साप्ताहिक संवाददाता
नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) मा नेपाली धाविका मीरा राई मनोयनमा परेकी छिन् । नेसनल ज्योग्राफिकले राईसहित मनोनयनमा परेका अन्य दस जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो ।
यस प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिहरुलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न मिल्ने ब्यबस्था छ । सबैभन्दा बढी भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गर्ने परम्परा छ ।
भोजपुर स्थायि घर भएकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिईन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पछि पार्दै उनले पहिलो स्थान हात पारेकी थिइन् ।
‘गाउमा केटीहरूका लागि कुनै अवसर थिएन ।’ उनले नेसनल ज्योग्राफिकसंग भनेकी छिन्, ‘पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं ।’ बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा डिसेम्बर १६ सम्म भोट हाल्ने सकिने छ । सन् २०१७ को जनवरीमा विजयीको घोषणा हुँनेछ ।