धेरैलाई भूकम्पपछि नेपाली कला बजार खुम्चिन्छ भन्ने लागेको थियो तर, त्यसको एक वर्षमै नेपाली कलाको बजार विस्तार हुनपुग्यो । नेपालमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमै नेपाली कलाकारका कलाकृति रोजाइमा पर्न थालेका छन् ।
विशाल चीन र भारत विश्वकला बजारको केन्द्रका रूपमा चिनिएका छन् । चिनियाँ कलापारखीले नेपाली फ्लेवरका कलाकृति मन पराउने थाङ्का हाउसका सञ्चालक वीरेन्द्र शाहीको अनुभव छ । शाहीका अनुसार ‘नेवारी आर्टमा चिनियाँहरूको रुचि व्यापक छ । उनीहरूले ओरिजिनल (मौलिक) कलाकृतिमा रुचि राख्ने भएकाले चीन नेवारी आर्टको ठूलो बजार बन्दै गएको छ ।’ उनले यसै वर्ष चीनमा १८ जना नेपाली कलाकारका कलाकृति प्रदर्शन गरेका थिए ।
नेपाल बुद्ध जन्मभूमि भएकाले यहाँ बनाइने थाङ्काको ठूलो बजार चीन हो । चिनियाँहरूको रुचि पनि थाङ्कामै रहेको सारा इन्टरप्राइजेजका सञ्चालक कलाकार होमबहादुर तामाङ बताउँछन् । तामाङ भन्छन्– ‘व्यवस्थित गर्न सकिए चीन नेपाली परम्परागत थाङ्का कलाको हब बन्न सक्छ ।’ नाम चलेका थाङ्का कलाकारले औसतमा एउटा चित्र तीन लाखभन्दा बढी मूल्यमा बेच्ने अर्का कलाकार पाल्साङ्मो लामाले बताए । नेपालमै पनि पौभा/थाङ्का बढी मूल्यमै बेच्ने गरिएको लामाको दाबी छ । नेपालमा २५ हजारभन्दा बढी मानिस परम्परागत कलामा लागेको वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङले जानकारी दिए ।
नेपाली कलाको वार्षिक अन्तर्राष्ट्रिय बजार २० अर्बभन्दा माथि रहेको अनुमान दोङको छ । यो वर्ष पनि नेपाली कलाको बजार फैलँदै गएको छ । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको माग बढिरहेको छ । यो वर्ष नेपालमा कलासम्बन्धी गतिविधि तुलनात्मक रूपमा बढी नै भए । एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी नेपालमा सम्पन्न भए । प्रदर्शनी, कार्यशाला, बहस, गोष्ठी, अन्तर्राष्ट्रिय चहलपहल आदि नियमित गतिविधिले कला क्षेत्रमा जागरण आएको छ भने यसका कारण बजारसमेत तातेको छ । यसको प्रभावसँगै नेपाली कला बजार नजादिँदो गरी फैलिएको छ ।
हामीकहाँ कति बैंक ब्यालेन्स, कति घडेरी, कति घर ? यस्तै विषयलाई सम्पन्नताको मानक मानिएको छ । पश्चिमा मुलुकमा कुनै पनि मानिस संस्कृतिप्रति कति रुचि राख्छ त्यसकै आधारमा सभ्यताको मापन गरिन्छ । पश्चिमी प्रभाव कै कारण विस्तारै नेपालीहरू पनि कला संकलन तथा संग्रहतर्फ आकर्षित भैरहेका छन् । युरोप, अमेरिका तथा एसियाका सम्पन्न मुलुकमा कलाको मूल्य पनि हामीले परिकल्पना गरेभन्दा बढी हुन्छ । नेपालमा बिस्तारै त्यसको प्रभाव परिरहेको छ । नेपालीहरूको विदेश आऊ–जाउँ तथा उनीहरूको सम्पर्कले कलाप्रतिको धारणामा परिवर्तन आइरहेको पाइन्छ । खासगरी विदेशी मित्रलाई कलाकृति उपहार दिँदा उनीहरू मख्ख पर्ने बुझाईका कारण नेपालीले कलाकृति खरिद गर्न थालेको अनुभव सुनाउँछन् कलाकार डिराम पाल्पाली ।
नेपालीहरूको आर्थिक जीवनमा आइरहेको परिवर्तनले कलाप्रतिको रुचिसमेत वृद्धि गरिरहेको छ । त्यस्तै वास्तु विज्ञानलाई आधार मानेर कतिपय मानिसले कलाकृति संकलन गर्न थालेको पाइन्छ । बिस्तारै घरको भित्ता नाङ्गै राख्नुहुन्न भन्ने मान्यता पनि विकास भैरहेको छ । इन्टेरियर डिजाइनमा कलालाई महत्वका साथ हेर्न थालिएकाले पनि कलाकृतिप्रतिको आममानिसको धारणामा परिवर्तन आइरहेको छ । यो वर्ष नेपाली कला क्षेत्रमा निकै आशालाग्दा काम भएका छन् । नेपाल कलापरिषद् बबरमहलमा दिनहुँजसो कला प्रदर्शनी भैरहेका छन् । संस्था तथा व्यक्तिगत रूपमा गरिएको प्रदर्शनीबाट कलाकारले राम्रै आम्दानी गर्ने परिषद्का उप–महासचिव शान्तकुमार राई बताउँछन् ।
१० लाखमा चीनमा आफ्ना कलाकृति बिक्री गर्ने कविराज लामाले यो वर्ष चीन र जर्मनीमा कला प्रदर्शनी सम्पन्न गरे । नेपाली कला बजारमा राम्रै मूल्यमा कला बेच्ने कलाकार दम्पत्ति उमाशंकर साह तथा डा. सीमा शर्मा साहको दिल्लीस्थित गणेशा ग्यालरीमा कला प्रदर्शनी भयो । उनीहरूका कलाको मूल्य ८ लाखमाथि थियो । ‘दिल्ली आर्ट फेयर’मा नेपाली कलाकारको उपस्थिति एवं प्रदर्शनीले आशालाग्दो वातावरण सिर्जना गर्यो । उक्त फेयरमा कलाकार सुनील सिग्देलको चित्रले अन्तर्राष्ट्रिय रूपमै चर्चा पायो । महँगो मूल्य तिरेर ‘स्टल’ लिनुपर्ने उक्त फेयरमा विश्वका राम्रा कला संकलकहरूको जमघट हुन्छ । फेयर घुमेर आएका तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्रले सहभागी नेपाली कलाकारका कला राम्रै मूल्यमा बिक्री भएको बताए । फेयरमा नेपालबाट ६ जना कलाकार नेपाल आर्ट काउन्सिलमार्फत सहभागी भएका थिए भने दिल्लीस्थित गणेशा ग्यालरीमार्फत साह दम्पती सहभागी भएका थिए ।
सिद्धार्थ आर्ट ग्यालरीमा भएका कला प्रदर्शनीमा राखिएका कलाको बिक्री राम्रै हुने कलाकारहरूको भनाइ छ । कला बजारमा चिनिन यो ग्यालरीमा कला प्रदर्शनी गर्ने चाहना धेरै कलाकारमा पाइन्छ । सिद्धार्थआर्ट ग्यालरीमा अग्रज कलाकार श्यामलाल श्रेष्ठको कला प्रदर्शनी भयो भने यही ग्यालरीको सहयोगमा डेनमार्कमा आधादर्जन नेपाली कलाकारको कला प्रदर्शनी भयो । उक्त प्रदर्शनीले नेपाली कला र संस्कृतिलाई युरोपियन बजारमा सम्म पुर्याउने मदत गरेको सहभागी कलाकार गोपाल कलाप्रेमीले बताए ।
काठमाडौं उपत्यकामा हुने प्राय: कला प्रदर्शनीमा ८–१० वटा चित्र बिक्री हुने कलालेखक नगेन्द्रप्रसाद पौड्यालले दाबी गरे । पौड्याल भन्छन्, नेपाली कलाकारका कलाकृति औसतमा बीस हजारदेखि डेढ, दुई लाखसम्ममा बिक्री हुन्छन् ।’ तारागाउँ म्युजियममा गरिएको स्वर्गीय पुरन खडकाको प्रदर्शनी पनि उल्लेखनीय रह्यो । वातावरणसम्बन्धी कला प्रदर्शनीमा राखिएका केही कलाकृति राम्रै मूल्यमा बिक्री भएको म्युजियमका निर्देशक मिश्रले जनाए ।
नेपाली कलामा राम्रो बजार पाउने कलाकार समुन्द्रमान सिंह श्रेष्ठ पनि हुन् । सिंहको एउटा चित्रको मूल्य १५ लाख राखिएको थियो । यो वर्ष बोधिसत्व ग्यालरीको संकलनमा रहेका उनका चार दर्जनभन्दा बढी कलाकृति नेपाल कला परिषद्मा प्रदर्शित भए । बिक्रीका लागि नराखिए पनि ती कलाकृतिका प्रतिकृति राम्रै मूल्यमा बिक्री भए ।
नेपालमा मात्र होइन विदेशी माझ कलाकार पृथ्वी श्रेष्ठका कलाकृति पनि लोकप्रिय छन् । उनले औसतमा १ लाखभन्दा माथि मै चित्र बेच्छन् । यो वर्ष उनका केही चित्र अमेरिका आदि देशमा बिक्री भए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायका कलाको मूल्य पनि नेपाली तथा विदेशी बजारमा राम्रै पाइन्छ । यही वर्ष उनले चीनको एक ग्यालरीसँग राम्रै मूल्यमा कला बिक्री तथा प्रदर्शनीका लागि सम्झौता गरेकी छिन् ।
नेपाली कलाकारको बजार बढ्दै गएको बताउँदै कलाकार जया शर्मा भन्छिन्, ‘नेपाली कलाकारका राम्रा कलाकृति कला संकलकले संकलन गर्न थालेका छन् । यो राम्रो पक्ष हो । यससँगै नेपाली कलाकारमा राम्रा कलाकृति रचना गर्ने चुनौती पनि थपिएको छ ।’ मध्य फागुनमा नेपाल आर्ट काउन्सिलमा भएको सामूहिक कला प्रदर्शनीमा राखिएका चारवटै चित्र बिक्री भएको शर्माले बताइन् ।
राम्रै मूल्यमा कलाकृति बिक्री गर्ने कलाकारमा हितमान गुरुङ, शंकरसन श्रेष्ठ, मुकेश श्रेष्ठ, गोपाल कलाप्रेमी, राजन पन्त, जस्मिन राजभण्डारी, सौरगंगा दर्शनधारी, अनिता खनाल भट्टराई, एनबी गुरुङ, डिराम पाल्पाली, महेश आचार्य, मनिष हरिजन, कविराज लामा, सुषमा राजभण्डारी आदि छन् । त्यस्तै मिथिला कलाकार एससी सुमनको चित्र यो वर्ष डेढ लाखमा बिक्री भएको छ । आफ्ना चित्र औसतमा ५० हजारभन्दा बढीमा बिक्री गर्ने सुमनले बताए । अजित साहका मिथिला कला पनि राम्रै मूल्यमा बिक्री हुन्छन् । यो वर्ष उनले अमेरिका तथा श्रींलकामा एकल प्रदर्शनी समेत गरे । अग्रज पौभा कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्ण ह्येजू, दीपक जोशीका कलाकृति पनि बन्ना साथ बिक्री भैहाल्छन् । त्यस्तै सुन्दर सिंख्वाल, उजय बज्राचार्य, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ आदिका पौभाचित्रले नेपाली बजारमा राम्रो मूल्य पाइरहेको थाङ्का हाउसका सञ्चालक वीरेन्द्र शाहीले बताए । सञ्जय वान्तवाको हङकङ तथा काठमाडौंमा भएको कला प्रदर्शनीमा पनि राम्रै बिक्री
भएको बताए ।
यही महिनाको दोस्रो सातातिर प्रारम्भ भएको १५ दिने कला प्रदर्शनी तथा कार्यशाला हार्वड विश्वविद्यालयमा सञ्चालनमा आयो जसमा रवीन्द्र श्रेष्ठ दक्षिण एसियाबाट छनौटमा परे । त्यस्तै ‘काठमाडौं ट्रिएनाले’मा १७ जना नेपाली कलाकार सहभागी छन् । उनीहरूलाई आयोजकले ‘अनेररी मनी’ स्वरूप डेढ लाख दिएको सहभागी एक कलाकारले बताए ।नेपाली कलाको प्रवद्र्धनमा पार्क ग्यालरी, नेवा:छे आर्ट ग्यालरी, अरुपण आर्ट ग्यालरी, सिंह आर्ट ग्यालरी, मिथिला यों आर्ट आदि सर्वाधिक सक्रिय छन् ।