन्छ । सहमतिमै नयाँ बाटो खोल्ने योजना बन्छ । पोहोर खनिएका बाटाहरूको मर्मतको के औकात ? सरकारलाई चाहिएको प्रगति विवरण हो, त्यो तयार भए विकासको काम सकिइहाल्छ । बाँकी काम हुँदै गर्छ ।
कुरा सडकको होइन, सपनाको हो । निर्णायक तहका नेताहरूले भीखमंगा सपना देख्ने होइन । उनीहरूले देख्ने सपना भीमकाय नै हुनुपर्छ, तर ती सपनाहरू ‘पब्लिक डिस्प्ले’ मा राख्ने कि नराख्ने ? त्यसमा पक्कै विचार पुर्याउनुपर्छ । नेताका सपना विवरण पढेर, सुनेर जनता पुलकित हुन्छन् । त्यो स्वभाविक हो । अस्वभाविक के हो भने नेताहरू आफूले देखेका सपना केही समयपछि आफैं बिर्सिन्छन् । त्यतिबेला बिर्सिएको सपनाले जगाएको जनताको आशा निराशामा परिणत हुन्छ । जनताको मुटु चुँडिन्छ र मन फाट्छ ।
नेताहरूले ठूला सपना देखून्, त्यसमा कसैको आपत्ति भएन । कसैले आपत्ति गर्ने विषय पनि भएन यो, तर हाम्रा नेताले ठूला सपना देखेको कत्ति पनि सुहाएन । उनीहरूले साइज नमिलेको कोट लगाएको दृश्य सबैको आँखामा स्पष्ट टल्कियो । नेताहरूले टाउकाको टोपीसमेत बेसाइजको लगाएपछि त दसैंमा देखाएको मनोरञ्जक जात्रा नै सावित भयो । शरीरको नापअनुसारको कपडा लगाए त्यो कपडाले प्रतिष्ठा दिन्छ । सपना पनि त्यस्तै हो ।
साइजको देखे सबैले पत्याउँछन् । बेसाइजको देखे सुनेर रमाउँछन् । हुटिट्याउँले सगर थामेको कुरा कसले पत्याउँछ ? बाँसको टुप्पोमा बसेको सारुंग चरोले आफ्नो भारले बाँस नुहेको बतायो भने त्यो संसारको सबैभन्दा महँगो ठट्टा सावित हुन्छ । हाम्रा नेताहरूले ऐतिहासिक काम गरेका होलान । उनीहरूको त्यो कामसँग अहिले देखिएका सपनाको महत्व जोडने सिंढी कतै छैन । देशले ऐतिहासिक योगदान बापतको भुक्तानी निरन्तर गरिरहेकै छ ।