तराईको सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दसैं निकै फरक रह्यो । गत वर्ष बन्द एवं नाकाबन्दीले गर्दा उकुसमुकुसबीच मधेसवासीले विजयादशमी मनाएका थिए ।
थोरै मात्र सार्वजनिक यातायात चलेकाले घरबाट निस्किएपछि गन्तव्यसम्म पुग्ने/नपुग्ने अन्यौल एवं तनावका कारण धेरैले त्यतिबेला खुलेर दशमी मनाउन सकेनन् । मठ, मन्दिर, दुर्गा पण्डाल, मेला तथा सडकहरू सुनसान रहे । फलस्वरूप यो महापर्वको आवागमन र बिदाइको अनुभूति हुनै पाएन ।
यसपालि त्यसको ठीक विपरीत मधेसमा दसैंको सौन्दर्य उत्कर्षमा देखियो । झरी जारी रहे पनि मधेस शान्त भएकाले दसैं मनाउनेहरू प्रफुल्ल देखिए । आदिवासी सन्थाल तथा झाँगडहरूले राष्ट्र प्रेम झल्कने गरी लोक नृत्य प्रस्तुत गरे भने सडकदेखि मेलासम्म भरिभराउ रहे ।
दशमी एवं एकादशीको दिन अबेर रातिसम्म मधेसका ग्रामीण भेकमा लाग्ने मेलाका कारण सार्वजनिक स्थलहरूमा खुट्टा राख्नेसमेत ठाउँ थिएन । द्वादशीको बिहानसम्म मेला एवं बजारहरूमा रमझम रह्यो ।
निधारमा रातो टीका, कान र शिरमा सिउरिएका जमराले दसैंलाई थप मोहक बनाएको थियो । यहाँ बिना कुनै विवाद र बहस सबै जाति एवं समुदायले टीका तथा जमरा थापेको देखियो । फरक यति थियो, कसैले मान्यजनबाट त कसैले मन्दिरका पुजारीको हातबाट टिका एवं जमरा थापे ।