साप्ताहिक संवाददाता
चीनमा १ हजार वर्षअघि ताङ वंशले शासन गर्दा किथिर्को नामक कीराको भिडन्तले लोकप्रियता पाएको थियो । चीनमा कम्युनिस्ट सरकारको स्थापनापछि सञ्चालित सांस्कृतिक क्रान्तिले यो खेलमाथि प्रतिबन्ध लगायो तै पनि कतिपय चिनियाँ गाउँमा अहिले पनि गोप्य रूपमा किथिर्कोको भिडन्त गराएर मनोरन्जन गरिन्छ ।
मकाउका ठूला होटलहरूले किथिर्कोको भिडन्त गराएर पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्ने गरेका छन् । बाजीका रूपमा आयोजना हुने यस्ता भिडन्त विशेषगरी सेप्टेम्बर महिनामा सञ्चालन हुन्छ । यो भिडन्तलाई चाहिने लडाकु किथिर्कोलाई साङडोङ प्रान्तमा हुर्काइन्छ । जानकार पालकले माटोको एउटा घरमा त्यस्ता लडाकु किथिर्को पाल्छन् भने भिडन्तका लागि त्यसलाई बलियो बनाउन खसीको कलेजो, लार्भा, झिङ्गे माछा आदि ख्वाउँछन् । किथिर्कोलाई आक्रामक बनाउन त्यसको जुँगामा छेस्कोले चलाएर उत्तेजित तुल्याइन्छ । किथिर्कोको भिडन्त त्यसको तौलअनुसार वर्गीकरण गरेर गराइन्छ ।