लमजुङमा आयोजित १० दिने पाँचौं लमजुङ महोत्सव पुस ३ गते सम्पन्न भएको छ । लगभग १४ करोड बराबरको आर्थिक कारोबार भएको उक्त महोत्सव डेढ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । उक्त महोत्सव अवधिभर दर्शकहरूको मनोरन्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरू उपस्थित थिए । स्थानीय कला–संस्कृतिसमेत प्रदर्शन गरिएको महोत्सवमा राजु परियार, कृष्ण गुरुङ, शिव परियार, पशुपति शर्मा, रामजी खाँड, राज सिग्देल, शंकर विरही गुरुङ, देवी घर्तीमगर, माया गुरुङ, शंकर बिसी, मञ्जु विक, प्रशान्त तामाङ (लमजुङ), रेशम विश्वकर्मा आदि कलाकारले प्रस्तुति दिए ।
कलाकारहरूको यो उपस्थितिबीच हिरोका रुपमा देखा परे गायक शिव परियार । महोत्सवका क्रममा लगातार १५ वटा गीत गाएका शिवसँग सेल्फी खिचाउने लहर नै चलेको थियो । हरेक दुई–दुई वर्षको अन्तरमा आयोजना गरिँदै आएको यो महोत्सव गत वर्ष नाकाबन्दीका कारण स्थगित गरिएको थियो । महोत्सवमा २ सय स्टल राखिएका थिए । महोत्सवको आकर्षणका रूपमा गुरुङ, मगर, नेवार, तामाङ, ह्योल्मो, कुमाल र चेपाङ जातिका घर तथा सामग्रीहरूका साथै ती जातिका परिकार पनि थिए ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनी आदि आकर्षणमा रहे । यसैगरी महोत्सवका क्रममा बालउद्यान, विज्ञान तथा आइटी प्रदर्शनी, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर, नाटक प्रदर्शनी, कार्यशाला गोष्ठी, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शनी, गृहिणी नृत्य प्रतियोगिता तथा कविता प्रतियोगिता समेत सञ्चालन गरिएका थिए ।