साप्ताहिक संवाददाता
नेपालमा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा अघिल्लो वर्षको तुलनामा २०७३ सालमा झन्डै १ हजारभन्दा बढी सडक दुर्घटना भए । ती सडक दुर्घटनामा मृत्यु हुनेहरूको संख्या २ हजार ६ सयभन्दा बढी भएको उक्त तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार मृत्यु हुनेहरूमा पुरुषको संख्या १ हजार ४ सय ५५ भन्दा बढी छ भने महिलाको संख्या ३ सय २७ भन्दा बढी छ । त्यसैगरी दुर्घटनामा परी २ सय ५० भन्दा बढी १६ वर्षभन्दा कम उमेरका बालबालिकाले ज्यान गुमाएका छन् ।
वर्ष २०७३ का केही प्रमुख दुर्घटना
१. वैशाख २७ गते म्याग्दीको निस्कोटमा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु ।
२. जेठ ६ गते लमजुङको तारेभिरमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु ।
३. साउन ९ गते मकवानपुरको मनहरी, रमनटारमा २ बस एकअर्कासँग जुध्दा ९ जनाको मृत्यु ।
४. साउन १३ गते धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु ।
५. साउन ३१ गते काभ्रेको गोठपानी गाविसको खहरे खोलामा बस दुर्घटनामा ३३ जनाको मृत्यु ।
६. असोज १ गते कोशी नदीको प्रकाशपुरमा रहेको श्रीलंका टापूबाट राजबासतर्फ आउँदै गरेको डुंगा दुर्घटना हुँदा डुंगामा सवार ६२ मध्ये ९ जना बेपत्ता भए । जसको अहिलेसम्म खोजी भैरहेको छ ।
६. असोज ११ गते धादिङको मार्पाकमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु ।
७. मंसिर २४ गते खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किरहेको तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु । सोही दिन तेह्रथुमको गढीभिरमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु ।
८. फागुन २६ गते जाजरकोटको पासाघाट खोलामा भएको बस दुर्घटना २६ जनाको मृत्यु ।
९. चैत ९ गते मोरङको बयरवनमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु ।
१०. चैत ११ गते प्युठानको स्वर्गद्धारी गैरहेको जिप भिंग्री, रिमालेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु, जसमध्ये ४ जना एकै परिवारका सदस्य ।
११. चैत १९ गते नवलपरासीको चोरमारा जंगलमा यात्रुबाहक बस र मालबाहक ट्रक जुध्दा ५ जनाको मृत्यु।
हवाई दुर्घटना
हवाई यातायातका दृष्टिकोणले नेपाली आकाशलाई असुरक्षित मानिादै आएको छ । हरेक वर्ष जसो ठूला प्रकृतिका हवाई दुर्घटना हुने गरे पनि वर्ष २०७३ मा भने नेपालको आकाशमा एउटा हेलिकप्टर र एउटा सिंगल इन्जिन विमान मात्र दुर्घटनाग्रस्त भए । साउन २० गते मकालु एयरको सेस्ना–२०८ ग्रान्ड क्याराभान हवाईजहाजको इन्जिनले काम गर्न छाडेपछि फोर्स ल्यान्डिङ गराउन खोज्दा कर्णाली नदीमा बजारिएको थियो । उक्त दुर्घटनापछि त्यसका चालक सांगे लामा तथा सहचालक प्रशान्त शाह दुर्घटनाग्रस्त विमानबाट हाम्फालेर बाँचेका थिए । त्यसैगरी साउन २४ गते सुत्केरीको उद्धार गरेर गोरखाबाट फर्किरहेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनी जंगलमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको थियो ।
आगलागी, चट्याङ र पहिरो
हिउँद याम सकिएलगत्तै नेपालमा सानाठूला आगलागी हुने घटनालाई प्राकृतिक प्रकोपभन्दा पनि मानवीय गल्तीका रूपमा हेर्ने गरिएको छ । हरेक वर्ष जसो नेपालमा दर्जनौं आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीको दृष्टिकोणले वर्ष २०७३ मा भोजपुरमा मंसिर ५ गते भएको आगलागीलाई सबैभन्दा ठूलो मानिएको छ । उक्त आगलागीमा परेर ५ वटा घर तथा १५ पसल खरानी भएका थिए भने करोडौंको सम्पत्ति नष्ट भएको थियो । यसैगरी चैत २० गते डोटीको पिपला बजारमा रहेको पेट्रोल पम्पमा पेट्रोल खन्याउँदा भएको आगलागीमा मानिसको मृत्यु नभए पनि लाखौंको क्षति भएको अनुमान गरिएको छ ।
सामान्यत: नेपालमा चट्याङमा परेर कमै मानिसको मृत्यु हुन्छ, तर यो वर्षको अन्त्यमा मौसममा आएको अस्वाभाविक परिवर्तनका क्रममा परेको चट्याङमा परी कास्कीको घान्द्रुक र सिन्धुपाल्चोकको जुगलमा १–१ जनाको मृत्यु भयो ।
यसैगरी नेपाली भूगोलमा बाढी र पहिरोलाई पनि सामान्य मानिंदै आएको छ । बाढी र पहिरोका दृष्टिकोणले पनि वर्ष २०७३ लाई कम क्षति भएको वर्षका रूपमा लिइएको छ । यो वर्ष ठूलो पहिरोका रूपमा असार २१ गते प्युठानमा गएको पहिरोलाई मानिएको छ जसमा एकै परिवारका ४ जना सहित ८ जनाको मृत्यु भएको थियो । मंसिर १३ गते अमादब्लम हिमाल क्षेत्रमा पराकम्पनपछि गएको हिमपहिरोमा परी थिन्बु शेर्पाको मृत्यु भएको थियो भने मनास्लु पदयात्रा मार्गको तातोपानी भन्ने ठाउँमा असोज ६ गते गएको पहिरोमा परी १ विदेशी (स्पेनिस) सहित ३ नेपालीको मृत्यु भएको थियो । यसैगरी चैत २१ गते बिस्तार भैरहेको नारायणगढ–मुग्लिङ सडकमा पहिरो जाँदा केही सवारी साधन पुरिनुको साथै २ जनाको मृत्यु भयो ।