प्रदूषणमुक्त नगर मात्र होइन, फोहोर व्यवस्थापनमा पुरस्कृत नगर पनि हो— वालिङ । प्रकृतिको खानी तथा धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत चर्चित नगर भएकाले वालिङमा प्रमुख दलहरूको ध्यान केन्द्रित छ । ०५४ सालमा स्थापना भएको यो नगरपालिकामा ३३ वटा मतदान केन्द्र छन् ।
यो नगरका बासिन्दा निजामती प्रशासन, सुरक्षा निकाय एवं राजनीतिक दलहरूमा समेत उच्च तहमा छन् । यो नगरमा इलाका प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय आदि सरकारी कार्यालयहरू छन् । यस पटकको स्थानीय निर्वाचनका क्रममा वालिङमा नेपाली कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट मेयरमा दिलीपप्रताप खाँड, एमालेबाट पुण्यप्रसाद अर्याल तथा माओवादी केन्द्रबाट हुमबहादुर गुरुङ चुनावी मैदानमा छन् ।
‘सुन्दर वालिङ नगर हाम्रो सहर, अबको ५ वर्षमा सुविधायुक्त स्मार्ट सहर’ भन्ने नाराका साथ उम्मेदवारहरू चुनावी गतिविधिमा सक्रिय छन् । ज्येष्ठ नागरिकलाई आश्रम, बालगृह, खेलकुद मैदान तथा तालिम केन्द्रहरूको समुचित व्यवस्था, वडा–वडामा पुस्तकालय, वाचनालय एवं स्थानीय कला संस्कृति झल्कने संग्रहालयलाई दलहरूले प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
जिल्लाकै मुख्य व्यापारी केन्द्रका रूपमा सुपरिचित यो नगर सिद्धार्थ राजमार्गमा अवस्थित छ । पर्वत, गुल्मी, पाल्पा आदि जिल्लाका केही भेगमा यहाँबाटै सामान ढुवानी गरिन्छ । धार्मिक/पर्यटकीय क्षेत्र, क्यानोइङ, छाङछाङदी, सिर्सेकोट, स्वरेक जस्ता पर्यटकीय क्षेत्र, प्याराग्लाइडिङ, होमस्टे आदिका कारण प्रचुर पर्यटकीय सम्भावना बोकेको सहर हो– वालिङ । ठूला विकास आयोजनाअन्तर्गत यहाँ थुप्रै मोटरेबल पुलका साथै अनेकौं झोलुङ्गे पुलहरू निर्माण भएका छन् । वालिङ जिल्ला सदरमुकामबाट २८ किलोमिटर पश्चिममा छ ।
जनसंख्या : ५१ हजार १ सय ४३
क्षेत्रफल : १ सय २८ दशमलव ४० वर्गकिलोमिटर
मतदाता संख्या : ३१ हजार २ सय ९४
वडा संख्या : १४