साप्ताहिक संवाददाता
लियोनल मेसी (फुटबल)
यो पुस्ताका सर्वाधिक राम्रा खेलाडी लियोनल मेसीका लागि सन् २०१६ राम्रो रहेन । उनले बार्सिलोनाका लागि लिग त जिते, तर आफ्नो देश अर्जेन्टिनाका लागि केही जित्न नसकेको क्रम यसपल्ट पनि जारी रह्यो । कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा पराजित भयो र निराश मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । पछि ब्यापक दबाबमा त्यो निर्णय फिर्ता लिन बाध्य भए । कर छलेको आरोपमा पनि उनीमाथि स्पेनमा छानबिन जारी रह्यो ।
सेरेना विलियम्स (टेनिस)
सेरेना विलियम्सले सन् २०१६ आफ्नो अपेक्षाअनुसार प्रदर्शन गर्न सकिनन् र यस क्रममा उनले डब्लूटीएको शीर्ष वरियता पनि गुमाइन् । रियो डे जेनेरियो ओलम्पिकमा पनि उनको प्रदर्शन खराब रह्यो । अहिलेसम्म २२ ग्रान्ड स्लाम जितेकी सेरेना थप एक जितेर नयाँ कीर्तिमान राख्न सक्ने सँघारमा छिन्, तर उनको यो प्रयास फितलो हुन थालेको छ । अहिले ३५ वर्ष पुगेकी सेरेना सम्भवत: आफ्नो खेल जीवनको अन्त्यतिर छिन् ।
नोभाक जोकोभिच (टेनिस)
एटीपी विश्व वरियतामा नम्बर १ स्थान गुमाउने खेलाडीमा रहे— नोभाक जोकोभिच । केही समयअघिसम्म लगातार एकपछि अर्को उपाधि जितेका जोकोभिचले सन् २०१६ मा त्यससँग मेल खाने खेल प्रदर्शन गर्न सकेनन् । रियो डे जेनेरियो ओलम्पिकमा पनि उनीबाट ठूलो आश गरिएको थियो, तर उनी सुरुवाती चरणबाटै बाहिरिए । यसलाई उनले आफ्नो खेल जीवनकै सबैभन्दा निराश क्षण मानेका छन् ।
एलिस्टर कुक (क्रिकेट)
आफ्नो खेल जीवनको अन्त्यतिर पुगेका अर्का खेलाडी हुन्— इङ्लिस टेस्ट टिमका कप्तान एलिस्टर कुक । उनको ब्याटबाट पछिल्लो समय त्यति धेरै रन निस्कन छाडेको छ, जति यसअघि हुन्थ्यो । उनको नेतृत्वमा इङ्ल्यान्डले भर्खरै भारतविरुद्ध पाँच टेस्टको सिरिज खेलेको थियो र त्यसमा इंग्ल्यान्ड निकै नराम्रोसँग पराजित भयो । कुक आफैंले पनि आफ्नो करियरका सम्बन्धमा पुनर्विचार गर्ने दिन आएको बताएका छन् ।
वायन रोनी (फुटबल)
इङ्लिस फुटबलका ठूला स्टार हुन्— वायन रोनी । म्यानचेस्टर युनाइटेडका पनि कप्तान रोनीका लागि सन् २०१६ सुखद रहेन । उनी क्लब र राष्ट्रिय टिम दुवैमा सुरुवाती स्थान पाउन संघर्षरत छन् । टिममा उनको खास भूमिका के हो भन्ने दुविधा समेत छ । रोनी कुनै समय फरवार्डका रूपमा खेल्नछन् भने कुनै समय मिडफिल्डर । यसै कारणले पनि उनको खेल जीवन अत्यधिक प्रभावित रहेको मानिन्छ ।
साम एलाडायसी (फुटबल)
प्रशिक्षक साम एलाडायसीका लागि इङ्लिस राष्ट्रिय टिम सम्हाल्नु सबैभन्दा ठूलो सपना थियो । उनले त्यो सपना पनि पूरा गरे । यसका लागि निकै महँगो अनुबन्ध पनि पाए, तर उनी एउटा खेलमा मात्र टिके र लगतै आफ्नो पद छाड्न बाध्य भए । अन्डरकभर पत्रकारले गोप्य रूपमा लिएको अन्तर्वार्तामा खेलाडी स्थानान्तरणका बेला गलत ढंगले पैसा खाएको स्विकारेपछि उनी यो स्थितिमा पुगेका हुन् । बेलायती मिडियाले उनलाई यसक्रममा खलनायकका रूपमा पनि चित्रण गर्यो ।