सामान्यतया ‘सिटअप’ सेना वा प्रहरीले गर्छन् भन्ने सोच हुन्छ तर रामपुर नगरपालिका, ५ दर्छाका ६० वर्षीय रामचन्द्र खनाल भने– ‘सिटअप’ गरेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा छन् । खनालले घर्किंदो उमेरमा पनि सिटअप गरेर आफ्नो स्वास्थ्य अवस्थासमेत सुधारेका छन् ।
उनले काठमाडौंमा भएको प्रदर्शनमा प्रहरी पछिल्लो रेकर्ड तोड्दै १० वटा नयाँ कीर्तिमान बनाएका हुन् । ‘यो उमेरमा यति धेरै पटक गर्न सक्ने कमै रहेछन्,’ खनालले भने, ‘त्यसैले प्रक्रिया पुर्याएर विश्व कीर्तिमानका लागि कागजपत्र पठाइएको छ ।’ खनाल १ मिनेटमा ५८ पटक सिटअप गर्छन् । उनले दुई मिनेटमा १ सय १५ तथा ५ मिनेटमा २ सय ७८ पटक सिटअप गरेर देखाएका छन् । उनी १० मिनेटमा ५ सय ३५, १५ मिनेटमा ७ सय ७०, ३० मिनेटमा १ हजार ४ सय ३६ पटक सिटअप गर्न सक्छन् । आफूले १ घण्टामा २ हजार ६ सय २५ पटक सिटअप गरेको उनले बताए ।
अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान रेकर्ड (गिनिज बुक अफ वल्र्ड रेकर्ड) ६० मिनेटमा २ हजार ६ सय १ पटक छ । उक्त रेकर्ड तोड्दै खनालले ६० मिनेटमा २ हजार ६ सय २५ पटक सिटअप गरेका छन् ।