देशकै सबैभन्दा पुरानो त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा पर्ने धुनीबेसी नगरपालिका काठमाडौंसँग जोडिएको छ । साविकका छत्रे देउराली, जीवनपुर एवं नौबीसे गाविसलाई जोडेर गठन गरिएको धुनीबेसीले एकताका तरकारी, फलफूल तथा दूध उत्पादनमा ख्याति कमाएको थियो । धुनीबेसी नगरपालिका जिल्लाकै सबैभन्दा बढी उद्योग, कलकारखाना एवं होटल व्यवसाय भएको नगरपालिका हो ।
तरकारी, दूध र फलफूल उत्पादन गरी राजधानीमा नियमित निर्यात गर्ने धुनीबेसी हाल उद्योग हब बन्दैछ । धुनीबेसी २ दर्जनभन्दा बढी इँटा उद्योग, २ सिमेन्ट उद्योग, प्लास्टिक तथा औषधी उद्योग, ग्याँस उद्योग, व्यवसायिक कुखुरापालन, माछा एवं बंगुरपालन, राजमार्ग छेउछाउका सयौं साना–ठूला होटलका कारण प्रशस्तै आन्तरिक आयश्रोत भएको नगरपालिका हो ।
वार्षिक आन्तरिक आयस्रोतबाटै करोडौं रुपैयाँ संकलन हुने यो नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एमालेका उम्ेमदवारबीच कडा प्रतिपस्र्धा हुने देखिन्छ । एमालेले विभिन्न जिल्लामा कुखुरापालन र दाना उत्पादन उद्योग सञ्चालन गर्ने ४८ वर्षीय व्यवसायी बालकृष्ण आचार्यलाई मेयर तथा निरु खरेललाई उपमेयरमा अघि सारेको छ । नेपाली कांग्रेसले ५८ वर्षीय समाजसेवी माधवराज पाण्डेलाई मेयर तथा अप्सरा कोइरालालाई उपमेयरको उम्मेदवार बनाएको छ । यसैगरी माओवादी केन्द्रबाट मेयरमा दीपक लामिछाने तथा उपमेयरमा सावित्री आचार्यको उम्मेदवारी परेको छ ।
सदरमुकाम नीलकण्ठमा पद बाँडफाँड गरी चुनावी तालमेल गरेका सत्तासाझेदार दलले धुनीबेसीमा भने सहकार्य गर्न सकेनन् । सबै पार्टीका उम्मेदवारले धुनीबेसीको सडक सन्जालको स्तरोन्नति गर्ने राजमार्गलाई चौडा बनाउने तथा उद्योगहरूको व्यवस्थापन गर्ने कुरालाई आफ्नो मुख्य चुनावी नारा बनाएका छन् ।
जनसंख्या : ३१ हजार २९
क्षेत्रफल : ९६ दशमलव ३० वर्गकिलोमिटर
मतदाता संख्या : २२ हजार ८ सय ७
वडा संख्या : ९